
झापा- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिवर्तन ल्याउँछु भनेर चैत १५ गते सडकमा निस्केकाहरूले रक्सीको बोतल चोरेको बताएका छन्।
शनिवार झापाको दमकमा पार्टीद्वारा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्ता अराजक गतिविधि अब सह्य नहुने बताए। ओलीले भने, ‘देशमा परिवर्तन ल्याउँछ भनेर सडकमा निस्किने अनि पसलमा चोरी गरेर रक्सी बोकेर हिँड्ने? यो कुरा सह्य हुँदैन अब। अब यस्ता कार्य स्वीकार्य हुँदैन।’
वर्तमान सरकार अघि गाडी चलाउन सिक्दै नसकिकाले गाडी चलाउँछु भन्ने जस्ताहरूले देश चलाउन खोजेकाले आफू प्रधानमन्त्री बनेको उनले दाबी गरे।
राजनीति गर्नै नजान्नेहरूले देश चलाउन खोजेकाले देशले सही मार्ग नलिएको बताए। उनले एमालेको नेतृत्वमा जुनसुकै बेलाका सरकारले सुधार ल्याएको दाबी गरे।
उनले भने, ‘जुन कुरा गर्न जानेकै छैन त्यही काम गर्छु भन्दा हुन्छ ? गाडी चलाउन नजान्नेले गाडी चलाउँछु भन्दा के हुन्छ? देश राजनीति गर्न जान्नेले मात्र चलाउन सक्छ।’
विगतमा ढुंगा हान्नेहरूले देश चलाउन थालेकाले देश उँभो नलागेको प्रधानमन्त्री ओलीको दाबी थियो। राजनीति अस्थिर भएपछि अनेक खालका मान्छे निस्किएका ओलीले बताए। उनले भने, ‘बैंक डुबाउनेहरू आए। ऋण नतिर्नेहरू आए। जनतालाई भड्काउनेहरू आए। तर उनीहरूको तमासा पनि चैत १५ गते देखियो।’ उनको भनाइ शुक्रबार प्रहरी नियन्त्रणमा परेका दुर्गा प्रसाईंप्रति लक्षित थियो।
उनले एमालेले गरेका राम्रा कामको प्रचार गर्न कार्यकर्तालाई आग्रह गरे। उनले आन्तरिक कलहमा छेडछाड हान्नका लागि नभएर पार्टीका राम्रा कामको प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग गर्द आग्रह गरे।