
नेपाल भारतमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भारतको अरुणाञ्चलमा भएको खेलमा नेपालले श्रीलंका माथि ५-० को रवाफिलो जित सहित सेमिफाइनलमा स्थान बनाउन सफल भयो।
नेपाल समूहको अन्तिम एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।
अरुणाञ्चलको गोल्डेन जुबिली रंगशालामा श्रीलंका विरूद्ध नेपालले पहिलो हाफमा एकपक्षीय रुपमा खेलमा हावी हुँदै दबाब बनायो। तर अग्रताका लागि भने पहिलो हाफको इन्जुरी समय सम्म कुर्नु परेको थियो। इन्जुरी समयको चौथो मिनेटमा राम थापाको लामो क्रसमा सुजन डंगोलले बक्सभित्रबाट उत्कृष्ट गोल गर्दै नेपाल पहिलो हाफमा १-० ले अघि रह्यो।
दोस्रो हाफमा नेपालले थप ४ गोल गर्यो। सुभाश बमको क्रसमा डिफेन्डरहरूले क्लियर गर्न नसकेको बलमा धर्मेन्द्र कुँवरले बक्सभित्रबाट गोल गर्दै अग्रता दोब्बर बनाउँदा ७७ औं मिनेटमा सुभाशले टिमको अग्रता बढाएका थिए।
९० औं मिनेटमा सुजनको क्रसमा सब्स्टिच्युट विज्ञान खड्काले गोल गरे। नेपाल यतिमा मात्र रोकिएन। इन्ज्युरी समयको चौथो मिनेटमा लक्षु थापाले करिब २५ यार्ड टाढाबाट हानेको फ्रि-किक प्रहार सिधै गोलमा परिणत भएको थियो।
समूह ‘बी’ को पहिलो खेलमा भारतले श्रीलंकालाई ८-० ले हराएको थियो। नेपालले मंगलबार भारतको सामना गर्नेछ । त्यो खेलले समूह विजेताको तय हुने छ। नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को यू-१८ उमेर समूहको संस्करण जितेको थियो। पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।