देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले सिर्जनाकार तथा कवि नरेन्द्रबहादुर श्रेष्ठलाई निम्त्याएका छौँ। अहिलेसम्म थुप्रै कविता, थुप्रै अन्य कला र ५८ वटा जराकला सिर्जना गरेका श्रेष्ठले आफ्ना सिर्जनाहरू ‘नट फर सेल’ भएको बताए।
‘जम्मा मैले ५१ वर्षको समयमा ५७/५८ मात्र जराकलाहरू बनाएको छु, ती बेच्नका लागि होइनन्,’ उनले भने।
सिर्जनालाई आफूले पैसाको विषय भन्दा पनि आनन्दको विषयका रूपमा लिएको उनले बताए।
एउटा स्थापित व्यापारिक घरानाका व्यक्ति भए पनि उनी कला र साहित्यका थुप्रै विधाहरूमा उत्तिकै सक्रिय छन्, सँगसँगै।
त्योबाहेक अहिले अध्यात्म क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्।
‘सानैदेखि अरुभन्दा नौलो काम गर्न रुचाउँछु म, सायद त्यसैले जरामा पनि रमाएँ,’ उनले भने।
सनाोमा चिरा परेका भित्ताहरू हेर्दा त्यसबाटै प्रकृतिमा कलाकारिता देख्ने क्षमता आफूमा विकास भएको बताउँछन् उनी। साहित्य र कलालाई एकअर्काको पूरकका रूपमा देख्छन् श्रेष्ठ र भन्छन्- ‘साथीहरूले आफ्ना लागि रुखका जरा उपहार ल्याइदिँदा म दंग पर्छु।’
साथीहरूले एकपटक आफूलाई कछुवा आकृतिको एक टनको जरा नै ल्याइदिएको सम्झना उनले दंग पर्दै सुनाए।
‘जरा ल्याएपछि म उल्ट्याएर हेर्छु, यताबाट हेर्छु, उताबाट हेर्छु अनि बल्ल सिर्जना सुरू गर्छु,’ उनले भने, ‘जरामा अर्थ खोज्दाखोज्दा मलाई धेरै आनन्द हुन्छ।’
३०/३१ सालदेखि आफूले जराकला सुरु गरेको उनले बताए। उनले जराकला सुरु गर्दाका रोचक प्रसंग पनि देशसञ्चार चौतारीका क्रममा खोतले।
यो लामो यात्राका क्रममा उनले आफ्नो घर नै एउटा संग्रहालयका रूपमा विकास गरेका छन्।
उनले ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएकै बेस आनन्दी मनले’ भन्दै पैसाभन्दा आनन्द ठूलो हो भन्ने आफ्नो धारणा देशसञ्चार चौतारीका क्रममा प्रस्ट्याए।
आफूले कला तथा सिर्जना पैसाका लागि नगरेको तर यसले आफूलाई एकदमै आनन्द आउने पनि उनी बताउँछन्।
‘कात्रोमा खल्ती त हुँदैन तर अहिलेका अभिलेख पछिसम्मै रहन्छ। म यही सिर्जनाहरूमा नै बाँच्छु,’ उनले बताए।
आफूले जरालाई बुटपोलिसले रङ्ग्याएरै सिर्जना गरेको उनले जानकारी दिए। ‘कतिपय आध्यात्मिक व्यक्तिहरूले मेरो घरमा आएर ध्यान पनि गर्छन्,’ उनले भने।
उनले बालगुरु ‘आदित्य’ लाई आफ्नो गुरूका रूपमा पनि चित्रण गरे। ‘पछिल्लो केही वर्षदेखि म उहाँसँग नजिक भएको छु,’ उनले भने।
जरामा काम गर्दा आफूमा अर्कै किसिमको अन्तरचेतना आएको महसुस गर्ने उल्लेख गर्दै उनले थपे- ‘मलाई कसैले यो काम गराएजस्तो महसुस हुन्छ।’
उनले थपे- ‘मलाई कसैले प्रयोग गराएको हो कि जस्तो लाग्छ, मेरो शरीरलाई, मेरो हातलाई, मेरो चक्षुलाई कसैले काम लगाएजस्तो लाग्छ।’
आफ्ना अधिकांश सिर्जनाहरू आध्यात्मिक चेतबाट विकास भएको उनले बताए। उनले आफू जरा नै सुम्सुम्याउने, जरालाई नै माया गर्ने, जरामै जीवन पाउने बताए।
उनीसँग गरिएको देशसञ्चार चौतारीकी पूरा भाग: