नेपाल सरकारले बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट घोषणा गर्यो। अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको बजेट प्रतिको प्रतिक्रियाहरू आइरहेका छन्। सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याउँदा तुलनात्मक रुपमा पूंजिगत खर्च कमजोर रहँदा चालु तर्फनै अत्याधिक बजेट विनियोजन गरिएको छ। सरकारले बजेट कार्यान्वयनका लागि १३ खर्ब रुपैयाँभन्दा बढी राजस्वबाट स्रोत सुनिश्चित गर्ने जनाएको छ। जुन निकै महत्वकांक्षी मानिएको छ।
सरकारको कूल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ रहँदा चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड र पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ८९ करोड रहेको छ। वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रहँदा राजस्व लक्ष्य १३ खर्ब १५ अर्ब रहेको छ। त्यस्तै सरकारले वैदेशिक अनुदान ५३ अर्ब ४५ करोड र वैदेशिक ऋण २ खर्ब ३३ अर्ब ६४ करोडको अपेक्षा गर्दा आन्तरिक ऋण ३ अर्ब ६२ करोडको अनुमान गरेको छ।
बजेटले तुलनात्मक रुपमा संयमित भएको देखिए पनि यसको प्रभावकारी कार्यान्वयनमा शंका रहेको छ। मुख्य रुपमा बजेटप्रति चासो राख्ने निजी क्षेत्रले यसलाई सकरात्मक मानेको छ। तुलनात्मक रुपमा सकरात्मक मानिएको बजेटमा निजी तथा कर्पोरेट क्षेत्रमा काम गरिरहेका केही प्रतिनिधि व्यक्तिहरूसँग देशसञ्चारकर्मी कपिल भण्डारीले प्रतिक्रिया लिएका छन्। पढौं, कस्ले के भने?
हल्लाहरू भन्दा स्थिरताको पक्षमाः रामचन्द्र खनाल, सिइओ कुमारी बैंक
यो पटकको बजेट धेरै सन्तुलित छ। रेभिन्यु पनि अन्त छरेको छैन्। खर्च कन्ट्रोलका लागि टाइट गरिएको देखिन्छ। अब इमान्दार भएर कार्यन्वयन भयो भने यो बजेट राम्रो छ। यसले स्टेबल नीतितर्फ राज्य अघि बढेको मान्न सकिन्छ। यसअघि बजार हल्लाहरू आइरहेका थिए। इभीको ट्याक्स बढ्ने लगायत अनेक कुराहरू आएका थिए। जसले अनुमान गर्न मुस्किल थियो। बजेट आएपछि एउटा स्थिरताको अपेक्षा बढेको छ।
जुत्ता चप्पल उद्योगका लागि हामीले दिएका सुझाब सुनुवाइ भएनः विदुषी राणा, ब्रान्डिङ तथा मार्केटिङ निर्देशक गोल्डस्टार सुज
यो वर्षको बजेट अलिक महत्वकांक्षी छ। तर स्रोतको व्यवस्थापन र कार्यन्वयन क्षमता महत्वपूर्ण हो। निजी क्षेत्रका लागि पनि यो बजेट सकरात्मक छ। पूँजिगत खर्चमा कम बजेट हुनुचाहिँ निरासाजनक हो। तर निजी क्षेत्रको विश्वास जितेर अघि बढ्ने र रोजगारीको अवसर सिर्जना गर्ने नीति राम्रो छ। बजेटले लिएका लक्ष्यहरू कार्यन्वयन गर्नु मुख्य चुनौतीका रुपमा रहने छ। जुता, चप्पल उद्धोगहरूका लागि भने हामीले दिएको सुझाबलाई कार्यान्वयन तहमा लगिएको देखिएन तर समग्र प्राइभेट क्षेत्रका लागि राम्रो छ। तर कार्यान्वयन हुनु चुनौती छ। तर यो पटक जुत्ता चप्पल उद्योगलाई इन्सेन्टिभ दिएन भने अलिअलि भइरहेको निर्यातसमेत रोकिने जोखिम भने बढेको छ। समग्रमा अब कसरी अघि बढ्छ त्यो भने महत्वपूर्ण हो।
