
विषय प्रवेश
शिक्षा मानव जीवनको उन्नति तथा समाजको रूपान्तरणको मूल आधार हो । ज्ञान, सीप, मूल्य र दृष्टिकोणको समुचित विकास बिना व्यक्तिको समृद्धि र राष्ट्रको प्रगति सम्भव हुँदैन । कुनै पनि राष्ट्रको दिगो विकास, समावेशी समृद्धि र सशक्त नागरिक निर्माणको मेरुदण्ड शिक्षा नै हो ।
वर्तमान युगमा शिक्षा मात्र पर्याप्त छैन—गुणस्तरीय शिक्षा अपरिहार्य भएको छ । गुणस्तरीय शिक्षाले व्यक्तिमा चिन्तन, क्षमता, नैतिकता तथा सामाजिक उत्तरदायित्वको विकास गर्छ । यसले व्यक्तिलाई केवल ज्ञानवान मात्र होइन, विवेकशील, उत्तरदायी तथा सृजनशील बनाउँछ । शिक्षाले मूल्य, सीप तथा दृष्टिकोणको समुचित विकास गरी व्यक्तिलाई आफ्नो जीवन र राष्ट्र निर्माणमा योगदान दिन सक्षम बनाउँछ ।
नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि गुणस्तरीय शिक्षा राष्ट्र समृद्धिको सबल माध्यम हो । शिक्षामा गुणस्तर ल्याउन शिक्षक, अभिभावक, विद्यालय, पाठ्यक्रम, नीति र वातावरण सबै पक्षहरूको सन्तुलित भूमिका आवश्यक हुन्छ । समृद्ध राष्ट्र निर्माणका लागि आवश्यक शिक्षाको यो बहुआयामिक दृष्टिकोण हामी सबैका लागि गम्भीर चिन्तनको विषय हो ।
शिक्षाको सार
युनेस्कोको परिभाषाअनुसार, शिक्षा भनेको ज्ञान, सीप, मूल्य, विश्वास, र बानीको अधिग्रहण गर्ने सहज प्रक्रिया हो । यो केवल औपचारिक अध्ययनको सीमित दायराभित्र कैद हुँदैन, बरु जीवनको गहिराइ बुझ्न, सोच विकसित गर्न र समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्न प्रेरित गर्छ । शिक्षा प्रत्येक व्यक्तिको मौलिक अधिकार हो, जसले अन्य सबै मानव अधिकारको अभ्यासको आधार प्रदान गर्छ । व्यक्तिलाई समाजमा समान अवसर र गरिमासाथ जीवन जिउन सक्षम बनाउँछ ।
शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम होइन, बरु व्यक्तिको आत्मबोध, निर्णय क्षमता, र सिर्जनात्मकता विकास गर्ने आधारशिला हो । सिकाइले व्यक्तिलाई आफ्नो जिम्मेवारी बोध गराई सक्षम नागरिक बन्न सघाउँछ । शिक्षाले विवेकशीलता, संवेदनशीलता र सामाजिक उत्तरदायित्वको भावना उत्पन्न गर्छ । यसले केवल रोजगारीको अवसर मात्र प्रदान गर्दैन, व्यक्तिको सोच, दृष्टिकोण, र चरित्रको निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ ।
राष्ट्रको समृद्धि शिक्षाको गुणस्तर र मानव मूल्यको समन्वयमा निर्भर रहन्छ । जब शिक्षा सशक्त बन्छ, तब राष्ट्र बलियो हुन्छ । साँचो अर्थमा शिक्षाको उद्देश्य केवल ज्ञान प्राप्त गर्नु मात्र होइन, बरु त्यसलाई गहिरो रूपमा बुझ्नु, व्यवहारमा उतार्नु, र समाजमा सकारात्मक परिवर्तन ल्याउनु पनि हो ।
गुणस्तरीय शिक्षाको आवश्यकता
गुणस्तरीय शिक्षा कुनै पनि राष्ट्रको सामाजिक, आर्थिक र सांस्कृतिक विकासको मूल आधार हो । अहिलेको ज्ञानमा आधारित युगमा केवल शिक्षा प्राप्त गर्नु पर्याप्त हुँदैन; प्राप्त शिक्षा गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी हुनुपर्छ ।
