
यु-१९ साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। आयोजक भारतले नेपालमाथि ४-० को फराकिलो जित हासिल गर्दै समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको हो। भारतसँग हारेसँगै नेपालले अब फाइनल प्रवेशका लागि अर्को समूहको विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै भारतले माल्दिभ्सको सामना गर्ने छ।
गोल्डेन जुब्ली स्टेडियममा जारी खेलमा भारतले पहिलो हाफ र दोस्रो हाफमा समान २-२ गोल गरेको हो। दोस्रो हाफको ७६ औं मिनेटमा रोहिनले ब्यक्तिगत दोस्रो गोल गर्दा टिमका लागि चौंथो गोल ८४ औं मिनेटमा डानीले गरेका थिए।
त्यसअघि खेलमा भारतले रोहिन सिंह र ओमङ डोडुमको गोलमार्फत पहिलो हाफमै सहज अग्रता बनाएको थियो। नेपालले भारतलाई २७ मिनेटसम्म गोलरहित बराबरीमा रोकेको भएपनि त्यसको अर्को मिनेटमै डिफेन्डरको गल्तीका कारण गोल खान पुगेको हो।
एमएस थोक्छुमले दिएको क्रसलाई विफल बनाउन बक्सनजिक रहेका प्रशान्त मोक्तानले फ्रि हेडर गरेका भएपनि रोहिनलाइ रोक्न पर्याप्त भएन्। लगत्तै नेपाली डिफेन्डरले अर्को गल्ती गर्न पुग्दा दोस्रो गोल खान पुग्यो। सिक्स यार्ड बक्सनजिकबाट उमंगले भारतको अग्रता दोब्बर बनाए। नेपाल भने सिमित अवसर बनाएपनि गोल गर्न असफल रह्यो। भारत विरुद्ध नेपालले यो उमेर समूहमा भारतसँग भोगेको यो सबैभन्दा फराकिलो हार हो।