
काठमाडौँ- नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले स्रष्टा सम्मान, पत्रिका विमोचन तथा वसन्त काव्य गोष्ठीको कार्यक्रमसहित आफ्नो आठौं अधिवेशन शनिबार सम्पन्न गरेको छ।
समाजका अध्यक्ष कृष्णदेव रिमालको सभापतित्व एवम् वरिष्ठ साहित्यकार प्रमोद प्रधानको प्रमुख आतिथ्यमा प्राधिकरण प्रधान कार्यालय, दरबारमार्ग, काठमाडौंस्थित सभाकक्ष (रुफटप हल) मा सो कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा नेपाल विधुत प्राधिकरणबाट सेवा निवृत्त भएका साहित्यकारद्वय भगवती प्रसाईं र दीपकप्रसाद दाहाललाई दोसल्ला र नगद राशिसहित ‘अमरज्योति साहित्य सम्मान- २०८२’ समर्पण गरिनुका साथै अमरज्योति साहित्यिक त्रैमासिकको ६६ औं अङ्क(२०८२, जेठ अङ्क) समेत लोकार्पण भयो।
सो समारोहमा आयोजित वसन्त काव्य गोष्ठीमा प्रमुख अतिथि प्रमोद प्रधान, विशेष अतिथिहरू- विष्णुबहादुर सिंह, पुण्यप्रसाद घिमिरे, रामेश्वर राउत मातृदास, मन्जुश्री प्रधानलगायतका स्रष्टाले रचना वाचन गरे।
कार्यक्रमका प्रमुख अतिथि प्रमोद प्रधानले सिर्जनशीलता सबै मानवमा निहित गुण रहेको धारणा राख्दै सिर्जनशीलताको प्रस्फुरणले आनान्दानुभूति दिलाउने विचार प्रकट गरे । उनले नेपाल विद्युत प्राधिकरणले धेरै साहित्यिक प्रतिभाहरू जन्माएको उदाहरण प्रस्तुत गर्दै प्राधिकरणका स्रष्टाहरूको सिर्जनशीलता कार्यालयको घेराबाट बाहिर निस्केर राष्ट्रियस्तरसम्म पुग्नुपर्ने धारणा राखे।
कार्यक्रमका सभाध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ ले साहित्य समाजका लागि योगदान दिने अग्रजहरूको स्मरण गर्दै भौतिकका साथै भावात्मक बिजुली उत्पादनमा समेत समाज कृयाशील रहँदै आएको विचार प्रकट गरे।उनले कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सक्रिय उपस्थिति जनाउने सबै पक्षलाई धन्यवाद ज्ञापन पनि गरे।
सोही अवसरमा सम्पन्न भएको विद्युतकर्मी साहित्यिक समाजको आठौं अधिवेशनले ३ वर्षको कार्यकालका लागि विष्णु आचार्य ‘अतृप्त’को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्यो।
समितिका अन्य पदाधिकारीहरूमा शारदा पराजुली (उपाध्यक्ष) , युवराज शर्मा ( सचिव), भोलानाथ शर्मा (सहसचिव) र मुकुन्द प्रसाद प्रसाईं (कोषाध्यक्ष) रहेका छन् भने कार्यसमिति सदस्यहरूमा सङ्गीता पौडेल अधिकारी, बलराम पुडासैनी, रीता चालिसे खनाल, मिमन पुलामी, अनिल पौडेल र रामराजा ओझा रहेका छन्।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशेष अतिथि,अतिथि स्रष्टाका साथै साहित्य समाजका पूर्वअध्यक्ष एवम् निर्वाचक मण्डलका पदाधिकारीहरू- विष्णु बहादुर सिंह, पुण्यप्रसाद घिमिरे तथा रामेश्वर राउत मातृदासलाई समाजको तर्फबाट ‘मायाको चिनो’ प्रदान गरिएको थियो।