
इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद राजाीमा शनिबार भएको एक शक्तिशाली विस्फोटमा घाइते हुनेहरूको सङ्ख्या ५१६ पुगेको छ।
सरकारी टेलिभिजनले आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै जनाएको अनुसार “५१६ जना घाइते भएका छन् र सयौंलाई नजिकैका स्वास्थ्य केन्द्रहरूमा स्थानान्तरण गरिएको छ।”
यसअघि इरानको सरकारी समाचार संस्था आइआरएनएले देशको आपतकालीन स्वास्थ्य सेवा सङ्गठनका प्रवक्ता बाबक येक्तापारस्तलाई उद्धृत गर्दै ४०६ जना घाइते भएको जानकारी दिएको थियो। प्रवक्ताका अनुसार, घटनास्थलमा १५ वटा एम्बुलेन्स र चार वटा एम्बुलेन्स बसहरू तुरुन्तै परिचालन गरिएको थियो।
विस्फोट ग्यास ट्याङ्कीमा भएको बताइएको छ, जसले गर्दा आकाशमा बाक्लो धुवाँ देखिएको र वरपरका भवन तथा सवारीसाधनहरूमा ठूलो क्षति पुगेको छ।
सम्बन्धित निकायहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्। उद्धार तथा राहत टोलीहरू घटनास्थलमा सक्रिय रूपमा कार्यरत छन् भने सुरक्षाका दृष्टिले बन्दरगाहका सबै गतिविधिहरू हालका लागि स्थगित गरिएको छ।
अर्धसरकारी समाचार संस्था तास्नीमका अनुसार मृत्युको आधिकारिक पुष्टि भइसकेको छैन, तर घाइतेहरूको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।