
झापा- सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेलले झापा र सुनसरीका झण्डै २०० जनाभन्दा बढी मानिसहरूको ७ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लागेको छ। उनी ठगी गरेर फरार भएकी प्रहरीले जनाएको छ।
उनीविरुद्ध इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय झापामा उजुरी परिसकेको छ। प्रहरीका अनुसार उनी हाल आफ्नो मोबाइल फोन बन्द गरेर फरार रहेकी छिन् र प्रहरीले उनको खोजी जारी राखेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले झापामा कार्यरत रहँदा पनि लुइँटेलले धेरै मानिसहरूबाट लिएको सापटी पैसा नतिरेको उजुरी परेको जानकारी दिए।
इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर भट्टराईले सोनापुर, इटहरी निवासी लुइँटेल ६३ दिनदेखि कार्यालयमा अनुपस्थित रहेको बताए। उनले लुइँटेलले धेरै जनाको सापटी पैसा नतिरेको कुरा सत्य भएको बताए।
लुइँटेल २०८१ भदौ ६ गते झापाको अर्जुनधारा नगरपालिकाबाट सरुवा भइ इटहरी उपमहानगरपालिकामा कार्यरत थिइन्। काम गर्ने क्रममा उनले घरव्यवहारका नाममा जनप्रतिनिधि, स्वास्थ्य शाखा तथा अन्य कर्मचारीहरूसँग व्यक्तिगत रूपमा १ लाखदेखि २४ लाख रुपैयाँसम्म सापटी लिएको बताइएको छ।
इलाका प्रहरी कार्यालय इटहरीमा ४० जनाभन्दा बढीले लुइँटेलविरुद्ध २ करोडभन्दा बढी रकम लगेर नतिरेको उजुरी दिएका छन्।
विकास पौडेल, बिपिन भट्टराई र मोहन दङ्गालले इलाका प्रहरी कार्यालय इटहरीमा उनीविरुद्ध जाहेरी दर्ता गराएका हुन्। पीडितहरूले पटक–पटक रकम फिर्ता माग्दा पनि नपाएको र उनी सम्पर्कविहीन बनेको आरोप लगाएका छन्।
हालसम्म झापामा पनि दर्जनौं व्यक्तिहरूले ठगिएको विवरणसहित ५ करोडभन्दा बढी रकम लुइँटेलले अपचलन गरेको उजुरी प्रहरीमा दर्ता गराएका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।