
काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन्।
उनी आज बुधबार दिउँसो १ बजेतिर नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले पक्राउ गरेकोबारे पुष्टि गरे।
प्रज्ञा प्रतिष्ठानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको तयारी भइरहेको थियो। उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको छ।
नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्मबहादुर चौधरीले किन पक्राउ गरिएको भन्ने आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन्।
‘एक बजेतिर उहाँ (रशेम चौधरी)लाई पक्राउ गरिएको भन्ने थाहा पाएको छु। किन पक्राउ गर्यो भन्ने खुलेको छैन। हामी पनि अचम्मामा परेका छौँ’, उनले भने।
२०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषि ठहर भएका उनी २०८० सालमा गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए।
आममाफीविरुद्ध सारदा बोहोरा कठायतले रिट दर्ता गराएकी थिइन्। त्यसको सुनाइ अझै भएको छैन।