‘पहिचान खाेज्न राज्यले नै बाध्य पारेकाे छ,’ रंगकर्मी घिमिरे युवराज

‘पहिचान खाेज्न राज्यले नै बाध्य पारेकाे छ,’ रंगकर्मी घिमिरे युवराज
+
-

घिमिरे युवराज नाटककार एवम् सुप्रसिद्ध निर्देशक हुन्। र, सामाजिक अभियन्ता पनि। ‘थिएटर एक राजनीतिक मञ्च हो’ भन्ने युवराज नाटक–मञ्चमा सामाजिक न्यायका विषय उठान गर्छन् र सोच्छन्– थिएटरले आम मान्छेकै कहानी भन्नुपर्छ। असलमा उनी हुन्– चेतनशील सहरीया युवाको संघर्ष, सपना र मनोविज्ञानमाथि लेख्न, नाटक मञ्चन गर्न रुचाउने लेखक–निर्देशक। उनी नाटकमार्फत् सामान्यजनका मुद्धा, तिनका जीवनको अनेकन जटिलता सुनाउँछन् र राज्य–राजनीतिक विकृतिमाथि प्रहार गर्छन्।

घिमिरे युवराज लिखित/निर्देशित नयाँ नाटक ‘लस्ट एण्ड फाउन्ड’ बत्तिसपुतलीको शिल्पी थिएटरमा मञ्चन भइरहेको छ, जसले बुद्धकालीन समय र वर्तमान समयको संकट–पहिचानको दुःख-वर्णन गर्छ। नाटकले भूमि र यशोधरामार्फत् बुद्धकै दुःखहर”को वर्णमाला कहन्छ। नाटकले यशोधरा र बुद्धबिच जीवन अनि निर्वाणको गहन संवाद प्रस्तुत गर्छ, जसले बुद्धको कथालाई विनिर्माण गरेको छ। घिमिरे युवराजसँग ‘देशसञ्चार’का लागि नाटक ‘लस्ट एण्ड फाउन्ड’मा केन्द्रित भइ राज सरगमको संवाद :

नाटक ‘लस्ट एण्ड फाउण्ड’लाई नेपाल नाम पनि दिन सकिन्थ्यो, अंग्रेजी शीर्षक किन?

नाटकमा केही पात्रहरू हराउँछन् र भेटिन्छन् तर फरक स्वरूप फरक मनोदशामा भेटिन्छन्। आ-आफ्ना समस्या बोकेर फर्किन्छन्। खासमा भन्दा चाहिँ यसको पुरानो नाम चाहिँ ‘लस्ट एण्ड फाउण्ड तर दुरुस्तै होइन’ भन्ने थियो। तर अलि बोझिल हुने र शीर्षकमै किन धेरै व्याख्य गर्नु भनेर यो नाम जुर्‍याएको हो। लस्ट एण्ड फाउण्डको नेपालीकरण गर्दा राम्रो सुनिदैन भनेर अंग्रेजी नाम नै जुर्‍याइयाे। यसले एउटा मेटाफर पनि बोल्छ। कति अंग्रेजी शब्दहरू नेपालीको दैनिकीमा धेरै प्रयोग भएका छन् जस्तै मोबाइल, कम्प्युटर, फोन, अंग्रेजी भाषाबाटै आयतित शब्द हुन्। अंग्रेजी शब्द नै मोर प्रभावकारी देखिन्छ जस्तो लागेर यो नाम राखेको हो।

नाटकको लेखक तपाईं नै भएकाले मेरो एउटा जिज्ञासा, २५ सय वर्ष अघिको सिद्धार्थको श्रीमती यशोधराको ‘रिफ्लेक्शन’ आजको पुस्तामा ल्याउन किन आवश्यक ठान्नु भयो?

