सिमकोट – हुम्लाको स्थानीय भाषा विवाह भनिने ‘भ्या’ उपन्यास प्रकाशित भएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा विवाह गर्ने चलनलाई विषय बस्तु समेटेर भ्या उपन्यास प्रकाशित भएको हो।
मुख्यगरी हिमाली जिल्ला हुम्लामा विवाह गर्दा केटा पक्षले तानेर, फकाएर, मागेर र थान हाल्ने (देउता सम्झने) चलनलाई उजागर गर्दै उपन्यास भ्या प्रकाशित भएको लेखक बखतबहादुर शाहीले बताए।
प्रत्येक कुरालाई स्थानीयले सुरुमै स्थानीय देवता सम्झने गरेजस्तै विवाह गर्दा पनि देवताकै शरण पुग्ने परम्परागत चलनलाई उपन्यासले स्पष्ट रुपमा कतिपय हुम्ली भाषामा समेत उजागर गरेको छ।
उपन्यासमा केटीले एउटालाई मन पराउने तर अर्को केटाले देवताको थान हालेको कारण देवताको डर मान्दै ती केटीले मन पराएको केटा भन्दा पनि देवताको नाम लिएर दाना (जौ, उवा, चामल) चढाएको केटासँग नै विवाह गर्न बाध्य पारिएको कुरा उपन्यासमा स्पष्ट पारिएको छ। मुख्य देउताको बढी आशा गर्ने र न्याय पनि पाउन विश्वासलाई पनि उपन्यासमा मुख्य विषय बस्तु बनाइएको छ। हरेक कुरामा कानुनभन्दा खोलाको चैन ठूलो मान्यतालाई पनि विषय बस्तु बनाइएको छ।
त्यसैगरी उपन्यासमा मानसरोवर कैलाश जाने र राम्री केटी वर माग्ने कुरा पनि समेटिएको छ। गाउँमा कुनै विवाद, समस्या, बिरामीलगायतमा समस्या आए पहिले देवताको शरणमा पुग्ने चलनलाई पनि बाहिर ल्याउन प्रयत्न लेखकले गरेका छन्। आमाको गर्भमा रहेकै अवस्थामा छोरी भए नाम राख्ने, विवाहका लागि माग्ने कुरा पनि उपन्यासमा आएका छन्। मुख्य पात्र देउमा र इन्द्रमार्फत धेरै कुरा बाहिर ल्याउने प्रयास लेखकले गरेका छन्। शाहीको यो उपन्यास दोस्रो हो। पहिलोछोटि उपन्यास प्रकाशित भइसकेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































