
साहित्यकार रवीन्द्र समीरको चर्चित लघुकथा संग्रह ‘अणु र पहाड’को दोस्रो संस्करण प्रकाशित भएको छ। ५६ वटा चोटिला लघुकथा संग्रहित उक्त पुस्तक पैरवी बुक हाउसले बजारमा ल्याएको छ।
अणुले जीवनको सूक्ष्मतालाई जनाउँछ भने पहाडले जीवनको विशालतालाई। जीवनको यस्तै सूक्ष्मता र विशालतालाई अणु र पहाड लघुकथा संग्रहमा सुन्दर ढंगले संयोजन गरिएको बताउँछन् लेखक समीर। अणु र पहाडका हरेक लघुकथाले केहि मिनेटको पढाइमा जीवन र जगतका असंगत पक्षलाई उजागर तथा प्रहार गरेका छन्।
रवीन्द्र समीरका मृत्युको आयु, एकलब्यदृष्टि, अर्जुनदृष्टि, ईश्वरका कथा, भूकम्पमा मल्हमपट्टी, कोरोनातन्त्र, पैसाको उडान लगायतका १४ वटा साहित्यिक पुस्तक प्रकाशित भएका छन्।
उनले पद्मश्री साहित्य पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवाबर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विद्याभुषण पदक लगायत दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्।
थोरै शब्दमा धेरै कुरा भन्न सकिने लघुकथा विधा आजको व्यस्त तथा डिजिटल युगमा धेरै पढिने विधा भएको पैरवी बुक हाउसका निर्देशक चन्द्र सिवाकोटीले भने।