
महाभारतमा जसरी जिज्ञासा र चाहनाहरूको जवाफ समयले दिँदै जान्छ, त्यस्तै मेरो मनमा उठेका ज्वारभाटाको जवाफ पनि समयले दिँदै गएको महसुस भएको छ।
जिन्दगीमा भौतिक र मानवीय सुखको खोजीमा लिप्त भएका मानिसलाई अहिले सायद एकछिन टक्क अडिएर विगत सोच्ने फुर्सद छैन। तर, आज ती दिन सम्झिएको छु। सम्झिएको छु– समाज र गाउँ अनि बिताएका पल जहाँ मेरो बाल्य र किशोरावस्था वितेको थियो। जहाँ मेरो पाइलाले पहिलो पटक पृथ्वी र मानवीय मूल्यको ठाउँ भेटेको थियो। त्यही भएर त यो गीत मेरो प्यारो बन्यो, मोबाइलमा आजकल कता–कता बेलुका सुत्ने बेलामा होस् या एकान्तमा टहलाउँदा किन नहोस्।
‘म मरे पनि मलाई मेरो देशको माया छ
यो छातीभरि मुरीका मुरी नेपालको माया छ
म खेले जहाँ म हुर्के जहाँ त्यही आँगन प्यारो छ
यो छातीभित्र लुकेर आउने माया नै माया छ’
लक्ष्मण लोहनीका यी शब्दलाई चन्द्रराज शर्माले गरेको संगीतमा स्वरसम्राट् नारायण गोपालले जति मर्मस्पर्शी र कालजयी बनाउनुभएको छ, नेपाली संगीतलाई सायद अब कहिले फेरि यस्ता मर्मस्पर्शी र यथार्थपरक संगीतले सुगन्धित बनाउला!
समग्रमा गीतले मेरो देशमा मैले बिताएका बाल्यकाल र किशोरावस्थालाई झलझली मात्र बनाएको छैन, अहिले पनि मेरो मथिंगल हल्लाएको छ। नराम्रोसँग जीवन र मैले बिताएका पललाई जिस्क्याएको छ। र, मैले बाँचिरहेको संसारलाई र अनेकथरी प्राप्तिका लागि भौंतारिरहेको दुनियाँलाई दुत्कारेको छ।
मेरो गाउँ–घर र म हुर्किएको खेलेको आँगन सायद आनन्दको स्वर्ग इज्जतको धरोहर अनि मेरो म हुनुको आभाष दिने वास्तविक विश्व थियो। तर, समय र इच्छाले मैले त्यो संसारभन्दा कतै टाढा गन्तव्य रोजेँ। रोजगारी, शिक्षा, उपचार आदि इत्यादि कारणले दायाँ बायाँ भएँ। त्यो यथार्थ र वास्तविकतालाई पनि भुल्नु हुन्न।
मलाई यी सब कुराको सायद समयले जवाफ दिइरहेको छ। समयले त्यही माटो, ठाउँ परिवेश प्यारो लाग्ने बनाएको छ। म मात्र होइन, अहिले यस्तो सोच्ने विश्वका धनाढ्यदेखि शहरका गल्लीमा भौंतारिरहेका अनेकहरूको कथा हो। केही समयअघि विश्वकै धनी बिल गेट्सले आफ्नो सम्पूर्ण सम्पत्ति दान गर्ने घोषणा गरे।
सायद मलाईजस्तै उनलाई पनि विश्वमा बढेको भोकमरी, लडाइँ हानथापले सकिरहेको मानवीय मूल्य–मान्यताका लागि थौरै भए पनि योगदान गर्न मन लाग्यो होला। उनले गरेको त्याग यो विश्वले कहिले थाहा पाउँछ, थाहा छैन। उनले जस्तो त्याग्ने त फेरि मसँग केही पनि छैन। तर, मन–मस्तिष्कमा मानवीयताको बीजलाई भने मैले सँगालिरहेको छु। र, यही मानवीयता र भावनाको चोटले मलाई घोत्लिन विवश बनाएको छ।
ग्रामीण परिवेश रहन–सहनले गाउँलाई सम्झनेहरूको संख्या यो सहरमा अत्यधिक छ। उनीहरू मजस्तै बाध्यता र विवशताले फेरि पनि यही कोलाहलमा समय कटाउन विवश छन्।
गाउँ र समाजसँग जोड्ने अनगिन्ती तरंग अहिले मेरो नजरको विस्मृतिमा ताजा भएर आउँदा भावुक र निष्प्रभावी अनुभव गर्छु। तर, समयले मलाई बाहिर पठाएजस्तै अहिले समयले गाउँलाई गाउँ रहन दिएको छैन। पहिलाको आर्थिक/शारीरिक दुःखलाई मात्र सम्झने होइन, त्यहाँ परम्परा थियो, गीत थियो। अनि संस्कृति थियो। सबै–सबै थियो। तर, अहिले नयाँपनले त्यो समाज र संस्कृति र एकआपसमा सहयोग, भाइचाराहरूलाई लुप्त बनाइदिएको छ।
