तमासा हेर्दै बस्ने कि समाधान खोज्ने?

तमासा हेर्दै बस्ने कि समाधान खोज्ने?
+
-

उमेरले पचास कटेका मजस्ता गाउँघरमा जन्मी हुर्की गरेका मानिसको बाल्यकाल र अहिलेका केटाकेटीको बाल्यकालमा आकाश–जमिनको अन्तर आएको छ। अहिलेको जस्तो पाइन्ट, सर्ट त्यसमाथि ब्लेजर अनि टाई कसेर पिठ्यूँमा ब्याग अनि हातमा टिफिन बक्स बोकेर घरको आँगनबाट स्कुल बस चढेर कोही स्कुल जाला भन्ने कुराको कल्पनासमेत गरिँदैनथ्यो। बिहानभर घरको काम सघायो अनि आमाले भियाइ नभियाइ पकाइ दिनुभएको तात्तातो भात अनि पाक्दापाक्दैको दाल अथवा माडमा गुन्द्रुक हालेर बनाइदिनुभएको झोलसँग गाँस टिपेर एक दुई घण्टा हिँडेर स्कुल गइन्थ्यो।

स्कुल ड्रेसको चलन थिएन। शिक्षक विद्यार्थीमाझ जुत्ता लगाउने भनेको कोही–कोही मात्र हुन्थे, अधिकांशको खुट्टामा चप्पल हुन्थ्यो अझ कतिपय त खाली खुट्टै स्कुल आउनेहरू पनि थिए। खाजा लाने चलन नै थिएन, स्कुलबाट आएपछि बिहानको बासी भात भुटेर खाजा खाइन्थ्यो।
आसपास, कपर्दी, बन्दी, सुर, पुल्ली डण्डाजस्ता खेल खेलिन्थ्यो। गाईवस्तु चराउन जाँदा पोखरीमा नुहाउँदा नुहाउँदै पौडी खेल्न जानियो।
अहिलेजस्तो प्रविधिको विकास नभएकाले सूचना र मनोरञ्जनका लागि टेलिभिजन र इन्टरनेट थिएन, फाट्टफुट्ट कसै–कसैको घरमा रेडियो सुनिन्थ्यो। देशभरिमा एउटा मात्र रेडियो नेपाल बज्थ्यो जसले सबै उमेर र क्षेत्रका मानिसका लागि मनोरञ्जनात्मक तथा जानकारीमूलक कार्यक्रम बनाएर प्रसारण गथ्र्यो। बिहान बज्ने धार्मिक कार्यक्रम, कृषि कार्यक्रम, दिउँसोको फर्माइस गीत कार्यक्रम, साँझको बाल कार्यक्रम, रसरंग कार्यक्रम तथा शनिवार प्रसारण हुने नाटक अहिले पनि सम्झन्छु। त्यसताका धार्मिक तथा सांस्कृतिक पर्वमा लाग्ने मेलाको अहिलेभन्दा विशेष महत्व हुने गथ्र्याे। कतिपय मानिस घरायसी प्रयोजनका सरसामान किन्न मेला लाग्ने समय पर्खेर बसिरहेका हुन्थे।

हाम्रो नजिक धनुषा धाममा माघ महिनाको आइतवार–आइतवार लाग्ने मेला अनि जनकपुरमा विवाह पञ्चमी तथा रामनवमीको अवसरमा लाग्ने मेलाको लागि पहाडदेखिका मानिस किनमेलका लागि आउने गर्थे तर अहिले सबैतिर बजारको विकास भएकाले किनमेलका लागि आउने मानिस खासै देखिँदैनन्।

त्यसबाहेक तराईमा, दशैंमा दुर्गा पूजा, तिहारमा लक्ष्मी पूजा, छठ पूजा, इन्द्रजात्रामा इन्द्र पूजा, कृष्ण जन्माष्टमीमा झुलनजस्ता अवसर पारेर वल्लोपल्लो गाउँमा मेला लाग्ने गर्छ।

