
काठमाडौँ – २०८१ सालको मनसुन अवधि (जेठ १९ देखि असोज १४)सम्म सरदरभन्दा ३५ देखि ५५ प्रतिशतसम्म बढी वर्षा हुने अनुमान थियो। बढी वर्षा हुने पूर्वानुमानसहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको पनि थियो कि- जोखिम धेरै छ यस वर्ष।
०८१ कै मनसुन अवधिमै भइदियो पनि त्यसै। नेपालले भोगेको धेरैमध्ये दुई विपद्का घटना सायदैले बिर्सिएको हुनुपर्छ, एक- सिमलताल घटना, दुई- नख्खु खोला घटना।
दुवै उस्तै प्रकृतिका घटना हुन्– बाढी र पहिरोले निम्त्याएका। बाढी र पहिरोको नै जोखिम रहेको आँकलन प्राधिकरणले गरेको थियो।
सिमलताल पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्छ। यही सिमलतालमा असार २८ गतेको बिहानको ३ बजे पहिरोले दुई बसलाई त्रिशुली नदीमा खसाइलगेको थियो। बससँगै मस्त निद्रामा रहेका सबै यात्रु नदीमै बगेका थिए।
बसमा सवारमध्ये ३ जना मात्र बसबाट हाम फालेर बाँच्न सफल भए। १५ जनाको शव हप्तादिन पछि मात्र नदी किनारमा फेला परे। अनुमान ५० बढी नागरिक कतै भेटिएनन्। दुवै बस पनि भेटिएनन्।
दुई हप्ता बढी लगाएर सरकारको संयन्त्रले बस र बेपत्ता नागरिकको खोजी गरे पनि भेटाउन सफल भएन।
०००
नख्खु खोला घटना उस्तै प्रकृतिको हो। सिमलताल घटनाले देशलाई स्तब्ध बनाएको ३ महिनापछि नख्खु खोला घटना घटेको थियो। नख्खु खोला ललितपुर भैसेंपाटीनजिकै पर्छ।
भैसेंपाटी मन्त्रीको क्वार्टर एरिया पनि हो। असोज ११ र १२ गते भएको घनघोर वर्षाले नख्खु खोलामा बाढी आउँदा बचाउ-बचाउ भन्दाभन्दै चार जना बगेका थिए।
एउटा टहरामाथि उद्धारको याचना गर्दागर्दै चार जना बगे। उनीहरू बग्दै गर्दा गृह मन्त्रालयमा आपतकालीन बैठक बस्दै थियो। बैठकबाट निस्किएर गृहमन्त्री रमेश लेखकले चार जनालाई बचाउन सकिएन भनेर जानकारी गराए।
यद्यपि, टहराको छतबाट बगेका चार जनामध्ये ३ जनालाई स्थानीयले बचाए। एक बालकको भने ज्यान गएको थियो।
राजधानीमै करिब एक घण्टा बचाउभन्दा सरकारी संयन्त्रले बचाउन नसकेको भन्दै त्यसपछि सरकारको आलोचना तीव्र भएको थियो।
असोज ११ र १२ गते भएको घनघोर वर्षाले नख्खु मात्र होइन, काठमाडौँको विष्णुमती, बागमती र अन्य साना खोलाहरूले ठूलो क्षति गर्यो। कहिल्यै बाढी नपसेको ठाउँमा बाढी पस्यो।
यही वर्षाले नै धादिङको झ्याप्ले खोलामा पहिरोले ३ बस पुरिँदा दुई दर्जन बढीको बसमै सुतेको अवस्थामा मृत्यु भएको थियो। यही वर्षाले पूर्वी नेपाल त तहसनहस नै बनायो। मकवानपुरमा लापरबाहीले गर्दा नेपाल फुटबुल संघ (एन्फा)का ६ खेलाडीले ज्यान गुमाए।
रोशी खोलाले पनौती नगरपालिका र रोशी गाउँपालिकाका कैयन बस्ती मसानघाट नै बनायो। जहाँ पुर्नसंरचना बनाउनसमेत नसकिने गरी बस्ती खण्डहर भयो। पूर्वी नेपाललाई राजधानीसँग जोड्ने बिपी राजमार्ग पनि यही वर्षाले ध्वस्त बनाउँदा पुनर्निर्माण हुनसमेत कठिन भइरहेको छ।