पूर्वाधार र विकासले गाउँमा अहिले बाटो र मोटर मात्र पुगेको छैन। बियर, ह्विस्की, ड्यु र जंकफुड र प्लास्टिकले खोलानाला भरिएका छन्। समाज अराजकता र असमझताको ठूलो उदाहरण बनेको छ।
विकास, सभ्यता र आधुनिकताको नाममा गाउँमा विकृति विनाश र मानवीयता हटेको छ। विकासको तुलनामा मानवीय मूल्य निम्छरो बनेको छ।
विकासले मासेको संस्कृतिको हिस्सा ठूलो छ। हामी देखासिखीमा अग्रपंक्तिमा छौँ। हामी रोजगारी भएन, बेरोजगार बढ्यो भनेर सरकार वा राज्यलाई दोष दिन्छाैँ तर आफ्नो आँगनको झाडी फाँड्नसमेत राज्यको मुख ताक्ने भएका छौँ।
आफ्नो तर्फबाट राज्यलाई के नै पहल र अग्रसरता देखाएका छौँ र? नेपाल कृषि प्रधान देशका रूपमा स्थापित मानक पनि भत्काएका छौँ। नेपाली, कृषिमा निर्भर हुन सकेका छैनौँ। भात खानकै लागि चामल आयात गर्छौं। तैपनि, हाम्रो मुख्य आयस्रोत भनेको कृषि नै हो भन्छौँ।
समय क्रमसँगै पिछाडिएको र पिल्सिएको वर्गका लागि भन्दै माओवादीले हतियार उठायो। १० वर्ष लामो द्वन्द्वले के–कति उत्पीडित वर्गले मुक्ति पाए या पाएनन् तर नवधनाढ्य र सुकुलगुण्डाको राजले पेसा, धर्म व्यवहार र परम्परामाथि धावा भने अवश्य बोल्यो।
अहिले त प्रकृति पनि हाम्रो अनुकूल छैन। कति धेरै बाध्यता र विवशताले मानिसलाई उजाड बनाइरहेको छ। ०७२ सालको भूकम्पपछि एउटा त्यस्तो निरन्तर इतिहासको कालखण्ड बन्यो जसले अब आउने हरेक मौसमी परिवर्तनले प्रतिकूल वा प्रलयकारी कथा बनेर हामीलाई तड्पाइरहेको छ।
अचेल सपनीमा घरले बोलाउँछ, गाउँले बोलाउँछ। समाज र तल्लाघर माथ्लो घरका काकी, बडेमा ठूलेमाहरूको यादले सताउँछ। जंगलमा घन्किने सुरेली भाकाले झस्काउँछ। सायद अब मानिसहरू प्रकृतिको नजिक हुन खोजिरहेका छन्। अहिले सहरका कंक्रिट छाडेर जंगली चराचुरुंगीको आवाज प्यारो लाग्न थालेको छ।
करोडौँ लगानीको बाटो, पुल, गगनचुम्बी आलिसान बंगलामा बस्नेहरूको अमन–चयन र सुख–शान्ति पनि क्षणिक बन्दै गएको छ। मानिसमा उदासीपन मात्र भेटिन्छ। अर्बौंको सम्पत्ति, घर, गाडी, भ्रमण सब भएर पनि खै खुसी केलाई मान्ने? किन एकान्त खोज्न विवश छ मानिस? किन र केका लागि भौंतारिएको हो ऊ आफैँ भेउ पाउन सकिरहेको छैन।
अनि अर्कोतर्फ आफ्नो जीवनमा खान र लाउनका लागि आर्थिक जोहो गर्न बिदेसिनेहरूको कथाको फेहरिस्त र तिनलाई लुट्न पल्किएकाहरूको कथा झन् कारुणिक छ। बिदेसिएकाहरूले पठाएको रेमिटेन्सले जग्गाको मूल्य अकासियो। रेमिट्यान्सबाट दु.ख गरेर आर्जेको पैसा सहरको रहनसहनका लागि जीवनभरको कमाइ खर्चिने परम्परा बन्यो। चाहेर वा नचाहेर देखासिखीमा जीवनस्तर भड्किलो बन्दै गयो।
जिउनकै लागि स्वदेशमा पसिना बगाउनेहरूको रामकहानी बेग्लै छ। उनीहरूको गतिविधि किन हरिबिजोग बन्दै गयो? किनकि राजधानीनजिकै रहेका धादिङ, गोर्खा, नुवाकोट, सिन्धुपाल्चोक चितवनलगायत जिल्लाका किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीले बजार नपाउनुले पनि मन अमिलो बनाउँछ।
साग–सब्जी अन्न, दुग्ध पदार्थले बजार नपाएपछि उनीहरू आफ्नो दुःख सुनाउन बेलाबखत सडकमा दूध, गोलभेडा फाल्ने, फर्सी, बन्दा खाडलमा पुर्नेजस्ता बेला–बेला हुने गरेका यस्ता घटनाले किन छुँदैन सम्बन्धित निकाय वा साशनसत्ताको वागडोर सम्हालेर बसेकाहरूलाई? के ती कृषि उपज जो सत्ताधारी वा सर्वसाधारण हरेकको भातभान्सामा अनिवार्य पुग्ने गर्दैन र?
