
झापा– अनलाइन सट्टाबाजी (अनलाइन जुवा) खेलाएको आरोपमा झापाको कन्काई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरबाट आमा र छोरीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४१ वर्षीया इन्दिरा प्रसाई र उनकी २१ वर्षीया छोरी सिम्रन प्रसाई रहेका छन्।
गएराति करिब २ः३० बजे कन्काई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरमा अनलाइन सट्टाबाजी खेलिँदै र खेलाइँदै गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले छापा मारेको थियो।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठका अनुसार, उनीहरूको साथबाट ५ थान मोबाइल, २ थान ट्याब र एउटा ल्यापटप बरामद भएको छ। आमा–छोरीले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ र उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए। अनलाइन सट्टाबाजीले समाजमा विभिन्न नकारात्मक प्रभाव पार्ने भएकाले प्रहरीले यसमाथि कडा निगरानी राख्दै आएको छ।