 
                            काठमाडौं- विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा सोमबारबाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले घरेलु टोलीमाथि रोमाञ्चक जित हासिल गरेको छ। नेपालले सोमबार राति सम्पन्न खेलमा स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै महत्वपूर्ण २ अङ्क जोड्न सफल भयो।
अन्तिम बलमा १ रन चाहिँदा मार्क वाटले वाइड बल फाल्न पुग्दा नेपाल विजयी भयो। स्कटल्यान्डलाई हराएसँगै नेपालका प्रशिक्षक स्टुआर्ट लले पनि प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भए। जितपछि नेपाल युएइलाई पछि पार्दै १३ खेलबाट ८ अङ्क बनाएर सातौं स्थानमा उक्लिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले दिएको २ सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले १ बल बाँकी हुँदा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। नेपालका लागि करण केसीले सर्वाधिक ६५ रनको अविजित इनिङ खेले। उनले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए।
उनी बाहेक ओपनर कुशल भुर्तलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन बनाउँदा आसिफ शेख २० रनमा आउट भए। त्यस्तै भिम सार्की ४० रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ३७ रन बनाएका थिए। यि बाहेक गुल्सन झाले ४२ रन बनाउँदा नवौं नम्बरमा ब्याटिङका लागि आएका करण केसीनै जितका लागि नायक सावित बनेका थिए। केसी र झा बिच आठौं विकेटका लागि ६० रनको साझेदारी गरेका थियो। स्कटल्यान्डका ब्रान्डन म्याकमुलनले ३ विकेट लिएपनि टिमको हार टार्न सकेनन्। उनी बाहेक ज्या जार्भीस र माइकल लिस्कले समान २-२ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो। स्कटल्यान्डको प्रतिस्पर्धात्मक स्कोरमा ओपनर चार्ली टियरले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ८० रन जोड्दा फिनाली म्याक्राथले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, म्याथ्यु क्रसले ३९ रन बनाउँदा माइकल लिस्कले १८ रन बनाएका थिए। मार्क वाटले १० रन बनाएका थिए।
त्यस्तै, जर्ज मुन्सीले १२ रन बनाउँदा ब्रान्डन म्याकमुलन १९ रनमा पेभिलियन फर्किएका थिए। कप्तान रिची बेरिङ्गटन ४० रन बनाएर आउट भएका थिए। नेपालका लागि रिजन ढकाल, करण केसी, सोमपाल कामीले समान २-२ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिएका थिए।

 
                                                                             
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































