झापा- अहिले देशभर मानसिक स्वास्थ्यको स्थिति भयावह रहेको मनोविश्लेषक बासु आचार्यले बताएका छन्।
शनिवार झापाको बिर्तामोडमा देशसञ्चारसँग कुरा गर्दै उनले मानसिक स्वास्थ्य अवस्थालाई सरकारले गम्भीरतापूर्वक नलिए स्थिति झन् बिग्रिँदै जाने चेतावनी दिए।
मानसिक अस्वस्थताका कारण विकसित विभिन्न घटनाक्रमहरू बढेको उनले बताए। आचार्यले भने, ‘बायलोजिकल तथा साइकोलोजिकल फ्याक्टरका कारण घटनाहरू भइरहेका छन्। मान्छेले मृत्यु रोजिरहेका छन्। यसलाई रोक्न जरुरी छ।’
घटना वा अवस्थालाई सहजै स्वीकार गर्न नसक्नु मानसिक स्वास्थ्य बिग्रिनु एउटा मुख्य कारण रहेको उनको बुझाइ छ। प्राकृतिक नियम अनुसार हुने घटनाहरूलाई धेरैले स्वीकार गर्न नसकेका कारण उनीहरूको मानसिक स्वास्थ्य बिग्रिने गरेको उनको बुझाइ छ।
उनले भने, ‘बायोलोजिकल, साइकोलिकल तथा सोसियल अवस्था बिग्रियो भने मान्छेको दिमाग बिग्रिन्छ। र सहजै सामान्य अवस्थामा मान्छे फर्किन सकेन भने त्यस्लाई सिन्ड्रोमको रुपमा लिइन्छ। यही कुरा बढ्दै गयो भने मानिसले अन्तिममा मृत्युसमेत रोज्ने गरेका धेरै घटनाहरू भएका छन्।’
मानिसले सबभन्दा पहिला सामान्य जीवन के हो र कसरी बाँच्ने भन्ने बुझ्न जरुरी रहेको उनले बताए। विकसित समाजमा एउटै कुरामा मात्र ध्यान जाने गरेकाले पनि मानिसहरू एकोहोरिने गरेका उनको बुझाइ छ। उनले भने, ‘सामान्यतया मानिस सामाजिक सञ्जालमा घोत्लिन्छ। घन्टौंसम्म अन्य विषयलाई ध्यान दिँदैन। अन्य कुरा बिर्सिन्छ। मानिसका अनेक काम हुन्छन्। ती कामलाई पनि ध्यान दिन जरुरी छ।’
सामान्य जीवनमा गर्नुपर्ने कर्तव्य बिर्सेर अनावश्यक रुपमा एउटै मात्र काममा अल्झिने गरेकाले मनोरोगका प्रारम्भिक लक्षणहरू मानिसमा देखा पर्ने आचार्यले बताए।
देशभर फरक-फरक स्थानमा फरक-फरक किसिमका मनोरोगीहरू देखा पर्ने गरेका उनले बताए। मनोरोगीहरू बढ्दै गएकाले यस्को रोकथाममा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले प्रत्येक पालिकामा मनोरोगको उपचार तथा पुनर्स्थापना केन्द्र हुन अनिवार्य भइसकेको बताए।
उनले भने, ‘मानिसलाई मनोरोग भनेको के हो? कसरी हुन्छ? आनीबानी कसरी सुधार्ने भन्ने विषयमा सबै तहका सरकार सक्रिय हुन अब ढिलो भइसकेको छ।’