गामबेसीका कवि क्षेत्रप्रताप अधिकारीको स्मरणमा स्थापना भएका विभिन्न पुरस्कार हस्तान्तरण गरिएको छ।
सोमबार ललितपुरको नेपाल कलेज अफ म्यानेजमेन्टको प्रांगणमा भएको कार्यक्रममा ‘गामबेसीका कवि क्षेत्रप्रताप अधिकारी साहित्य पुरस्कार २०८१’ र ‘गामबेसीका कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन २०८१’ हस्तान्तरण गरिएको हो।
‘गामबेसीका कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्सहान २०८१’ राष्ट्रिय महिला फुटबल खेलाडी ‘अनसिन हिरो’का रूपमा परिचित रेनुका नगरकोटीलाई हस्तान्तरण गरिएको छ।
१८ वर्षदेखि फुटबल खेल्दै आएकी रेनुकाले व्यक्तिगत रूपमा पहिलोपटक खेलाडीका रूपमा पुरस्कृत गरे बताइन्। उनले भनिन्, ‘खेलकै कारण एक्लै पुरस्कृत भएको पहिलोपटक हो।’
त्यसैगरी ‘क्षेत्रप्रताप अधिकारी साहित्य पुरस्कार २०८१’बाट कवि सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ले जितेको छ। ३५ वर्ष भन्दामुनीका कविका २०८० फागुन १ देखि २०८१ फागुन १ सम्म प्रकाशित कविता संग्रहबाट उत्कृष्ठ चार कविता संग्रह मध्ये ‘हावामा अल्झिएको स्वर’ अति उत्कृष्ठ ठहर्याएको एक निर्णायक अमनप्रताप अधिकारीले बताए। उनले भने, ‘गामबेसी कवि क्षेत्रप्रताप अधिकारीको नाममा पुरस्कार स्थापना तथा हस्तान्तरणले नयाँ पुस्ताका लेखक,कवि तथा खेल जगतमा लागेर राष्ट्रलाई चिनाउँदै आएका खेलाडीलाई हौसाउने छ।’
विजेता कविले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।
कार्यक्रममा कवि विप्लप प्रतीकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने उनले केही कविता पनि बाचन गरेका थिए। डान्स र कभर सङ प्रतियोगितासमेत रहेकाे कार्यक्रममा करिब एक दर्जन कविले कविता बाचन गरेका थिए।
गुरुकुल एजुकेशन फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा कवि क्षेत्रप्रताप अधिकारीको फोटोलाई स्थान दिइएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































