
‘झाेला’का निर्देशक यादव कुमार भट्टराईकाे नयाँ फिल्म ‘झिल्को’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। ११६ शोसहित यो फिल्म हलमा लागेको हो।
बिहीबार साँझ काठमाडौँमा ग्रान्ड प्रिमियर भएकाे झिल्काे बालबालिकामा स्मार्टफोनको कुलत, अभिभावकीय बेवास्ता र डिजिटल कुलतले पारेको पारिवारिक विखण्डनजस्ता विषयवस्तुलाई प्रस्तुत गरेको छ।
प्रिमियरमा मनोविज्ञान परामर्शदाता, बाल चिकित्सक तथा बालबालिकाको हितमा क्रियाशील अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो।
चिकित्सक र परामर्शदाताले बालबालिकाको मनोविज्ञान र समग्र विकासमा प्रविधिको लतले पारेको असरलाई बुझाउन चलचित्रले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रिमियरमा उपसभामुख इन्दिरा राना मगर लगायतको विशेष उपस्थिति थियो। उपसभामुख मगरले फिल्मले उठाएको विषयवस्तु अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै ‘झिल्को’ हरेक व्यक्तिको लागि एउटा सिकाइ रहेको बताइन्।
बालिकाको मुख्य भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छिन्। फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय छ।
यसअघि ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईद्वारा निर्देशित यस फिल्मको पटकथा भट्टराईसहित अरुणदेव जोशी र देव व्रतको तयार पारेका हुन्। फिल्मका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन्।