मैले भन्न खोजेको त नाटकको प्रमुख पात्र भूमि र सागरकै कथा हो, जो आजको समाजको प्रतिनिधिपात्र हुन्। तर आजको मासिसको इतिहास सामाजिक राजनीतिक कुरा नजोडिकन स्पष्ट हुन सक्दैन जस्तो लाग्छ। भूमिको जीवन र उनको आमाको संघर्ष लामो सामाजिक व्यवस्थासँग जोडिँदै आएको छ। यो अहिले अचानक भएको पनि होइन। आजको मानिसको पनि जरा हिजाेकाे नै इतिहास हाे। आजको मानिसले नाता र सम्बन्धमा किन संकट भोगिरहेको छ। नाममा तीन पुस्ताको पहिचान किन खड्कियो। के एउटा सिंगो मान्छे स्वयंमा एउटा पहिचान होइन? तर समाज र यहाँको राज्य प्रणालीले मान्दैन। नाटकमा त्यो इतिहासलाई बुद्धकालिन समयसँग जोडेको हुँ जो पहिचानको लागि लड्न बाध्य छन्। इतिहास र वर्तमानलाई मर्ज गर्दा प्रतीकात्मक रूपमा धेरै कुरा भन्न सकिने रहेछ। र यो रंगमञ्चको मिडियम पनि हो।

मिथ वा इतिहासलाई जोडेर सहरका कथा भन्नुमा अरू कारण पनि छन्?

मिथलाई या इतिहासलाई बेच्ने काम सहरले नै गर्छ। भगवान् का तस्बीर या मूर्तिहरू बढी भन्दा बढी सहरमा बेचिन्छन्। गाउँमा बेचिँदैन। गाउँमा त्यो सम्भव पनि नभएर होला। या गाउँमा आस्थाकाे रूपमा हेरिने भएर हाेला तर सहरमा व्यापारका रूपमा हेरिन्छ। सहरीय युवालाई इतिहास र मीथले नछोएकाे हाेइन र त्यसको प्रभाव सहरीयले भोगेका छन् पनि। तर हामी बेखबर छौँ हामी। इतिहास र मीथमा फर्किएर काम गर्न सकियो भने नयाँ पुस्तामा बलियो सिर्जनात्मक प्रभाव छोड्न सकिने मेरो व्यक्तिगत विश्वास पनि हो।

नाटक हेरिरहँदा सिद्धार्थ आफ्नै श्रीमती यशोधरा र बच्चा राहुलप्रति बफादार छन् जस्तो लाग्दैनन्, हो?

सिद्धार्थ गाैतमले पाएको निर्वाणमा कुनै सन्देह भएन तर उनले आफ्नो छोरो राहुललाई ७ दिनमा छोडेर हिँडेका हुन्। राहुललाई यशोधराले हुर्काइन्। तर जब जब सिद्धार्थ बुद्ध भएर फर्किए अनि यशोधरालाई एक बचन पनि नसोधी राहुललाई भिक्षु बनाउँछन्। एउटा सामाजिक प्राणीका रूपमा हेर्दा अहिले पनि छोराछोरीको सपनाचाहिँ पुरुष अथवा पिताहरूले निर्माण गर्दोरहेछ। पुरुषहरूको सपनाले बच्चाहरू कसरी गुम्बा भित्र पस्न बाध्य छन्? अर्थात पितृसत्तात्मक समाजको छनक आजको सहरमा पनि उस्तै छ। सहरी जीवन बाँचेकाहरूमाथि हामीले घोत्लिएर हेर्‍यौँ भने त्यही पुरुषको हाली-मुहाली देखिन्छ जुन बुद्धकालिन समाजमा थियो। त्यसैले सिद्धार्थ आफ्नो परिवारप्रति बफादार होइनन्। यसलाई सायद समाजशास्त्रीय र मानवशास्त्रीय पाटोबाट पनि हेर्नु पर्छ जस्तो लाग्छ।

एउटा पिताका नाम नहुँदा नाटककी पात्र भूमि धेरै कुराबाट बञ्चित भएकी छन्। राज्यलाई प्रश्न गर्नु भएको हो?