अहिलेका मानिसमा यस किसिमका मेलाप्रतिको उत्साहमा कमी आए पनि त्यसताका यस किसिमका मेलाको आ–आफ्नै किसिमको महत्व थियो। कसैका लागि मेला धार्मिक दृष्टिले महत्वपूर्ण हुन्थ्यो भने कसैका लागि मनोरञ्जनको दृष्टिले अनि कसैका लागि व्यापारिक। तर, सबै किसिमका केटाकेटीका लागि भने मेलाको महत्व मनोरञ्जनको दृष्टिले नै हुने गथ्र्याे। रोटेपिङ खेल्न, नाच हेर्न, विभिन्न किसिमका तमासा र चटक हेर्न पाइने भएकाले त्यस किसिमका मेलामा खुबै रमाइन्थ्यो।

तमासे र चटकेहरू कोही बाँदर डो¥याएर आउँथे भने कोही भालु डोर्‍ याउँदै। कोही भेडा लिएर आउँथे भने कोही हात्ती अनि कोही उँट लिएर। कोही विभिन्न जातिका सर्प बोकेर आउँथे भने कोही सुगा, मैनालगायत पक्षी बोकेर।

आ–आफूले ल्याएका पशुपक्षीलाई विभिन्न किसिमका गतिविधि गर्न लगाएर उनीहरूले मनोरञ्जन गराइरहेका हुन्थे। अर्काेतिर कोही तास लिएर विभिन्न किसिमका खेल देखाइरहेका हुन्थे भने कोही हात कि सफाइ भन्दै मानिसलाई आफूतिर आकर्षित गराइरहेका हुन्थे।

अझ कति त विभिन्न किसिमका हाड घुमाउँदै मानिसको मुटु कलेजो झिकेर पुनः जीवित गराउँछु भन्दै अन्योल सिर्जना गर्न पनि पछि पर्दैनथे।
कोही मानिसलाई उडाएर देखाउँछु भन्दै आफूतिर आकर्षित गराइरहेका हुन्थे। यिनैमध्ये कोहीले शाही बाबाको फोटो राखेका हुन्थे त कोहीले जिसस क्राइष्टको। जुनसुकै किसिमको रुपमा भए पनि यी तमासेवाजहरूको अन्तिम लक्ष्य भनेको मानिसलाइ मूर्ख बनाउँदै पैसा कमाउनु नै हुन्थ्यो। जसले जति मूर्ख बनाउन वा मनोरञ्जन दिन सक्यो उसले त्यहीअनुसार पैसा कमायो। यी चटकेको हाउभाउ र बोलीको प्रभाव यस्तो हुन्थ्यो कि जो यिनका चटक हेर्न गयो ऊ फस्यो। कति पटक बा–आमाले खाजा खान दिनुभएको पैसा मैले पनि यस्ता चटकेलाई बुझाएको छु।

प्रविधिको विकासले मनोरञ्जनका लागि नयाँ–नयाँ अवसर सिर्जना गरेसँगै रेडियो सुन्ने मात्र होइन, टेलिभिजन हेर्ने दर्शक समेत घटिरहेको वर्तमान अवस्थामा यस्ता चटकेको बजार पनि घटेको छ।

तर, वर्तमान नेपालमा अर्काथरी चटकेको बजार भने मौलाएको छ। आजको नेपाली समाज र सिंगो राष्ट्र नै यस्ता चटकेको कब्जामा जकडिएको छ। कोही समाजवादको नाममा चटक गर्दैछन् भने कोही बहुदलीय जनवादको नाममा। कोही सर्वहारा र साम्यवादको नाममा चटक गर्दैछन् भने कोही उदारवादको नाममा। कोही नयाँको नाममा चटक गर्दैछन् भने कोही पुरानाको नाममा। कोही माक्र्सवादमा नेपाली राष्ट्रियता देख्छन् भने कोही लेनिन र स्टालिनलाई पूजा गर्दै प्रजातन्त्र सिकाउँछन्। डाक्टर होस् कि इञ्जिनियर, वकिल होस् कि न्यायाधीश, पत्रकार होस् कि समाजसेवी, विद्यार्थी संगठन होस् कि शिक्षक संगठन, अदालत होस् कि पुलिस प्रशासन, अख्तियार होस् कि निर्वाचन आयोग, स्थानीय होस् कि प्रदेश वा केन्द्र सरकार जहाँ गयो त्यहीँ यस्तै चटकेहरूको बोलवाला देखिन्छ।

