
काठमाडौँ – राजसंस्था पुनःस्थापनका लागि भन्दै चैत १५ गते घटना हुँदा सत्तारुढ एमालेको पार्टी कार्यालय च्यासलमा पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन भएको र अन्यत्र उपस्थितिसमेत नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्।
बिहीबार बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरुले सरकार र आयोजकको कमाजोरीका कारण दुर्घटना हुन पुगेको दाबी गरेका छन्।
सांसदहरुले एकजना पत्रकारसहित दुई जनाको ज्यान जाने, सयौँ राउण्ड गोली चल्ने र सात सयभन्दा बढी अश्रु ग्यास हान्नुपर्ने गरी भएको घटनाका दोषीलाई निष्पक्ष छानबिन गरेर कानुनी दायरामा ल्याउन माग गरेका हुन्।
एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सुरक्षाका विषयमा सरकारले पक्षपात गर्दा आफ्नो पार्टी कार्यालय र अध्यक्ष माधवकुमार नेपालको घरमा तोडफोड तथा आगजनी भएको दाबी गरे।
उनले सत्तारुढ एमालेको पार्टी कार्यालयमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिए पनि आलोकनगरस्थित समाजवादीको कार्यालयको सुरक्षामा दश जना पनि सुरक्षाकर्मी नपठाएको गुनासो गरे। उनले घटना सुरु हुनेवित्तिकै प्रहरी महानिरीक्षकसहित जिम्मेवार व्यक्तिहरुलाई भने पनि सुरक्षाकर्मी नपठाउँदा आगजानी र तोडफोड भएको आरोप लगाए।
कुँवरले आफ्नो पार्टी कार्यालय र अध्यक्ष नेपालको घरमा तोडफोड र आगजनी हुनुका पछाडि सुनियोजित योजना रहेको जिकिर गरे।
‘अरु दलको पार्टी कार्यालयमा थुप्रै सुरक्षाकर्मी परिचालन गरियो। हाम्रोमा दश जना मात्रै पठाएको भए पनि तोडफोड र आगजानी रोक्न सकिन्थ्यो,’ कुँवरले समितिमा अगाडि भने, ‘यो घटनालाई सामान्य रुपमा मात्रै लिन सकिँदैन। सुनियोजित रुपमा हाम्रो पार्टी अफिस र अध्यक्षको घरमा आक्रमण भयो। यस विषयमा सरकारलाई जवाफदेही बनाउनै पर्छ।’
राप्रपाका सांसद धुव्रबहादुर प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको उक्साहटपूर्ण अभिव्यक्तिका कारण घटनालाई बल पुगेको दाबी गरे। प्रधानमन्त्री ओलीले अघिल्लो दिन पार्टी निकट युवा संघको कार्यक्रममा सरकार र पार्टीको विरोध गर्नेविरुद्ध बाघ झैं झम्टिन निर्देशन दिएका थिए।
त्यस्तै, ओलीले राजावादीको आन्दोलनमा १२/१५ हजार मानिस आउने भन्दै खिसिटिउरी गरेका थिए। ओलीका ती अभिव्यक्तिप्रति लक्षित गर्दै प्रधानले कार्यकारी प्रमुखको उक्साहटका कारण घटना भएकाले उनले जिम्मेवारी लिनुपर्ने बताए।
‘प्रधानमन्त्रीले नै घटनाका लागि उक्साहट गर्नुभएको छ। उहाँले नै घटनाको जिम्मेवारी लिनुपर्छ,’ प्रधानले भने। त्यस्तै, उनले घटनाका सवालमा धेरै प्रश्न अनुत्तरित रहेकाले आफ्नो पार्टीले निष्पक्ष छानबिनका लागि माग गरेको उल्लेख गरे।
उनले भने, ‘एकै दिन दुईवटा कार्यक्रम गर्न किन अनुमति दिइयो? स्वीकृति पाएरै आन्दोलन भएको छ। यस घटनाका विषयमा निष्पक्ष छानबिनका लागि हाम्रो पार्टीले आवाज उठाएको छ। सर्वोच्चका पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन हुनुपर्छ।’
प्रधानले प्रर्दशन बिथाल्ने प्रहरीले राष्ट्रियगान बजिरहेका बेला मञ्चमै अश्रु ग्यास हान्दा प्रर्दशन तोडफोडमा परिणत हुन नपुगको बताए।
