काठमाडौँ- बाहिरि मुलुकबाट श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ ।
उक्त प्रश्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य संगठनअन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको हो ।
विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भइ बिहीबार स्वदेश फर्किएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अन्य देशहरुमा कामदार पठाउने मुलुकहरुले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकरालस्थिति रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरुको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले लैजाने गरी तयारी गरेको उल्लेख गरे ।
यस पटकको सम्मेलनमा नै नेपालले त्यसबारे जानकारी गराएको बताए । प्रश्ताव डब्ल्युएचओबाट पास हुनेस्थिति बन्दा जानु भन्दा पहिला, गइसकेपछि र फर्किँदा स्वास्थ्य सहयोग तथा स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउने स्थिति बन्ने बताए ।
यसले उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति, उपचार गर्दा खर्चको कारणले पूर्ण रुपमा उपचार नहुने स्थिति र खर्चका कारणले उपचार नहुने स्थिति एवम् कतिपयलाई मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति तथा रोग बोकेर आउनुपर्ने स्थिति र बाध्यतालाई अन्त्य हुने बताए ।
‘नेपाल प्रश्तावक भएर श्रम भिसाअन्तर्गत जुनसुकै देशमा गएका जुनसुकै देशका नागरिकहरुको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगार दाता राष्ट्रले लिनुपर्ने व्यवस्थाका निम्ति नेपालले प्रश्ताव गर्दैछ । त्यसको तयारी गरेका छौँ । यो प्रश्ताव डब्ल्युएचओबाट पास हुने स्थिति बन्यो भने यहाँ जानुभन्दा पहिला, गइसकेपछि र फर्किंदा स्वास्थ्य सहयोग, स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउने स्थिति बन्छ,’ उनले भने,’उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति छ । उपचार गर्दा खर्चको कारणले पूर्ण रुपमा उपचार नहुने स्थिति छ । कतिको खर्चका कारणले उपचार नहुने स्थिति छ । कतिपयलाई मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति छ । रोग बोकेर आउनुपर्ने स्थिति र बाध्यतालाई अन्त्य गर्न श्रम गर्न गएको देशले नै उसको स्वास्थ्यको सम्पूर्ण जिम्मा लिनुपर्ने स्थिति बनाउनका निम्ति प्रश्ताव लैजान खोजिरहेका छौँ ।’
मन्त्री पौडेलले डब्ल्युएचओको नीतिगत विषयमा नेपालले अब सक्रिय भएर भाग लिन जरुरी रहेको बताए । नेपालले लैजान लागेको प्रश्ताव डब्ल्युएचओको धेरै सदस्य राष्ट्रहरुका निम्ति आवश्यक रहेको बताए ।
छिमेकी मुलुक भारतको प्रतिनिधिहरुसँग पनि छलफल भएको र स्वास्थ्यसँग सम्बन्धित विषयहरुमा दुई देश बीचमा सम्झौता गर्नेगरी अघि बढ्ने कुरा भएको बताए । छिमेकी देश चीन, मित्रराष्ट्र बेलायत, बंगलादेश, श्रीलंका, मल्दिभ्स, नर्वे र स्विट्जरल्याण्ड लगायतका देशका प्रतिनिधिहरुसँग स्वास्थ्य क्षेत्रका लागि समझदारी गरिएको जानकारी दिए ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