पहिलेका चटकेहरूबाट समाज र राष्ट्रलाई खासै नोक्सान थिएन। उनीहरूले देखाउने तमासा हेरे पनि हुन्थ्यो नहेरे पनि। आपूmले देखाउने तमासा देखाइसकेपछि उनीहरू दर्शकसामु माग्नका लागि गम्छा फैलाउँदै आउँथे, मन हुनेले दिन्थे नहुनेले दिँदैनथे, आममानिसको जीवनमा उनीहरूका कारण कुनै प्रभाव पर्दैनथ्यो तर आजका चटकेहरूबाट सिंगो नेपाली समाज र सिंगो मुलुक प्रताडित छ।

यिनीहरू यति बेशर्म र नग्न छन् कि यिनीहरूलाई कुनै किसिमको संवेदनाले छँुदैन। न बाँदरमुडे घटनाले छुन्छ न त निर्मला पन्तको चित्कारले, न मुक्तिनाथ अधिकारीको हत्याले छुन्छ न त विदेशबाट दैनिकजसो बाकसमा आउने लासहरूले।

२०६१ साल जेठ २४ गते गोरखाबाट भर्खरै एसएलसी परीक्षा सकेर चितवन हजुरामाकोमा बस्न गएको १६ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्या गरेकोमा निजका बुवा नन्दप्रसादले न्याय माग्दामाग्दै अनशन गरेको ३२९ औं दिनमा देह त्याग गरे र आजसम्म उनको शव अस्पतालबाट उठन सकेको छैन भने आमा गंगामाया अनवरत अनशनमा छिन् तर हत्याराहरू राष्ट्रिय सेना र प्रहरीको सलामी लिँदै खित्का छाडेर हाँस्दैछन्। मान्छे जलाउनेहरू सम्माननीय भएका छन् अनि फोटो जलाउनेहरू समातिएका छन्। ठुल्ठूला भ्रष्टाचार अनि राष्ट्रघात गर्नेहरू युगपुरुष र राष्ट्रनायक कहलिएका छन् भने समाज र राष्ट्रका लागि योगदान दिएकाहरू दण्डित हुँदै छन्।

आजको एक्काइसौं शताब्दीमा यति घीनलाग्दो र नग्न राजनीति शायदै कुनै मुलुकमा होला जहाँ कमिसन र भ्रष्टाचारका लागि योजना बनाइन्छ, श्रीमती, प्रेमिका, दाज्यु–भाइ, सम्धी–सम्धिनी, सालासालीलाई सांसद र मन्त्री बनाउन समानुपातिक व्यवस्था राखिन्छ, आसेपासे र आफ्नो विज्ञापनकर्तालाई उपकुलपति बनाउन विश्वविद्यालय खोलिन्छ, भ्रष्टाचारबाट उन्मुक्ति दिलाइदिने शर्तमा अर्बाैंको दान लिइन्छ।
चुनावमा बुथ कब्जा र धाँधली गर्नेहरूले प्रमुख निर्वाचन आयुक्तको नियुक्ति गर्छन् भने ठुल्ठूला भ्रष्टाचारकाण्डमा जोडिएकाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको।

वर्तमान नेपालको पछिल्ला पुस्ताले देखेका शासकमा न धर्म छ न संस्कृति, न कर्म छ न देशभक्ति, न संस्कार छ न नैतिकता, न कर्तव्यबोध छ न उत्तरदायित्व, न मूल्य मान्यता छ न त गौरवपूर्ण इतिहास नै छ भने राजनीतिको नाममा हिंसा र लुट मच्चाएको अनि तिनै कारणले जेलनेल बसेको बिगत छ।

