
काठमाडौँ– चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजसंस्थापक्षधरले गरेको प्रदर्शन हिंसात्मक भएपछि सोमबारसम्म ७३ जना पक्राउ परेका छन्। राज्यविरुद्धको कसुर र अपराधिक उप्रदवलगायत कसुरमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्न अझै बाँकी छन्। कति छन् पक्राउ पर्न बाँकी? सुरक्षा निकाय आधिकारीक रुपमा भन्न सक्दैन। दैनिक पक्राउ गर्नेक्रम भने चलिरहेको छ।
सोमबार मात्र ६ जनलाई प्रहरीले पक्राउ गर्यो र सार्वजनिक पनि गर्यो। सोमबार अभिनेतृ अनिता कुँवर (ऐनी)सँगै कुमार तामाङ, बोगटी क्षेत्री, हेमराज क्षेत्री, सुमन कार्की र अमित शाहलाई प्रहरीले पक्राउ गरेको थियो।
उनीहरू आन्दोलनमा सहभागी भएर राज्यविरुद्धको कसुर र अपराधिक उप्रदव गरे वा गरेनन् त्यो अब अदालतको निर्णमा पुगेको छ। प्रहरीकै आँकडाअनुसार चैत्र १५ गते राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको प्रदर्शनमा तीन/चार हजार मान्छे सहभागी थिए।
उनीहरूले तीनकुने क्षेत्रका १४ घरमा आगो लागाए। नौ घरमा तोडफोड र एक ठाउँ भाटभटेनीमा लुटपाट गरे। १५ वटा गाडीमा तोडफोड गर्दै उनीहरूले आगजनी गरेका थिए।
आन्दोलन हिंसात्मक बन्दा प्रहरीको गोली लागेर सविन महर्जनको मृत्यु भएको थियो भने घरमा आगो लाग्दा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।
प्रदर्शनमा मानव अधिकार उल्लङ्घटनाका घटना भएको मानव अधिकार आयोगले भनिसकेको छ। प्रहरीले जथाभावी बल प्रयोग गरेको विषय पनि सार्वजनिक भइरहेको छ।
शान्तिपूर्ण आन्दोलन गर्ने भन्दै संयुक्त जनआन्दोलन समिति तत्कालीन संयोजक नवराज सुवेदीले गरेको आह्वान कसरी हिसात्मक बन्न पुग्यो? स्वतन्त्र छानबिन हुन बाँकी छ।
सरकारले आन्दोलन हिंसात्मक भएपछि आन्दोलनमा सहभागी भएकाहरूलाई धमाधम पक्राउ गर्दा संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईं भने फरार छन्।
उनले आन्दोलनमा सहभागी हुने नागरिकलाई परिचालन गर्ने जिम्मा लिएका थिए। उनले परिचालन गरेको आन्दोलन हिंसात्मक हुनु र आन्दोलनमा सहभागीलाई पक्राउ गर्दै गर्दा प्रहरीले प्रसाईं कहाँ छन् भन्नेसमेत थाहा पाउन सकेको छैन।
दुई जना नागरिकको अनाहकमा मृत्यु भएको छ। १२८ जना घाइते भएकोमा १३ जनाको अप्रेसन गर्नुपरेको छ जुन घटनाले आम नागरिकलाई स्तब्ध बनाएको छ।
दुर्गा प्रसाईं तीनकुने घटनाका मुख्य आरोपितमध्ये एक हुन्। उनलाई खोज्न प्रहरी परिचालन भइरहेको छ। तर उनी कहाँ छन् भन्नेमा प्रहरी बेखबर छ। ‘उनी कहाँ छन् भन्ने थाहा छैन। खोजी गर्न काम भइरहेको छ।’, प्रहरी प्रधान कार्यालयका प्रवक्ता दिनेश कुमार आचार्यले भने।
चैत्र १७ गते एक भिडियो जारी गर्दै प्रसाईंले आफू नभागेको र नेपालमै रहेको बताएका थिए। एक मन्दिरअघि बसेर जारी गरेको भिडियोमा उनले सरकारले आफूलाई मार्ने योजना बनाएकाले सुरक्षित ठाउँमा बसेको र प्रहरीले खोज्नु नपर्ने भनेका थिए।
प्रसाईंलाई प्रहरीले लुकाएको राप्रपाको आरोप
