
खै कता पाउनू वाग्मतीको जल?
तोयको ठाउँमा बग्छ मात्रै मल!
हेर तिम्रो सहर्को दशा दुर्बल!
आज के ले पस्यो बस्ती भित्रै ढल??
बस्ती आफ्नो खडा गर्दछौ, मानव
रुख भेटेजति ढाल्दछौ, हा सब!!
धर्ती मासे पछि चन्द्रमा उक्लिने?
जुक्ति यो आत्मघाती छ रे जान हे !!
कार चिल्ला चढी, राजसी शानमा
गर्दछौ मस्तीमा कार्बनोत्सर्जन
पेय ठण्डा लिँदै प्यास तिम्रो बुझ्यो
हेर, पर्यावरण्, दिन्दिनै मुर्झियो !
ज्ञान बिस्तारभै विश्वमा फैलदा
खै कता लुप्त भो बुद्धि औ दर्शन?
ज्ञानविज्ञानको एउटै सार हो
पूर्ण ब्रम्हाण्डमा विश्व आधार हो।
हो सबैको हुने विश्व यो उत्तिकै
जन्तु कस्तै हवस् वन्य या बस्तिकै
आफनू स्वार्थको तुष्टिहेतू,सुन!
नास वातावरण् को नगर्नु अब।
गीत गाई चरी भन्दछिन् बास्न द्यौ!
मौनतामै तरू भन्दछिन् बाँच्न द्यौ!!
यी नदी कन्दरा सम्पदा तीर्थ हुन्!
स्वच्छ हावा सबै प्राणका तत्व हुन्!
रूख बढ्दै गरुन् फूल फुल्दै गरुन्!
जीव रम्दै गरुन्, नद्द्य बग्दै गरुन् !!
सिर्जनामा सुधा भावना पोखिद्यूँ!
आज मान्छे बनी श्रृष्टि यो गाँसिद्यूँ!!