यसरी घनघोर वर्षा होला र यति धेरै क्षति होला भन्ने पूर्वानुमान सरकारी संयन्त्रसँग थिएन। ‘वर्षा हुन्छ भन्ने पूर्वानुमान भयो कहाँकहाँ पहिरो आउँछ भन्ने थाहा थिएन’, त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले भनेका थिए।
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने पूर्वानुमान गरे पनि यस किसिमको विपद् निम्तिहाल्ला भन्ने अनुमान नहुँदा क्षति धेरै भएको सरकारी अधिकारीको भनाइ थियो।
२०८१ सालअघि यस्ता विपद् नभएका होइनन् त? भएका छन्। तर एकपछि अर्को वर्षमा विपद्ले रुप फेर्दै गइरहेको छ। जहाँ पूर्वानुमान गर्नसमेत कठिन भएको देखिन्छ। २०८१ को यो पछिल्लो घटनाले देशका कैयन बस्तीहरू बाढी पहिरोको जोखिममा रहेको जबरजस्त देखाइदिएको छ।
यो पनि– बढ्दै छ डढेलो, सरकारको तयारी भने कमजोर
रोशीमा यसअघि कहिल्यै नआएको पहिरो आयो। राजधानीका धेरै नदी खोलाहरू बस्ती पसे।
वर्षा सकिएर असोजमा दर्किएको वर्षाले १७ अर्बभन्दा बढीको क्षति भएको सरकारको अनुमान थियो। सबैभन्दा धेरै कृषिक्षेत्रमा ६ अर्ब, खानेपानी संरचनामा ३ खर्ब ५५ करोड, सडक पूर्वाधारहरूमा २ अर्ब ५२ करोड, उर्जातर्फ ४ अर्ब, सिंचाइतर्फ २ अर्ब क्षति भएको तत्कालीन समयमा पत्रकार सम्मेलन गर्दै सरकारले अनुमान गरेको थियो।
बाढी, पहिरो र डुबानमा परेर २२४ जनाको मृत्यु भएको थियो। २४ जना बेपत्ता र डेढ सय बढी घाइते भएका थिए। विपद् प्राधिकरणले मनसुनको अवधिमा देशभर ४ सय ९५ जनाको मृत्यु भएको, ६६ जना बेपत्ता र ५२२ जना घाइते भएको जनाएको छ।
यस्तै, प्रकृतिको विपद् फेरि नेपालले भोग्नु नपर्ला भन्ने आधार छैन। प्रकृतिमाथि बढिरहेको दोहोनले अझ भयङ्कर विपद्हरू भोग्न बाँकी रहेको विपद् जानकार बताउने गर्छन्।
असोज ११ र १२ गते भएको वर्षालाई ५४ वर्षयताकै ठूलो भनिएको थियो। बेमौसममा यसरी हुने वर्षालाई सामान्य रुपमा लिइँदैन। यो वर्षालाई मौसम जानकार जलवायु परिवर्तनसँग जोडेर हेर्छन्।
प्रकृतिमाथिको भइरहेको दोहोन नरोकिए पृथ्वीले अनिष्ट भोग्नुपर्ने चेतावनी दिइसकिएको छ। हिमालको संरक्षणमा ध्यान दिन गरिएको आग्रहलाई विश्व समुदायले अटेरी गर्दै आइरहेको छ।
संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेरेसले दुई वर्षअघि नेपाल भ्रमणका क्रममा हिमालको अवलोकन गर्दै हिमाल कालो भएको देखेपछि विश्वले प्रकृतिमाथि गरिरहेको दोहनको पागलपन रोक्न आग्रह गरेका थिए।
२०८१ मा नेपालले भोगेको विपद् प्रकृतिमाथि दोहोनको परिणाम हो। २०८१ मा कोरिएको यो डरलाग्दो विपद् रेखा मेटाउन राज्य संयन्त्र चुकेमा नेपालले फेरि अर्को अनिष्ट भोग्नुपर्ने छ।