
झापा- झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा गएराति एक जनाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्।
प्रहरीले दिएको जानकारीअनुसार ३५ वर्षीय कविराज हेमरमले आपसी झगडापछि आफ्नी श्रीमती ३४ वर्षीया पूजा हेमरमको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
घटना राति करिब ११:२० बजे भएको हो। पारिवारिक विवादपछि कविराजले पूजा हेमरममाथि उनीहरू सुत्ने कोठामै खुकुरी प्रहार गरेका थिए। घटनापछि फरार रहेका कविराजलाई प्रहरीको टोलीले केही समयमै कनकाई नगरपालिका क्षेत्रकै सुरुङ्गा सडकबाट नियन्त्रणमा लिएको जनाएको छ।
शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल, भद्रपुरमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।