केटाकेटीदेखि बूढापाकासम्म चढेको बसमा बम हानेको, हिन्दु धार्मिक गुरुहरूलाई हत्या गरेको, आफ्नै नागरिकलाई शरणार्थी बनाएर बेचेको, ठगी गरेको, विभिन्न प्रकृतिको भ्रष्टाचार अनि राष्ट्रघात गरेको अर्थात् नगर्नुपर्ने जति सबै किसिमको आपराधिक क्रियाकलाप गरेको इतिहास छ जसलाई उनीहरू ठूलो पँुजी मान्छन् र आजको नेपाली समाजले जानी नजानी त्यसैलाई मान्यता दिँदै आफ्ना लागि आफैँ खाल्डो खन्दै छ।

लोकतन्त्रप्रति आस्था र विश्वास नहुनेहरू लोकतान्त्रिक पद्धतिको नाममा शासन गर्ने तहमा पुग्नु नै राष्ट्र र जनताको निम्ति दुर्भाग्यपूर्ण हुन पुगेको छ।
आफैँ सरकारप्रमुख, चार वटै सुरक्षा निकाय आफ्नै नियन्त्रणमा तर जागरण सभाको नाममा आफ्ना भ्रातृ संगठनलाई विपक्षीमाथि जाइलाग्नु भन्दै उर्दी जारी गर्दै हिँड्ने प्रधानमन्त्री अनि फरक मत राख्नेलाई सडकमै पछार्नुपर्छ भन्ने सुकुम्बासी अर्थमन्त्री हामीले पाएका छौँ। जसका नाममा ठुल्ठूला भ्रष्टाचारका काण्ड जोडिएका छन् ऊ नै आफ्नो अध्यक्षतामा सुशासन समिति गठन गर्छ।

प्राध्यापक अनि पुलिस कुट्दै हिँड्ने विद्यार्थी संगठन, बिचौलियाको भूमिकामा कर्मचारी अनि मजदुर संगठन, दलको आदेशले कलम चलाउने पत्रकार अनि पार्टीपिच्छेका कथित मानवअधिकारकर्मी तथा सामाजिक अभियन्ता मुलुकको प्रमुख समस्याका रुपमा देखापरेका छन्।

एउटै आयोजनामा १० अर्बभन्दा बढीको भ्रष्टाचार भएको समाचार बाहिरिँदा त्यसबारे सत्तापक्षको त के कुरा प्रमुख प्रतिपक्ष अनि कथित अभियन्ता चुँ सम्म बोल्दैनन् तर राजावादीको नाममा केही मानिस सडकमा निस्कनासाथ सत्तापक्ष, प्रतिपक्ष मात्र होइन, विभिन्न नामधारी अभियन्तामा समेत कोलाहल मच्चिन्छ।

आज एकथरी मानिस जान–अञ्जानमा यस्ता विचार राख्छन् कि मुलुकमा जतिसुकै भ्रष्टाचार होस्, कुशासन, लुट, तस्करीले जतिसुकै परकाष्टा नाघोस्, न्याय हराएर जाओस्, मुलुक जतिसुकै ऋणमा जाकियोस्, युवाहरू देशमा रहने वातावरण नभए नहोस्, अपराधीहरू दण्डित हुने त कुरै छाडाँै पुरष्कृत भइरहुन्, विश्वमञ्चमा मुलुकको छवि जतिसुकै धमिलियोस् त्यसले केही फरक पर्दैन। बस्, गणतन्त्रको गीत गाए पुग्छ, गणतन्त्रलाई खतरा हुनुहुँदैन र सबैले यसको महिमा गाउनै पर्छ, रक्षा गर्नै पर्छ। मानौँ यो मुलुक यस्तै गणतन्त्रका लागि बनेको हो।

आमनेपालीबाट तिरष्कृत एउटा स्व–घोषित उपबुज्रुक भारतीय नेताहरूको लुटतन्त्रप्रतिको धारणा बुझ्न दिल्लीमा घर–दैलो कार्यक्रम गरेर भर्खरै फर्किएको छ।