१. गुणस्तरीय शिक्षाले विद्यार्थीको मानसिक, बौद्धिक, भावनात्मक, सामाजिक र नैतिक विकासमा योगदान पुर्याउँछ । यसले उनीहरूलाई आत्मनिर्भर, जिम्मेवार र सशक्त नागरिक बनाउँछ । आजको प्रतिस्पर्धात्मक संसारमा सफलता प्राप्त गर्न व्यवहारिक सीप अत्यन्त आवश्यक छन्, जुन गुणस्तरीय शिक्षाबाटै सम्भव हुन्छ ।
२. समान पहुँचयुक्त गुणस्तरीय शिक्षाले समाजमा विभेद हटाउन, सामाजिक समरसता कायम गर्न, र सबैलाई समान अवसर प्रदान गर्न मद्दत गर्छ ।
३. श्रम बजारसँग जोडिएको गुणस्तरीय शिक्षा प्राप्त व्यक्तिले सजिलै रोजगारी प्राप्त गर्न सक्छन् र उद्यमशील बन्न सक्छन् । यसले राष्ट्रको आर्थिक वृद्धि र उत्पादकत्वमा सकारात्मक प्रभाव पार्दछ।
४. गुणस्तरीय शिक्षा प्राप्त नागरिकहरू कानुनी चेतना, मानव अधिकार, लोकतन्त्र र सामाजिक उत्तरदायित्वप्रति सजग हुन्छन्, जसले सुशासन र शान्तिपूर्ण समाजको निर्माणमा टेवा दिन्छ ।
५. गुणस्तरीय शिक्षाले विद्यार्थीलाई आधुनिक प्रविधिको उपयोग, अनुसन्धान, नवप्रवर्तन र अनुकूलनशीलता सिकाउँछ, जुन आजको बदलिंदो संसारमा अत्यावश्यक छ ।
गुणस्तरीय शिक्षाको आवश्यकता केवल व्यक्तिगत सफलता वा ज्ञान हासिल गर्न मात्रै होइन, समृद्ध राष्ट्र निर्माणका लागि पनि अत्यावश्यक छ । शिक्षाको गुणस्तर सुधारबिना समावेशी विकास, दिगो अर्थतन्त्र र न्यायपूर्ण समाजको कल्पना गर्न सकिँदैन । आजको प्रतिस्पर्धात्मक युगमा व्यक्तिको सफलताको मूल चाबी गुणस्तरीय शिक्षा नै हो ।
सिंगापुरले मानव संसाधन विकासलाई प्राथमिकतामा राख्दै गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षामा ठोस लगानी गरेको छ । सन् १९६० को दशकसम्म अविकसित द्वीप राष्ट्र रहेको सिंगापुर आज उच्च आय भएको देशमा परिणत भएको छ, जुन शिक्षामा गरिएको रणनीतिक लगानीको प्रतिफल हो । नेपालमा पनि शिक्षामा रणनितिक लगानी बढाउन नेपाल सरकारको गम्भिर ध्यानाकर्षण आवश्यक छ । दक्ष मानव संसाधन उत्पादनका लागि दीर्घकालिन योजना सहितको ठोस लगानी अपरीहार्य छ ।
गुणस्तरीय शिक्षा कुनै पनि राष्ट्रको समृद्धि, स्थायित्व र सामाजिक न्यायको आधारस्तम्भ हो । शिक्षाले व्यक्तिको बौद्धिक विकास मात्र होइन, उसको सामाजिक, आर्थिक र नैतिक चेतनालाई समेत परिमार्जन गर्दछ । तर, गुणस्तर सुनिश्चित गर्न शैक्षिक नीति, पाठ्यक्रम, शिक्षक क्षमता, भौतिक पूर्वाधार, र सामाजिक सन्दर्भहरूमा समन्वित सुधार आवश्यक छ ।
गुणस्तरीय शिक्षाका मुख्य विशेषताहरू
गुणस्तरीय शिक्षा बहुआयामिक प्रक्रिया हो, जसले शिक्षण र सिकाइलाई केन्द्रबिन्दुमा राख्छ । यसका अन्य आधारभूत विशेषताहरूमा योग्य र प्रेरित शिक्षक, समान पहुँच र समावेशिता, सम्बन्धित र जीवनोपयोगी पाठ्यक्रम, नैतिक र मूल्यपरक शिक्षा, सिकाइको मूल्याङ्कन र सुधारको प्रक्रिया गुणस्तरिय शिक्षाका प्रमुख विशेषता हुन । सुरक्षित, प्रोत्साहनात्मक र पहुँचयोग्य सिकाइ वातावरण, प्रविधिको समुचित प्रयोग, समुदायसँगको सहकार्य र लगातार सुधार र नवप्रवर्तन पनि गुणस्तरिय शिक्षाका थप विशेषता हुन ।