यसतर्फ उनीहरूलाई ध्यान दिने त परको कुरा जीवन जिउन संघर्ष गर्नेहरूलाई लुट्नमै फुर्सद छैन। राज्य भएर पनि राज्यविहीनता महसुस गरिरहेको छ गरिखाने वर्ग।
विकास निर्माण बसाइँ सराइको गति समाजमा थोरै समयको अन्तरालमा मानवीय सोच, चेत दैनिक जीवनयापनको शैली र व्यवहारमा तुलनात्मक रूपमा अतुलनीय परिवर्तन आएको पक्कै हो।
यो नकार्न सकिन्न, जीवनशैली बदलिएको छ। शिक्षाको स्तर बढेको छ, शारीरिक श्रम, परिश्रम र धेरै मिहिनेतले गर्ने कामको तौरतरिकामा आधुनिक उपकरण औजारको प्रयोगले सहजता ल्याएको छ।
तर, हामीले पुख्र्याैली पेसा व्यवसायलाई आधुनिक विकास र परिवर्तनको बहानामा मारिरहेका छौँ। आफ्नै मौलिक पेसा, व्यवसाय, परम्परा र नैतिकता सबै गुमिसकेको छ। हाम्रो आफ्नै सुगन्धका नाइ, कुमाल, सिकर्मी, सिलाइ–कटाइ मेलापात, भारो–पर्मलाई अब कस्मेटिक आधुनिकतामा रुपान्तरित गरेका छौँ।
गाउँघरमा पर्यावरण र प्रकृतिसँग सामीप्यका रूपमा मानिने माटोको घर अँगेनो, दाउरा चुलोको चलन हराउँदै गएको छ। गाउँ गाउँमा ग्यास र कंक्रिटका घरले स्थान ओगटेको छ। हाम्रा परम्परागत चिनारीका रूपमा रहेका घुम, डोरी, नाम्लो, गजेरा, डोका, भकारी, गुन्द्री, पिरा, राडी–पाखी आदि अबको पुस्ताले सायद किताबको पानामा मात्र भेट्टाउनेछ।
बटुवाले बास पाउने घरहरू अहिले अन्कन्टार बनेका छन्। आफूले आफूलाई उन्नति–प्रगतिको फड्को मार्ने नाममा ल्याएको विकृति र कमजोरीका पाटा हुन सक्छन्। जसले गर्दा म अहिले ती अतीतलाई सम्झिन बाध्य भएको छु। यसलाई मैले विकास मान्न सकिरहेको छैन। किनकि मेरो मनले यसलाई विकासभन्दा बढी विनाश देखिरहेको छु।
अहिले गाउँमा आफूले बिताएका पलले खोजिरहेका छन्। मेरा सहेलीहरू हलगोरु जोत्ने सहकर्मीहरू अनि अर्म–पर्ममा आली र ऐँचला गर्ने साथीभाइहरू अनि पँधेरोमा गुञ्जिने लोकभाका अनि ती असारे गीत र दोप्परेहरू, चौतारीमा ढाकर बिसाएर बस्ने भरियादाइहरू।
यिनै सम्झनाले होला- अचेल सपनीमा घरले बोलाउँछ, गाउँले बोलाउँछ। समाज र तल्लाघर माथ्लो घरका काकी, बडेमा ठूलेमाहरूको यादले सताउँछ। जंगलमा घन्किने सुरेली भाकाले झस्काउँछ। सायद अब मानिसहरू प्रकृतिको नजिक हुन खोजिरहेका छन्। अहिले सहरका कंक्रिट छाडेर जंगली चराचुरुंगीको आवाज प्यारो लाग्न थालेको छ। सायद बिदाको दिन त्यही भएर मानिसहरू अहिले सहरभन्दा कतै टाढा जान चाहन्छन्। प्रकृतिमा हराउन चाहन्छन्। जिन्दगीको सादगीपनमा आफ्नो अस्तित्व खोज्न चाहन्छन्।
खर्चिलो कथा र जिन्दगीले आनन्द खोज्दा खोज्दै भित्र्याएको रोगका कथा आफैँमा अविछिन्न छन् आलेसान बिल्डिङमा ऐय्या र आत्थाको आर्तनादबाट टाढा–टाढा गाउँको सम्झनाले मन भत्भती भएको छ। सायद जिन्दगीका केही वसन्त फेरि गाउँघर र साथीसंगीसँग रमाउन चाहन्छ।