
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बारेमा लेखिएका तीन किताब एकसाथ सार्वजनिक भएका छन्।
माधवकुमार नेपालको जीवनी समेटिएको किताब ‘जनताका नेता नेपाल’ जैनव खातुनले लेखेका हुन् भने नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ परमानन्द नेपालले लेखेका हुन्। यी दुई किताब नेपाली भाषामा प्रकाशित छन्।
नेता नेपालको बारेमा लेखिएको अर्को पुस्तक भने अंग्रेजी भाषामा छ। ‘इन द कम्युनिष्ट मुभमेन्ट अफ नेपाल: माधवकुमार नेपाल’ शीर्षकको उक्त पुस्तक भने मनोजकुमार झाले लेखेका हुन्।
तीन पुस्तक सार्वजनिक भएपछि खुसी व्यक्त गर्दै पूर्वप्रधानमन्त्री नेपालले देशसञ्चारसँग भने- ‘जनताका नेता नेपाल पूर्णतया: जीवनी हो भने बाँकी दुई भने नेपालको कम्युनिष्ट आन्दोलनमा मैले गरेका योगदानबारे लेखिएका हुन्।’ यी पुस्तकहरू बजारमा उपलब्ध भइसकेका छन्।
जैनवले लेखेको ‘जनताका नेता नेपाल’मा नेता नेपालका पारिवारिक पृष्ठभूमि, बाल्यकाल, शिक्षादिक्षा, विवाह, जागिरे जीवन, राजनीतिमा प्रवेश, राजनीतिक यात्रा र राजनीतिका कारण खप्नुपरेको राज्यको दमनलगायतका विषयमा चर्चा गरिएको छ। १६० पृष्ठको उक्त किताब मोइन मिडियाले प्रकाशन गरेको हो। ७२ वर्षीय नेता नेपालका पुर्खा धादिङबाट रौतहट पुगेका हुन्।
अर्को पुस्तक नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल लेखन कुञ्जले प्रकाशन गरेको हो। लेखन कुञ्जका अध्यक्ष कमल ढकालका अनुसार यस पुस्तकले नेता नेपालका धेरै आयामलाई समेटेको छ भने नेपालको आँखाबाट इतिहासको व्याख्या पनि गरेको छ।
उनको कम्युनिष्ट कार्यकर्ता र नेताका रूपमा यात्रा यस पुस्तकले समेटेको छ। नेता नेपाल कसरी कुशल संगठक बने भन्ने पृष्ठभूमि किताबले राम्रोसँग पस्केको छ। किताबले नेता नेपालको सरल, अध्ययनशील र आचरणपूर्ण चरित्रलाई पनि बाहिर ल्याएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वैचारिक मतभेदपछि कसरी उनी एमाले छाडेर नयाँ दल नेकपा एसको स्थापना र विस्तारमा लागे भन्ने तथ्य पनि पुस्तकले मिहिनपूर्वक खोतलेको छ।
नेता नेपालबारे अंग्रेजीमा लेखिएको ‘इन द कम्युनिष्ट मुभमेन्ट अफ नेपाल: माधवकुमार नेपाल’ किताबले पनि नेता नेपालका नेपालको कम्युनिष्ट आन्दोलनका क्रममा भोगेका संघर्ष र सफलता तथा सिद्धान्त र सैद्धान्तिक मतभेदका पाटाहरू अंग्रेजी भाषामा बाहिर ल्याएको छ। अंग्रेजी भाषामा लेखिएको यस पुस्तक सेवा कन्सल्टले प्रकाशन गरेको हो। अंग्रेजी भाषामा लेखिएको यस पुस्तकमा नेता नेपालका जीवनका महत्त्वपूर्ण तस्बिरहरू पनि समेटिएका छन्।
किताबले आधुनिक कृषि नेपालको अर्थतन्त्रको आधार बन्नसक्छ भन्ने नेपालको विचारधारासमेत उपयुक्त ढंगले समेटेको छ। यसबाहेक उनका राजनीतिक यात्रा, उतारचढाव र संघर्षका क्षणहरूलाई किताबले सुक्ष्म ढंगले केलाएको छ।
यी पुस्तकहरू बजारमा उपलब्ध भइसकेको नेता नेपालले जानकारी दिएका छन्।