गुणस्तरीय शिक्षा कुनै एक पक्षमा मात्र निर्भर हुँदैन । यो विद्यार्थीको सर्वाङ्गीण विकास सुनिश्चित गर्ने एक सम्पूर्ण प्रक्रिया हो । यसले शैक्षिक ज्ञान मात्र नभई जीवनोपयोगी सीप, नैतिक मूल्य, र सामाजिक उत्तरदायित्वको भावना पनि विकसित गर्छ । समावेशिता, नवीनता, र सुधारको निरन्तरता गुणस्तरीय शिक्षाको आधारशिला हुन् ।
गुणस्तरीय शिक्षाका आधार
गुणस्तरीय शिक्षा शिक्षण सिकाइ प्रक्रिया, शिक्षक-विद्यार्थी सम्बन्ध, पाठ्यक्रमको प्रासंगिकता, सिकाइको वातावरण, र समाजिक तथा प्राविधिक संयोजनले बनिएको समग्र प्रणाली हो । शिक्षाको गुणस्तर मूलतः स्रोत साधन, शिक्षकको संख्यात्मक उपस्थिति, भौतिक पूर्वाधार जस्ता इनपुटमा आधारित सुचाङ्क र सिकाइ उपलब्धि, सृजनशीलता, आलोचनात्मक सोच, जीवन उपयोगी सीप जस्ता परिणाममा आधारित सुचाङ्कबाट मापन गरिन्छ । गुणस्तर विभिन्न तत्वहरूमा प्रत्यक्ष वा परोक्ष रूपमा आधारित हुन्छन ।
१. शिक्षक शिक्षाको केन्द्रबिन्दु हुन् । Darling-Hammond को अध्ययन अनुसार, शिक्षकको गुणस्तर, दक्षता, प्रशिक्षण, अनुभव, प्रेरणाले विद्यार्थीको सिकाइ परिणाममा अत्यन्त ठूलो प्रभाव पार्दछ । उनीहरूको शैक्षिक योग्यता, विषयमा पकड, सिकाइ प्रविधिको ज्ञान, र विद्यार्थीप्रति समर्पण शिक्षाको गुणस्तर निर्धारण गर्ने महत्वपूर्ण आधार हुन् । प्रेरित र समर्पित शिक्षकले विद्यार्थीमा जिज्ञासा, सिर्जनशीलता र आलोचनात्मक सोच विकास गर्छन् । शिक्षकको ज्ञान, शैली, व्यवहार र मूल्यमा नै विद्यार्थीको चरित्र र भविष्य निर्भर रहन्छ । शिक्षकले शिक्षा पेशा होइन, मिशन ठानी काम गरेमा शिक्षाको गुणस्तरको स्तर उच्च हुन्छ ।
२. विद्यालयको शैक्षिक वातावरण, भौतिक पूर्वाधार, पुस्तकालय, प्रविधियुक्त कक्षाकोठा, प्रयोगशाला, शौचालयको व्यवस्था आदिले सिकाइको गुणस्तरमा ठूलो प्रभाव पार्दछ । मैत्रीपूर्ण, समावेशी र सुरक्षित वातावरणले विद्यार्थीलाई खुला मनले सिक्न उत्प्रेरित गर्छ ।
३. पाठ्यक्रम विद्यार्थीको जीवन, समाज र भविष्यसँग मेल खाने हुनुपर्छ । केवल किताबी ज्ञानमा सीमित पाठ्यक्रमले व्यवहारिक सीप विकास गर्न सक्दैन । समयसापेक्ष, सन्दर्भयुक्त र रोजगारोन्मुख पाठ्यक्रमले शिक्षालाई जीवन उपयोगी बनाउँछ ।
४. विद्यार्थीकेन्द्रित, सहभागीमूलक, प्रयोगात्मक र प्रविधि-समायोजित शिक्षण विधिले शिक्षाको गुणस्तर बढाउँछ । डिजिटल प्रविधि, अनलाइन स्रोत, मल्टिमिडिया सामग्रीको प्रयोगले शिक्षणलाई आकर्षक र प्रभावकारी बनाउँछ । विद्यार्थी जिज्ञासु, अनुशासित र सिक्न इच्छुक छन् भने सिकाइको प्रभावकारिता उच्च हुन्छ । त्यसका लागि उनीहरूलाई प्रेरित गर्ने वातावरण र अवसर चाहिन्छ । हावर्ड विश्वविद्यालयका अध्ययनहरूले बालबालिकाको सिकाइमा वातावरणको प्रभावलाई महत्त्वपूर्ण ठहर गरेका छन् ।