उनले पनि एमालेको पार्टी कार्यालयमा बलियो सुरक्षा उपस्थिति हुने र अन्यत्र भने बोलाउँदा पनि नजानुको कारण रहस्यमय भएको उल्लेख गरे।
माओवादीका सांसद पूर्णबहादुर घर्तीले राष्ट्रियगान बजिरहेका बेला मञ्चमा अश्रु ग्यास हान्नु गलत भएको बताए। घर्तीले राप्रपालाई कस्ता आन्दोलनलाई समर्थन गर्ने कस्तालाई नगर्ने भन्ने विषयमा स्पष्ट हुन आग्रह गरे। माओवादी आन्दोलनका क्रममा घुसपैठ हुने गरेको अनुभव आफूहरुसँग भएकाले तीनकुने घटनामा पनि त्यस्तै भएको हुन सक्ने बताए। उनले पनि घटनाको निष्पक्ष छानबिन गर्न माग गरे।
विपक्षी सांसदले मात्रै होइन सत्ता पक्षकै सांसदले पनि तीनकुने घटनामा सरकारको समेत कमजोरी रहेको भन्दे खुलेर आलोचना गरे। कांग्रेसका सांसद सुनिल शर्माले सरकारले तीनकुनेमा सत्ताको उन्माद देखाएको जिकिर गरे। उनले भने, ‘सरकार पहिला मञ्चमा ग्यास हानेको हो भने यसको सबै जिम्मेवारी आफैले लिनुपर्छ। लोकतन्त्रमा नागरिकलाई बोल्न नदिने होइन। सरकारले शक्तिको दम्भ देखायो।’
सांसद शर्माले राजतन्त्र पुनःस्थापनाका लागि सडकमा उठेको आवाज सम्बोधन गर्न सरकारले छिटो वार्ता गर्नुपर्ने, अन्यथा आन्दोलन झन् बढेर जाने चेतावनी दिए।
‘उठेका आवाज सम्बोधन गर्न सरकारले छिटो वार्ता गरोस्। सरकारले राजा वा राप्रपा कोसँग वार्ता गर्ने हो गर्नुपर्छ,’ उनले अगाडि भने, ‘वार्ता समयमै हुनुपर्छ। माओवादीले उठाएका आवाज समयमा नसुनिदा देश द्वन्द्वमा फस्यो। पक्राउ परेका धवल शमशेर राणा, रवीन्द्र मिश्रलाई सरकारकाले विनाशर्त रिहा गर्नुपर्छ। उनीहरूलाई लगाएको हतकडीले सरकारको दम्भ देखायो।’
सांसद शर्माले पनि घटनाको छानबिनका लागि निष्पक्ष खालको समिति बनाउन सुझाव दिए। उनले कांग्रेस र एमाले मिलेर बनेको सत्ताले जे गरे पनि हुन्छ भन्ने मान्यता राखेर अघि नबढ्न चेतावनी दिए।
एमालेका सांसद सुहाङ नेम्वाङले समस्यालाई छिटो समाधान गर्नुपर्ने बताए। उनले सरकारले चाहिनेभन्दा बढी शक्ति प्रयोग गरेका विषयमा जवाफ दिनुपर्ने धारणा राखे।
नेम्वाङले भने, ‘सरकारले एक सयभन्दा बढी गोली किन चलायो? मिति सकिएको अश्रु ग्यास प्रयोग भएको छ। हिंसात्मक गतिविधि भयो भन्दैमा गोली चलाउन आवश्यक हुँदैन। त्यस्तै, लुटपाट आगजनीजस्ता अनैतिक कामलाई पनि जायज मान्न सकिँदैन।’ उनले घटनाबारे छानबिन गर्न समिति बनाउन माग गरे।
धारणा राख्ने सबैजसो सांसदले घटनाबारे गृहमन्त्रीसँग जवाफ माग्नुपर्ने बताए। सांसदहरुले घटनाको विषयलाई सरकारको जवाफदेहिता खोजेपछि समितिमा उपस्थित भएका कानुन न्याय तथा संसदीय मामिलामन्त्री अयज शंकर चौरसियाले मन्त्रिपरिषदले निर्णय नै गरेर छानबिनका लागि गृह मन्त्रालयलाई निर्देशन दिएकोले अर्को छानबिन समिति आवश्यक नभएको जिकिर गरे।
गृहमन्त्रीलाई बोलाएर सोध्नुपर्ने पक्षमा अधिकांश सांसद देखिएपछि समितिले घटनाबारे सोधपुछ गर्न गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय गरेको समिति सभापति विमला सुवेदीले जानकारी दिइन्। समितिले एक हप्ताभित्र लेखकसँग जवाफ लिने भएको छ।
प्रतिनिधिसभाकै अर्को समितिका राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार घटनाबारे बुझ्न गृहमन्त्री लेखकलाई बोलाएको छ।