प्रसाईंलाई प्रहरी सम्यन्त्रले चाहेको भए आन्दोलनकै दिन पक्राउ गर्न सक्थ्यो। उनी आन्दोलनमा मुठभेड भएपछि प्रहरीलाई किच्ने गरी गाडी हुँक्याएर प्रहरीको घेरा तोडेका थिए।
त्यसैबेला उनलाई प्रहरीले एक पटक नियन्त्रणमा लिएको पनि थियो। उनको गाडी अहिले पनि प्रहरीको नियन्त्रणमा छ। तर प्रसाईंलाई प्रहरीले एक पटक नियन्त्रणमा लिए पनि फेरि छाडेको थियो।
प्रहरीले छाडेपछि उनी एकघरमा लुकेर अर्को गाडी चढेर भागेका थिए। त्यसपछि उनी भेटिएका छैनन्। आन्दोलन भएको ११ दिन बितिसक्यो। सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूलाई पक्राउ गरेर छानबिन गरिसकेको छ।
प्रसाईं भने भेटिएका छैनन्। राप्रपाले उनलाई प्रहरीले नै भगाएको आरोप लगाएको छ। सोमबार बल्खुमा बागमती प्रदेशस्तरीय खबरदारी सभा गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दुर्गा प्रसाईँलाई प्रहरीले भगाएको आरोप लगाए।
राप्रपा आफ्ना दुई नेता वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई पक्राउ गरेकोप्रति रुष्ट छ। सरकारले उनीहरू दुई जनासहित २० जनालाई राज्यविरुद्धको कसूरमा अनुसन्धान गरिरहेको छ।
मन्चमा बसेका नेतालाई पक्राउ गर्ने तर प्रहरीलाई किच्ने प्रयास गरेका प्रसाईंलाई छाडेको भन्दै सार्वजनिक रुपमै राप्रपा अध्यक्ष लिङ्देनले रोष प्रकट गरे।
‘दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्थ्यो पर्दैनथ्यो भनेर म उनको विपरीत कुरा गर्न खोजेको होइन। तर तपाईं (प्रहरी)लाई किचौँला झै गरेर आएको दुर्गा प्रसाईंलाई तपाईंले पक्रन सक्नुहुन्थ्यो। तर प्रहरीको फन्दामा परेको उसलाई निकालेर पठाउनुभयो’, उनले भने ‘बरु तपाईंहरूले मन्चमा भाषण गरेर बसेका नेताहरूमाथि अश्रुग्यास बर्साउनुभयो। यसले प्रहरी, राज्य के चाहन्छ भन्नेमा यहीँ देखिन्छ।’
एक जना प्रहरीको नजरबन्दमा, ७३ जना हिरासतमा
तीनकुने घटनामा प्रहरीले आन्दोलनका संयोजक नवराज सुवेदीलाई उनकै घरमा नजरबन्दमा राखेको छ। भाग्नसक्ने भन्दै प्रहरी खटाएर सरकारले उनलाई घरमै नजरबन्दमा राखेको हो।
नजरबन्दमा राखेपछि सुवेदीले आन्दोलनको संयोजनको जिम्मा जगमान गुरुङलाई सुम्पिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँकाअनुसार सोमबारसम्म तीनकुने घटनामा एक जना नजरबन्दमा र ७३ जना प्रहरी हिरासतमा छन्।
प्रहरी हिरासतमा रहेकामध्ये २० जनालाई राज्यविरुद्धको कसूर र आपराधिक उपद्रव गर्न नहुने कसूरमा अनुसन्धान भइरहेको छ। जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री राणासहित गोपाल मल्ल, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल रहेका छन्।
त्यसैगरी पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुली, पुस्कर खतिवडा, मनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, विष्णुजंग बस्नेत, देवी प्रसाद संग्रौला र प्रेम थापा मगर रहेका छन्।
यीबाहेक ५३ जनालाई आपराधिक उपद्रव गर्न नहुने कसूरमात्र अनुसन्धान भइरहेको छ। जसमा नौ जना महिला रहेका छन् भने बाँकी पुरुष हुन्।
यो पनि–