५. विद्यालयको नेतृत्व पारदर्शी, दूरदर्शी तथा शिक्षाप्रति संवेदनशील भएमा गुणस्तरीय शिक्षाको सम्भावना उच्च हुन्छ । अभिभावक, शिक्षक र समुदायबीच समन्वयपूर्ण सम्बन्ध नेतृत्वको सफलता हो । विद्यालय एक संस्थागत प्रणाली हो, जसले शिक्षालाई संरचित, नियमित र दिगो बनाउने कार्य गर्छ । Michael Fullan ले आफ्नो चर्चित पुस्तक Leading in a Culture of Change मा विद्यालय नेतृत्वलाई केवल प्रशासनिक कार्यमात्र होइन, दृष्टिकोण, सम्बन्ध व्यवस्थापन, नवप्रवर्तन तथा दिगो सुधारको सशक्त चालक हो भनेका छन ।
६. शिक्षा केवल विद्यालयको जिम्मा होइन, परिवार र समुदायको सक्रिय सहभागिताले नै बालबालिकाको सिकाइलाई सबल बनाउँछ । अभिभावक बालबच्चाका पहिलो गुरु हुन् । Epstein द्वारा प्रस्तुत अभिभावक संलग्नताको रूपरेखा शिक्षामा अभिभावकको भूमिकालाई पालनपोषण, संवाद, स्वेच्छिक सहभागिता, घरमै सिकाइ, निर्णयमा सहभागिता, र समुदायसँग सहकार्यमा विभाजन गरेर व्याख्या गरिएको एक प्रभावशाली दृष्टिकोण हो । नेपालको सन्दर्भमा पनि यो रूपरेखा नीति निर्माण, कार्यान्वयन, र स्थानीय विद्यालय सुधारमा मार्गदर्शक बन्न सक्छ ।
७. शिक्षाको गुणस्तरमा नीतिगत स्पष्टता, बजेटको सुनिश्चितता, अनुगमनको प्रभावकारिता र शिक्षामा समान पहुँचको सुनिश्चितता अत्यावश्यक हुन्छ । शिक्षाको विकेन्द्रीकरण र स्थानीय स्तरको स्वामित्वले नतिजामूलक शिक्षा सम्भव हुन्छ । यी सबै तत्वहरू एक आपसमा तालमेलमा रहँदा मात्र शिक्षा साँचो अर्थमा गुणस्तरीय हुन्छ ।
शिक्षाको गुणस्तर सुधारका प्रयासहरू
नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत तह सम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तह निःशुल्क शिक्षा पाउने हक हुनेछ भनी भएको व्यवस्थालाई साकार पार्न सार्वजनिक शिक्षाको पहुँच विस्तार र गुणस्तर सुधार हुन आवश्यक छ । नेपालमा शिक्षामा पहुँच उल्लेखनीय रूपमा वृद्धि भए पनि गुणस्तर अझै चुनौतीपूर्ण विषयका रूपमा रहँदै आएको छ ।
शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ राष्ट्रिय शिक्षा नीति २०७६ लागू गरिएको छ । यस नीतिले समावेशी, व्यवहारमुखी, प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमुखी, र उत्पादनमुखी शिक्षा प्रणाली निर्माण गरी शिक्षित, सभ्य, स्वस्थ, र सक्षम जनशक्ति उत्पादन गर्ने तथा सामाजिक न्याय, समावेशिता, रुपान्तरण र समृद्धिको मार्ग प्रशस्त गर्ने लक्ष्य राखेको छ।
शिक्षा प्रणाली सुधारका लागि शिक्षा नीतिको अद्यावधिक सुधार, संघीय संरचनाअनुसार शिक्षा प्रशासनको पुनःव्यवस्थापन, शिक्षक तालिम, प्रेरणा भत्ता, र पदोन्नति प्रणाली, विद्यालय पूर्वाधार विकास, स्मार्ट क्लासरूम र डिजिटल सामग्रीको प्रयोग, सीपमूलक तथा समावेशी पाठ्यक्रमको विकास, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको सशक्तीकरण, छात्रवृत्तिको पहुँच वृद्धि, सार्वजनिक निजी साझेदारी कार्यक्रमहरू सञ्चालनमा आएका छन् ।