जब आफ्नै भूमिमा आफ्नै देशमा अनागरिक हुनेलाई थाहा छ पहिचान के हो? सरकारी कागज के हो? देशभित्र आमाले हुर्काएको, आमाले आफ्नो नाम दिन चाहेको सन्तानलाई राज्यले पीताको नाम खोजेर अनेक समस्याहरू देखाउँछ। यो त राज्य नै पितृसत्तात्मक समाजको धङ्धङ्गी बोकेरै हिँडेको रहेछ त। भूमिले व्यवहारिक जीवनमा कुनै कागज नखोजे पनि राज्यले खोज्यो। पिताकाे नाम खाेज्याे। पिताकाे नाम नभएपछि राज्यका आँखामा अनागरिक भयाे। आफ्नै देशमा अनागिरक नहुनुको यात्रा त साह्रै गाह्रो हुन्छ नि। आफ्नै देशमा अनागरिक हुनु कहिलेसम्म। देशले किन अराजनीतिक उत्पादन गरिरहन्छ भन्ने हो नि। त्यसैले अहिले पहिचानको विषय अलि बढी बहसमा आएको छ ।

नाटक हेरिरहँदा पात्र भूमि एकदमै प्रगतिशिल र आधुनिक समाजको महिला देखाउन खोज्दा खोज्दा पनि बेला बेला अदृष्य पात्रको स्वर सुनिन्छ भूमिभित्र। भूमिको शरीरमा बोल्ने त्यो पात्र अन्धविश्वास हो कि अरु नै?

भूमिले बेला बेला अर्को महिला पात्रको स्वर निकाल्नुलाई म अन्धविश्वाससँग जोड्दिनँ। कुनै पनि व्यक्तिले आफ्नो कुरा भन्न दबाब सिर्जना हुँदा नसोचेको गतिविधि देखाउनुलाई मेडिकल भाषामा ‘मल्टिपल पर्सानालिटी डिस अर्डर’ पनि भन्छन्। आफ्नो बिचार रोकिँदा त्यस्तो गतिविधि गर्छन्। मेरो घरमा पनि दिदी फूपु दिदीहरू काम्नुहुन्थ्यो। त्यो काम्दा हामीलाई भूत लाग्यो बोक्सी लाग्यो। कसैले केही गर्दियो भन्ने बुझाइन्थ्यो। जसरी हामीलाई बुझाइयो त्यसैगरी हामीले बुझ्यो। तर हामीलाई गलत बुझाइएको रहेछ नि त। आत्म वा भूतप्रेत होइन। म अन्धविश्वासतिर गएको छैन साइकोलोजी असर हो।

यो माध्यमबाट कथा भन्न तपाईं कसरी प्रभावित हुनुभयो?

लेखनमा महिलाको पहिचान लिएर अधिकारकर्मीहरू आवाज उठाइरहनु भएको छ। र हामीलाई थाहा छ, एउटा पुरुष बन्नको लागि बैचारिक, सामाजिक रुपमा सबल बन्नका लागि समाजमा भएका सबै कुरा बराबरी हुनुपर्थ्याे। तर भएन। एउटा पुरुष बालखामा आमा, काका, भाउजु, दिदीसँग पो पहिला हुर्किने हो त। त्यसैले म प्रभावित हुनुको कारण महिलाले खोजेको पहिचानको स्वरहरुलाई अझ बलियो बनाउन प्रभावकारी बनाउने। मेरो वरिपरि भएका महिलाहरु सक्षम हुनुपथ्र्यो। धार्मिक सांस्कृतिक रूपमा महिलाहरूलाई सहज हुनुपर्थ्याे। सामाजिक रूपमा महिला पुरुष सँगसँगै छन् र पनि पछाडि किन र? भन्ने प्रश्नले मलाई प्रभाव पायो। मेरो चाहिँ नितान्त व्यक्तिगत घटनासँग जोडिएकाले पनि यो नाटक लेखेको हुँ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?