काठमाडौँ – भिजिट भिसा प्रकरणमा दलहरूको मौनता देखिँदा गृहमन्त्री रमेश लेखकलाई हाइसन्चो भएको छ। भिजिट भिसाका नाममा मानव बेचबिखनमा संलग्न रहेको आरोपमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री लेखक पनि मुछिएका छन्।
तर, सत्तारुढ दलहरूको मौनता स्वाभाविक देखिए पनि प्रतिपक्षी दलहरूको समेत मौनता अस्वभाविक देखिएको छ। केही तल्ला तहका नेता कार्यकर्ताले लेखकमाथि राजीनामा माग गर्दै छानबिनका लागि माग गरेका छन्। तर, माथिल्लो तहका नेताहरूको मौनता अस्वाभाविक देखिएको छ।
जसमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीको माथिल्लो तहका नेताहरू मानव बेचबिखनकाविरुद्धमा बोल्न सकेका छैनन्।
नेताहरूले लेखकको राजीनामा माग गर्नसमेत सकेका छैनन्। बरु गृहमन्त्री लेखककै दल सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मानव बेचबिखनका विरुद्धमा बोलिसकेका छन्। उनले शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिए।
कोइरालाले भने, ‘अहिले मोरल स्टाटस के हो भने उहाँ (लेखक)को नाम आइसकेपछि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुन्छ।’ उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको स्मरण गर्दै मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतालाई सघाउ पुग्ने बताए।
आफ्नै पार्टीका नेताहरूले लेखकलाई राजीनामा दिन सुझाव दिँदा अन्य दलका नेताहरूले विज्ञप्ति त के बोल्नसमेत सकेका छैनन्। कुनै विषयमा सामाजिक सञ्जालमा छरपस्ट हुने नेताहरू लेखकको विषयमा मौन देखिएका छन्।
एक जना रास्वपाकी सांसद डा. तोसिमा कार्कीले भने लेखकलाई बर्खास्तीको माग गर्न सकेकी छन्।
‘आरोपित मन्त्रीलाई कुर्सीमा राखिरहनु भनेको मन्त्रिपरिषद्बाटै यो अपराधलाई अनुमोदन गर्नु हो। अब छानबिनको भाषण होइन, कारबाही चाहिन्छ। जनतालाई गुमराहमा नराखि गृहमन्त्रीलाई तुरन्त बर्खास्त गरी सत्य तथ्य र प्रमाणमा आधारित अनुसन्धान र कारबाही अघि बढाउन माग गर्दछु’, कार्कीले सामाजिक सञ्जालमा लेखेकी छिन्।
माओवादी र राप्रपाका माथिल्ला तहका नेताहरू मौन देखिएका छन्। १५ गते आन्दोलनको तयारीका लागि जिल्लातिर धाइरहेको राप्रपाले नागरिक बेचबिखनमा परेको विषयमा एउटा विज्ञप्तिसमेत निकाल्ने आँट गरेको छैन।
यद्यपि, माओवादी सांसद सुदन किराँतीले गृहमन्त्रीको राजीनामा माग गरेका छन्। उनले शनिबार अपराह्न सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्रीज्यू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने गरेको मानव तस्करीबारे आफूलाई नै स्वतन्त्र छानबिनको माग गर्दै पदबाट राजीनामा दिएर उच्च नैतिकताको प्रदर्शन गरिदिनुहोस्। त्यसैमा जनता,देश र राजनीतिको भलो हुनेछ।’
माओवादीका तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथिसमेत भिजिट भिसाका विषयमा एक पूर्वप्रहरीले मिलेमतो देखिने गरी आरोप लगाएका छन्। त्रिभुवन विमानस्थलमा भिजिट भिसासम्बन्धीको अनियमितता छानबिन थालेका तत्कालीन डिएसपी गोविन्द पन्थीलाई त्यहाँबाट सरुवा गरिएको विषय अहिले बाहिरिएको छ।
गृहमन्त्री भन्दैछन् – अझै दुई चार दिन बोल्दिनँ
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको चार दिन भइसक्यो। सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले बुधबार पक्राउ गरेको थियो। बुधबार पक्राउको अघिल्लो दिन मात्र लेखकले भट्टराईलाई गृह मन्त्रालयमा एकाएक सरुवा गरेका थिए।
सरुवा गरेर उनलाई बचाउन लागेका लेखक अझै पनि दुई चार दिन आफू यस विषयमा नबोल्ने बताउँदै छन्। शनिबार धनुषाको एक कार्यक्रममा भिजिट भिसा प्रकरणबारे बोल्दै दुई चार दिनपछि मात्र आफू यस विषयमा बोल्ने बताए।
त्यसअघि किन नबोल्ने उनले भनेका छैनन्। नैतिकताको ठूलै पाठ पढाउन सिपालु लेखक अहिले आफू नैतिक कसीमा पर्दा पनि राजीनामा दिन सुरसार गरेका छैनन्। ६ चैत २०८० मा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए।
त्यतिबेला लामिछानेमाथि सहकारी ठगीको प्रश्न उठेको थियो। लामिछाने कुनै पनि हालतमा राजीनामा नदिने मनस्थितिमा हुँदा लेखकले विभिन्न नेताहरूको नाम लिँदै भनेका थिए ‘कुनै पनि माननीय मन्त्री कुनै अनुसन्धानको घेरामा आउनुभयो, प्रश्न उठ्यो भने त्यस्तो माननीय मन्त्रीजी पदमा रहन पाउनुहुन्न, रहनुहुन्न । त्यसकारण गृहमन्त्रीले राजीनामा गर्नुपर्छ ।’
तर, उनी अहिले भने छानबिन हुन बाँकी रहँदै आफूले गलत नगरेको र गल्ती भए राजनीतिसम्म छाड्ने बताउन थालेका छन्।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