राजनीति यति सस्तो र हल्का कहिले थिएन जति आज भएको छ। संविधान मान्दै नमान्ने, साँचो बोल्नै नजान्ने, स्तरहीन घटिया भाषाबाहेक शालीनता जान्दै नजानेको, इमान्दार र क्षमतावानलाई देख्नै नसक्ने, बिचौलियाबाहेक अरुलाई भेट्दै नभेट्ने व्यक्ति देशको प्रधानमन्त्री पदमा आसीन छ। दुई तिहाइ भनिएको सरकारको प्रधानमन्त्रीले जनतासमक्ष आफ्ना कुरा सुनिदिन तेल तथा मासु–भातको कुपनसहित आमन्त्रण गर्दासमेत जनता राजी हुँदैनन्।

राजनीतिले ध्वस्त बनाएको एउटा सरकारी स्वामित्वको उद्योग संचालन गर्न एउटा ब्यक्ति मुलुकभर आफूद्वारा लिखित किताव बेचेर रकम संकलन गर्दैछ तर देशको प्रधानमन्त्री कमिशनकै लागि राष्ट्रलाइ ऋण बोकाएर निर्जन ठाउमा अरबौं खर्चिएर भ्यू टावर बनाउँछ अनि त्यसको औचित्य पुष्टि गर्न भ्यू टावर बनाएकै कारणले क्रसर ब्यवसायीहरूले गिट्टी बिक्री गरि मुनाफा कमाए, तस्करहरूले अबैध रुपमा उत्खनन गरेका वालुवा बिक्री भए, टिपर ब्यवसायीहरू मालामाल भए, कति मजदुरहरूले रोजगारी पाए भन्ने जस्ता घटिया तर्क गर्न शरम मान्दैन, जुन देशको प्रधानमन्त्री सन् १९२७ (चन्द्र शमशेरको पालामा) देखि संञ्चालन भएको रेल्वेलाइ आफ्नो उपलब्धिको रुपमा बखान गर्दै हिडछ भने त्यो भन्दा बेशर्मीपन के होला ?

जब राजनीतिले आफ्नो गरिमा र विश्वास गुमाउँछ र मुलुक दिशाहीन अवस्थामा पुग्छ यस्तो अवस्थामा मुलुकमा नानाथरीका उटपट्याङ भइरहन्छन् र कहिलेकाहीँ यस्ता उटपट्याङ हर्कतले मुलुकलाई कता पुर्‍याउँछ कुनै ठेगान हुँदैन।

अब प्रश्न आउँछ केही दशक देखि खड्गप्रसाद, पुष्पकमल र शेरबहादुरहरूले पालैपालो नेपाली जनतालाई कुकर्मका जुन तमासाहरू देखाइरहेका छन त्यसलाइ निरन्तरता दिने कि त्यसमा रोक लगाउदैे समाधान खोज्ने रु शंकर पोख्रेल, योगेश भट्टराई, गगन थापा वा विश्व प्रकाशहरू मात्र नभइ रवि लामिछानेहरू समेतको चाहना खड्गप्रसाद, पुष्पकमल र शेरबहादुरहरूले आज मुलुकलाई दाउमा राखेर जुन तमासा गरिरहेका छन् त्यो भूमिकामा उनीहरू आफूलाइ स्थापित गराउन चाहन्छन् जुन समस्याको समाधान हुदै होइन। उभिदा टेको लगाउनुपर्ने अवस्थामा आइपुग्दासमेत भ्रष्टाचार र राष्ट्रघातबाहेक अरु जान्दै नजानेका यिनीहरूलाई उमेरको परवाह नगरी यिनले गरेका कुकर्मको सजाय दिनसक्ने नेतृत्व वा दल नै आजको समस्या समाधानको एक मात्र उपाय हो। अब जनताले तत्काल निर्णय गर्नुपर्ने छ, यिनका कुकर्ममा तमासा हेर्दै मुलुकलाई अझ अधोगतिमा जान दिने कि समस्याको समाधान खोज्ने?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?