रामेछापको दुर्गम क्षेत्रमा सञ्चालित ‘सोलार विद्यालय परियोजना’ अन्तर्गत सौर्य ऊर्जाको माध्यमबाट डिजिटल शैक्षिक सामग्री प्रवाह गरिँदैछ । यसले ग्रामीण भेगका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच पुर्याउने अवसर प्रदान गरेको छ। जनकपुरमा सञ्चालित ‘कम्युनिटी लर्निङ सेन्टर’ मोडलले समुदायको सहकार्यमा पुस्तकालय, कम्प्युटर प्रयोगशाला र विभिन्न तालिम केन्द्रहरू स्थापना गरी सिकाइको गुणस्तरमा उल्लेखनीय सुधार ल्याएको छ । यसको प्रत्यक्ष प्रभाव स्वरूप महिलाहरू, किशोरीहरू र युवा वर्गको शैक्षिक सहभागिता र उपलब्धिमा सकारात्मक वृद्धि भएको छ ।
गण्डकी प्रदेशमा सञ्चालित CTEVT सम्बन्धित प्राविधिक शिक्षालयहरूले स्थानीय स्तरमै सीपमूलक शिक्षा प्रदान गरी रोजगार सिर्जना गरिरहेका छन् । यसको परिणामस्वरूप युवाहरू गाउँमै रोजगार पाउन थालेका छन् ।
शिक्षाको गुणस्तरमा अपेक्षित सुधार ल्याउन अन्तराष्ट्रिय अभ्यासहरुलाई पनि अध्ययन गर्नु पर्छ । फिनल्याण्डले शिक्षा प्रणालीमा ‘गुणस्तर शिक्षा, समृद्ध समाज’ कार्यक्रम अन्तर्गत शिक्षकको तयारीमा कडाइ, बालमैत्री शिक्षण पद्धति, र परीक्षा-केन्द्रित प्रणालीबाट टाढा रहने नीति लागू गर्यो । यसले देशलाई उच्च साक्षरता दर, न्यून बेरोजगारी दर, र आर्थिक स्थायित्व हासिल गर्न मद्दत गरेको छ । परिणामस्वरूप, फिनल्याण्ड OECD को PISA परीक्षणमा लगातार शीर्ष १० मा पर्दै आएको छ । दक्षिण कोरियाले सन् १९६० पछि शिक्षामा व्यापक लगानी गर्दै शिक्षामा केन्द्रित राष्ट्रनीति अवलम्बन गर्यो । उच्च शिक्षित जनशक्ति उत्पादन गर्न सक्षम भयो, परिणामस्वरूप सामसुङ, हुन्डाइजस्ता नवप्रवर्तनशील अन्तर्राष्ट्रिय कम्पनीहरू स्थापना भए । शिक्षामा जोड दिएकै कारण आज दक्षिण कोरिया विश्वका अग्रणी अर्थतन्त्रहरूमध्ये एक बनेको छ ।
निष्कर्ष:
गुणस्तरीय शिक्षा कुनै पनि राष्ट्रको समृद्धि, स्थायित्व र सामाजिक न्यायको आधारस्तम्भ हो । शिक्षाले व्यक्तिको बौद्धिक विकास मात्र होइन, उसको सामाजिक, आर्थिक र नैतिक चेतनालाई समेत परिमार्जन गर्दछ । तर, गुणस्तर सुनिश्चित गर्न शैक्षिक नीति, पाठ्यक्रम, शिक्षक क्षमता, भौतिक पूर्वाधार, र सामाजिक सन्दर्भहरूमा समन्वित सुधार आवश्यक छ । गरिबी, लैङ्गिक भेदभाव, जातीय विभेद, र अभिभावकको न्यून संलग्नता जस्ता अवरोध हटाई शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्नुपर्छ । गुणस्तरिय शिक्षा कुनै निश्चित तत्वमा मात्र आधारित हुँदैन; यो एक जटिल, बहुआयामिक प्रक्रिया हो जसले सम्पूर्ण शैक्षिक प्रणालीलाई समेट्छ ।
अन्तर्राष्ट्रिय मापदण्डहरू अनुसार शिक्षक, पाठ्यक्रम, वातावरण, मूल्याङ्कन र नीति सबै पक्षको सशक्तिकरण अपरिहार्य हुन्छ । विशेष गरी विकासशील राष्ट्रहरूमा गुणस्तर वृद्धिका लागि पहुँच र समानतासँगै सामग्री र प्रक्रियाको नवप्रवर्तन अत्यन्त आवश्यक छ । राष्ट्र समृद्धिको बाटोमा अघि बढ्न चाहन्छ भने शिक्षालाई प्राथमिकता दिनु पर्दछ त्यसमा पनि ‘गुणस्तरयुक्त शिक्षा’ लाई । समावेशी, नवप्रवर्तनशील, र उत्तरदायी शिक्षण प्रणाली विकास गरेर मात्र हामी दीगो विकास र समतामूलक समाजको निर्माण गर्न सक्छौं ।
(लेखक गण्डकी बोर्डिङ स्कूल र गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स पोखराका पूर्व प्राचार्य हुन्।)