काठमाडौँ– राजसंस्था पुन:स्थापनाका लागि बुधबार प्रतिवद्धता सभा भयो। काठमाडौँको स्मार्ट दरबारमा बुधबार गरिएको प्रतिवद्धता सभामा राजसंस्थाप्रति उदार रहेका व्यक्ति, संस्थाहरू सहभागि थिए।
प्रतिबद्धता सभा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको आयोजनामा भएको हो। सभामा संयुक्त जनआन्दोलन समितिका पदाधिकारीको स्वभाविक सहभागिता रहने भयो।
सभामा विभिन्न पार्टी, संस्थाहरूका पदाधिकारीले राजसंस्था पुन:स्थापनाका लागि प्रतिवद्धता जनाए। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापादेखि कम्युनिस्ट पार्टी हुँदा अहिले राजसंस्थाको पक्षमा वकालत गरिरहेकी गंगा चौधरी (सत्गौवा) पनि कार्यक्रममा थिए।
कार्यक्रममा सम्वोधन गर्दै थापाले राजसंस्था पुन:स्थापनाका लागि अहिले माहोल बनेको र त्यसैअनुसार सबै प्रतिवद्ध भएर लाग्नुपर्ने बताए। उनले आन्दोलनको लक्ष्य प्राप्त नभएसम्म निरन्तर संघर्ष गर्न आफू तयार रहेको प्रतिवद्धता जनाए।
‘मन, वचन र कर्मले प्रतिवद्ध हुँदै यो संघर्षको मैदानमा उत्रन म तयार छु। आन्दोलनले लक्ष प्राप्त नगरेसम्म सधैं रहिरहनेछु’, थापाले प्रतिवद्धता जनाउँदै भने।

अहिलेको लोकतान्त्रिक व्यवस्थाबाट जनतालाई उन्मुक्ति दिलाउन आफू राजसंस्था पुन:स्थापना अभियानमा प्रतिवद्ध भएर लाग्ने थापाले बताए। राजसंस्थाको पुन:स्थापनाका लागि महोल सिर्जना भएको भन्दै उनले चार कारण आफू यस अभियानमा लागेको बताए।
‘म चार कारणले गर्दा राजसंस्था पुन:स्थापनाका लागि संघर्षको मैदानमा आएको छु’, उनले भने ‘पहिलो कारण राजसंस्था आवश्यक भएको हुँदा, दोस्रो राजसंस्था स्थापनाका लागि महोल सृजना भएका कारण, तेस्रो कुनै पार्टी र संस्थाबाट होइन जनताबाट राजसंस्था स्थापना हुन्छ भन्ने कारण र चौथो लोकतन्त्र लुटतन्त्रमा परिनत भएका कारण।’
प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरी (सत्गौवा)ले पनि देशमा राजसंस्था आवश्यक भइसकेको भन्दै आफू आन्दोलनमा होमिन तयार रहेको बताइन्।
२०७२ सालमा संविधान बनाउन नेपालका बहुसंख्यक नागरिकको इच्छाविपरीत हिन्दुराष्ट्रलाई हटाएको भन्दै अब हिन्दुराष्ट्रसहित राजसंस्थाको आवश्यक्ता रहेको चौधरीको भनाइ छ।

चर्को भाषण गरेकी उनले के बोल्दैछु भन्नेसमेत बिर्सिरहेकी उनले लैंगिक अल्पसंख्यक समुदायमाथि भने धावा बोलेकी थिइन्। उनले राजाको समयमा विदेशमा देशको सम्मान रहेको र अहिले त्यो सम्मान गुमेको भन्दै भनिन्, ‘अहिले नेपालका नेताहरुलाई तेस्रोलिङ्गीहरूले विदेशमा स्वागत गरेको देख्दा लाज लागेर आउँछ।’
चौधरीले लैंगिक अल्पसंख्यकमाथि विभेदको शब्दप्रयोग गरेकोप्रति हलमा उपस्थितलेसमेत अचम्म मानेका थिए। कतिपटक उनले बोल्दै गर्दा ताली बजाइरहेका प्रतिवद्धता सभामा उपस्थितहरूले लैंगिक अल्पसंख्यकमाथि गरेको विभेदकाविरुद्धमा मौन रहे।
राप्रपालाई आरोप: ढाडमा टेकेर टाउकोमा हान्न सिक्यो
प्रतिवद्धतासभामा राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर बिष्ट पनि सहभागी थिए। यसअघि राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठनमा सहभागी नभएका उनी अहिले राजसंस्था पुन:स्थापनाका लागि आफू प्रतिवद्ध रहेको बताए।
तर उनी राजसंस्था पुन:स्थापनाका लागि अभियानमा रहेका व्यक्ति संस्थादेखि गणतन्त्रका पक्षमा रहेका नेताहरूमाथि चर्कोरुपमा खनिए। माओवादीलाई पार्टीलाई त उनले आतंककारी भनिरहे।