चालू खर्च र ब्याज लागत यथार्थपरकः मनोज ज्ञवाली, कार्यवाहक सिइओ, नविल बैंक
यो बजेटले राजस्व संकलनलाई अलि आक्रामक रुपमा अघि बढाएको छ। पूँजीगत खर्च रकम र प्रतिशत दुवै बढ्नु उत्साहजनक छ तर सरकारले समयमै कुल र पूँजीगत खर्च गर्नेमा शंका लागेको छ। १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने स्टार्टअप व्यवसायका लागि ५ वर्षको कर छुट सकारात्मक छ। सबै परिवर्तनहरू अपेक्षाकृत छन्। समयमै कार्यान्वयन आवश्यक छ। यदि निगरानी नीति बजेटसँग मिल्दोजुल्दो छ भने, यो हासिल गर्न सकिन्छ।
बजेट भन्दा पनि राजनितिक र प्रशासनिक क्षेत्र सुधार हुन जरुरी छः भुवनकुमार दाहाल, पूर्व सिइओ, सानिमा बैंक
यो पटकको मात्र हैन् मैले पहले देखिकै बजेट हेर्दै आएको छु तर म उत्साहित हुँदिन्। मुख्य रुपमा काम गर्ने कुरा महत्वपूर्ण हो। हाम्रो देशमा लगानी आकर्षित गर्न सके १० प्रतिशत हाराहारीको आर्थिक वृद्धि हाँसिल गर्न सकिन्छ। तर त्यसका लागि राजनीतिक तथा प्रशासनिक क्षेत्रमा ब्यापाक सुधार गर्नु जरुरी छ। खुला कार्य सम्पदान मूल्याङकन प्रणाली (पारदर्शी कार्यसम्पादन मूल्याङ्कन प्रणाली) र त्यसको आधारमा इनाम र दण्ड दिने प्रणाली लागू गर्न जरुरी छ।
जबसम्म हामीले प्रभावकारी कार्यसम्पादन मूल्याङ्कन प्रणालीद्वारा राजनीतिज्ञ र कर्मचारीहरूलाई जवाफदेही बनाउँदैनौं, तबसम्म नेपालको विकास केवल सपना मात्र हुने छ। देशको आर्थिक र सामाजिक विकासको सर्वाधिक ठूलो बाधकका रुपमा रहेको भ्रष्टाचारलाई आमूल रूपमा न्यूनीकरण गर्न न्यायपालिका, निर्वाचन प्रणाली र अख्तियारमा व्यापक सुधार उतिकै आवश्यक छ।
बजेट सकरात्मक छ, निजी क्षेत्रका सुझाब समेटिएको छः करण कुमार चौधरी, कार्यकारी निर्देशक, सिजी होल्डिङ्ग्स
यो वर्षको बजेट निकै सकरात्मक रुपमा आएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले लामो समयदेखि सरकार समक्ष राख्दै आएका सुझावहरू बजेटमा समेटिएका छन्। जुन निकै स्वागतयोग्य कुरा हो। यो बजेटले अटोमोबाइल क्षेत्रको विकासमा सहयोग गर्ने मात्र होइन, आम जनताको जीवनस्तर सुधार गर्न, युवाहरूका लागि रोजगारी सिर्जना गर्न, र सुलभ, सुरक्षित तथा दिगो यातायात प्रणाली विकास गर्ने बाटो खोलेको छ।
हामी नेपाली युवाहरूको विदेश पलायन घटाउन, देशमै सीप विकास गर्न, व्यवसायिक अवसरहरू बढाउन र स्वदेशमै भविष्य खोज्न सक्ने वातावरण बनाउन निरन्तर प्रयास गर्दै आएका छौं। यो बजेटले ती प्रयासहरूलाई संस्थागत रूपमा बल पुर्याउने विश्वास लिएको छु।
अब सरकार, निजी क्षेत्र, र जनताको साझा प्रयत्नबाट हामीले देशको अर्थतन्त्रलाई गति दिने अवसर पाएका छौं। हामी सबै मिलेर यो अवसरलाई सदुपयोग गर्नु जरुरी छ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































