
काठमाडौंँ– बायोपिक (कसैको जीवनीमा आधारित) नेपाली चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ।
गएको फागुन २९ गते प्रदर्शनमा आएको चलचित्रले शुक्रबार साँझ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक काठमाडौंमा ५१औँ दिनको उत्सव मनाएको थियो।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छन्।
अञ्जिलाले देशभरका ४५ शोहरूसहित ५१ दिन मनाएको निर्देशक मिलन चाम्सले जानकारी दिए। उनले चलचित्रले १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गरेको पनि बताए।
साथै अञ्जिला नेपाली चलचित्रको इतिहासमा १० करोड माथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली बायोपिक चलचित्र बनेको चाम्सले दाबी गरे।
५१ दिन मनाएको उत्सवमा आयोजित कार्यक्रममा चलचित्रको टिम तथा ५१ दिन मनाएका हलहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बलका सांस्कृतिक समूहहरूले विभिन्न प्रस्तुतिहरू दिएका थिए।