बिष्टले राजसंस्था सहज फर्किन सम्भव नरहेको बताउँदै संविधान च्यात्न तयार रहन सबैलाई आह्वान गरे। राजगद्दी त्यागेका ज्ञानेन्द्र शाहले आफू फर्किन तयार रहेको संकेत गरेको उनको भनाइ थियो।
यति भनिहरँदा बिष्टले अब कुनै पार्टी र संगठनबाट मात्र राजसंस्था फर्काउने अभायन सफल नहुने राजसंस्था फर्काउनका लागि सबै राष्ट्रिय झण्डामुनी गोलबद्ध हुनुपर्ने बताएका थिए।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमाथि ढाडमा टेकेर टाउकोमा हान्न सिकेको आरोप लगाएका थिए। संघीयता चाहिन्न भन्ने, त्यही संघीयताको प्रदेशमा सांसद भएर बस्ने, यसले भएन’, उनले भने ‘राप्रपा पनि ढाडमा टेकेर टाउकोमा हान्न सिकेको छ।’
बिष्टले साँच्चिकै राजसंस्था फर्काउन चाहेको हो भने राप्रपाले सांसद पद त्यागेर सडकमा आउनुपर्ने बताए। बिष्टले यति भनिरहँदा सभामा उपस्थित राप्रपा केही समर्थकले असहज महसुस गर्दै प्रतिवादसम्म गर्न खोजेका थिए।
राजेन्द्र लिङ्देनले ‘पत्याएनन्’
राजसंस्था पुन:स्थापनाका लागि राजसंस्थाप्रति उदार रहेका शक्तिहरूले प्रतिबद्धता जनाउने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने उपस्थित भएनन्। राप्रपाका अन्य केही नेताहरूको उपस्थिति रहेको भए पनि महत्वपूर्ण भनिएको प्रतिवद्धता सभामै लिङ्देन भने पुगेनन्।
याद रहोस्, लिङ्देन राजसंस्था पुन:स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिको कुनै पनि कार्यक्रममा सहभागि भएका छैनन्।
३६ वटा संघसंस्थाको छाता संस्थाको राष्ट्रिय शक्ति नेपाल बनाएर त्यसको संयोजक बनेका केशरबहादुर बिष्टले राप्रपामाथि लगाएको आरोपको सभामै खण्डन भएको थियो।
प्रतिवद्धतासभामा सहभागी भएका राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संसद्मा राप्रपा त्यसै नगएको बताए। ‘राप्रपाले संसद्मा त्यसै गएको होइन। जनताबाट निर्वाचित भएर पठाएका हुन्’, उनले बिष्टको आरोपको खण्डन गर्दै भने।
राप्रपा संसद्मा भएकै कारण अहिले संसद् प्रतिपक्षीबिहीन नभएको उनको भनाइ छ। ‘संसद्मा कोही प्रतिपक्ष छ भने त्यो राप्रपा हो। संसद्मा कोही राजसंस्था, हिन्दुराष्ट्र चाहिन्छ भन्दै छाति पिट्छ भने त्यो हो राप्रपा’, उनले भने, ‘राप्रपालाई केही भन्नु छ भने केही सोचेर भन्नुहोला।’
उनले राप्रपा राजसंस्था पुन:स्थापनाका लागि संघर्ष गर्न प्रतिवद्ध रहेको बताए।
तस्बिरहरू: बर्षा शाह
यो पनि– आन्दोलनका नेता ‘प्रसाईं’लाई पक्राउ गर्न प्रहरी असफल, सहभागीहरूलाई धमाधम पक्राउ गर्दै

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































