
रंगकर्मी तथा लेखक घिमिरे युवराजले लेखेकाे तेस्रो नाट्यकृति ‘लस्ट एण्ड फाउण्ड’ सार्वजनिक भएकाे छ।
साङ्ग्रीला बुक्स र साङ्ग्रीला मिडिया ग्रुपको संयुक्त आयोजनामा भएको समारोहमा साहित्यकार उमा सुवेदी, उषा शेरचन, अभिनेता अनुप बराल र लेखक कुमार नगरकोटीले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।
यसअघि घिमिरेको ‘आँधीको मनोरम नृत्य’ र ‘विमोक्ष’ शीर्षकका नाटकहरू प्रकाशित भइसकेका छन्।
रंगकर्मी तथा कलाकार दिव्यदेवले विमाेचन कार्यक्रममा घिमिरेसँग युवराज नाटकको विषयवस्तु, रङ्गमञ्च र चलचित्र अनि सिर्जनात्मक प्रक्रियासम्बन्धी रोचक संवाद गरेका थिए।
सहरभित्र बस्ने मानिसहरूकाे भावना र संघर्षलाई नाटकमा ल्याउन रुचाउने गरेकाे बताए लेखक घिमिरेले । उनले भने, ‘मान्छेहरूले हराएका सपना, सम्बन्ध र अस्तित्व फेला पार्ने यात्रा’ नै लस्ट एण्ड फाउण्डको मूल विषय हो।’
उक्त नाटक आउँदो जेठ २ गतेदेखि बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुनेछ।