
झापा- झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ नारायणचोकमा एउटा निजी कम्पनीले अलकत्राको प्लान्ट राख्ने कोशिस गरेपछि स्थानीयबासीले विरोध गरेका छन्।
केही बर्षदेखि एउटा क्रसर उद्योगबाट निस्किएको प्रदूषणको मार खेप्दै आएका त्यहाँका स्थानीयबासी अलकत्रा प्लान्टको विरोधमा उत्रिएका हुन्। उनीहरूले कुनै पनि हालतमा त्यहाँ उक्त प्लान्ट सञ्चालन गर्न नदिने बताउँदै आएका छन्।
प्लान्ट राख्नका लागि केही सामाग्री राख्न थालिसकिएको छ। स्थानीयबासी भन्छन्, ‘मकैबारी हुन्जेल हामीले देखेनौं। तर जब मकैबाली निकालियो अनिमात्र हामीले त्यहाँ अलकत्रा प्लान्ट राख्नका लागि सामाग्री देख्यौं।’
सोही प्लान्टको विरोध गर्दै स्थानीयबासी ७२ जनाको सही गरेर प्लान्ट सञ्चालन गर्न अनुमति नदिन अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्द खतिवडालाई ज्ञापन पत्रसमेत बुझाइसकिएको छ। तर नगरपालिका कार्यालयले अनुमति दिइहाल्छ कि भन्नेमा उनीहरू संशकित बनेका छन्।
वडाध्यक्ष खतिवडाले भने, ‘स्थानीयबासीका विरुद्धमा नगरपालिका वा वडा कार्यालय जान सक्दैन। त्यसैले बस्तीलाई गम्भीर असर पुग्ने किसिमको कुरामा अनुमति दिन म चाहिँ सक्दिन।’
प्लान्ट सञ्चालकहरूले भने नगरपालिकाका जनप्रतिनिधिलाई अनुमतिका लागि दबाब दिइरहेका स्थानीयबासीको आरोप छ। स्थानीयबासी बसन्त मल्लका अनुसार धेरै पटक नगरपालिका मेयरले छलफल पनि राखेका थिए। मेयर बलदेव गोम्देनले स्थानीयबासीलाई प्लान्ट स्थापनाका लागि अनुरोध गरेका थिए। तर, स्थानीयबासीले मानेका छैनन्।
अलकत्रा उद्योगले मानव स्वास्थ्यमा कस्तो असर गर्छ?
अलकत्रा उद्योगले मानव स्वास्थ्यमा विभिन्न गम्भीर नकारात्मक असरहरू पार्न संभावना हुन्छ।
यो पेट्रोलियम पदार्थको प्रशोधनबाट प्राप्त हुने एक प्रकारको चिपचिपा पदार्थ हो, जसको प्रयोग मुख्यतया सडक निर्माण, छतको निर्माण र जलरोधक सामग्रीको रूपमा गरिन्छ।
अलकत्रालाई तताउँदा वा प्रशोधन गर्दा विभिन्न हानिकारक रसायनहरू वायुमण्डलमा निष्कासित हुन्छन्, जसले मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ।
अलकत्रालाई तताउँदा वाष्प र धुवाँ निस्कन्छ, जसमा पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन, सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र अन्य वाष्पशील जैविक यौगिकहरू हुन्छन्। यी पदार्थहरू श्वासप्रश्वास प्रणालीमा प्रवेश गर्दा दम, ब्रोन्काइटिस, खोकी, घाँटीमा जलन र श्वासप्रश्वासमा कठिनाइजस्ता समस्याहरू निम्त्याउन सक्छन्।
फोक्सोको समस्या, छाला र आँखामा असर, आँखामा जलन, क्यान्सरको जोखिम, मुटु र रक्तसञ्चार प्रणालीमा असर, प्रजनन स्वास्थ्यमा असर तथा स्नायु प्रणालीमासमेत गम्भी असर पुग्ने वातावरणविद्हरू बताउँछन्।
त्यतिमात्र होइन, अलकत्रा उद्योगले वातावरण र मानव स्वास्थ्य दुवैमा गम्भीर असर पार्ने हुनाले यसको व्यवस्थापनमा विशेष सावधानी अपनाउनु आवश्यक रहेको उनीहरूको भनाइ छ। तर यी समस्याको कुनै ख्याल नगरी अर्जुनधारा ७ नारायणचोकमा अलकत्रा उद्योग स्थापना गर्न खोजिएको देखिन्छ।
मेयर गोम्देनले नगर क्षेत्रमा चालु योजना सम्पन्न गर्नका लागि उद्योग स्थापनाको पहल गरिएको बताए। आफूले धेरै पटक स्थानीयबासीलाई अस्थायी रुपमा सञ्चालनका लागि अनुरोध गरेको स्वीकारे। तर स्थानीयबासी नै विरोधमा उत्रिएपछि अलकत्रा उद्योगलाई सञ्चालनको अनुमति नदिने उनले बताए।
उनले भने, ‘मैले धेरै सडक बन्नुपर्ने छ भनेर अनुरोध गरें। उहाँहरूले विरोध गर्नु भयो। विरोध हुँदा हुँदै उद्योग सञ्चालन गर्ने अनुमति दिने कुरा आउँदैन।’
तर सञ्चालनको अनुमति नै नपाइ उद्योग स्थापना गर्ने भनिएको स्थानमा उद्योगका लागि सामान भने दिनहुँ थपिने क्रम जारी रहेको स्थानीयबासीले बताएका छन्।
कानुनी व्यवस्थाः
उद्योग दर्ता र सञ्चालन सम्बन्धी कानुन:
उद्योग ऐन, २०७६: यो ऐनले औद्योगिक प्रतिष्ठानहरूको स्थापना, सञ्चालन र व्यवस्थापन सम्बन्धी व्यवस्था गर्दछ। अलकत्रा उद्योगलाई यस ऐनअन्तर्गत दर्ता गर्नुपर्छ। उद्योगको प्रकृति (साना, मझौला वा ठूला) अनुसार दर्ता गर्ने निकाय (उद्योग विभाग वा प्रदेश/स्थानीय उद्योग कार्यालय) फरक पर्न सक्छ।
उद्योग तथा लगानी प्रवर्द्धन नियमावली: यसले उद्योग दर्ता, लाइसेन्स र सञ्चालनका विस्तृत प्रक्रियाहरू तोकेको हुन्छ।
वातावरणीय प्रभाव मूल्याङ्कन (EIA/IEE) सम्बन्धी कानुन:
वातावरण संरक्षण ऐन, २०७६: यो ऐनले कुनै पनि परियोजना सञ्चालन गर्दा वातावरणमा पर्ने प्रभावको मूल्याङ्कन अनिवार्य गरेको छ।
वातावरण संरक्षण नियमावली, २०७७: यो नियमावलीले वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) वा प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को प्रक्रिया र मापदण्ड तोकेको छ।
प्रारम्भिक वातावरणीय परीक्षण (IEE): सामान्यतया मझौला प्रकृतिका उद्योगका लागि IEE आवश्यक पर्छ। यसमा परियोजनाको वातावरणीय प्रभावको सामान्य अध्ययन गरिन्छ।
वातावरणीय प्रभाव मूल्याङ्कन (EIA): ठूला वा संवेदनशील क्षेत्रमा स्थापना हुने अलकत्रा उद्योगका लागि विस्तृत EIA प्रतिवेदन अनिवार्य हुन्छ। यसमा परियोजनाको वातावरणीय, सामाजिक र आर्थिक पक्षको गहन विश्लेषण गरिन्छ।
EIA वा IEE प्रक्रियामा सार्वजनिक सुनुवाइ (Public Hearing) अनिवार्य हुन्छ, जहाँ स्थानीय प्रभावित समुदाय र सरोकारवालाहरूको राय, सुझाव र विरोधलाई समेटिन्छ। स्थानीयको समर्थनविना वातावरणीय स्वीकृति पाउन कठिन हुन्छ।
वातावरणीय स्वीकृति वन तथा वातावरण मन्त्रालय वा तोकिएको प्रदेश/स्थानीय वातावरणीय निकायबाट लिनुपर्छ।
स्थानीय सरकार र भूमि सम्बन्धी कानुन:
स्थानीय सरकार सञ्चालन ऐन, २०७४: यस ऐनअनुसार स्थानीय तहले आफ्नो क्षेत्रभित्र उद्योग स्थापना र सञ्चालनको लागि अनुमति तथा सिफारिस दिन सक्छ। अलकत्रा उद्योग स्थापनाका लागि सम्बन्धित वडा कार्यालय र नगरपालिका/गाउँपालिकाबाट सिफारिस तथा अनुमति लिनुपर्छ। स्थानीय तहले बस्तीको घनत्व, विद्यालय, अस्पतालको निकटता र सम्भावित प्रदूषणको जोखिमलाई विचार गरी अनुमति दिन्छ।
भूमि सम्बन्धी ऐन, २०३४ र नियमावली: उद्योग स्थापनाका लागि जग्गाको प्रयोग परिवर्तन (कृषि भूमि औद्योगिक प्रयोजनमा रूपान्तरण) गर्नुपरेमा वा जग्गा अधिग्रहण गर्नुपरेमा यस ऐनका प्रावधानहरू पालना गर्नुपर्छ। औद्योगिक क्षेत्र वा तोकिएको औद्योगिक करिडोरमा उद्योग स्थापना गर्न प्राथमिकता दिइन्छ।
प्रदूषण नियन्त्रण सम्बन्धी कानुन:
वातावरण संरक्षण ऐन तथा नियमावलीले तोकेका प्रदूषण नियन्त्रणका मापदण्डहरू (वायु प्रदूषण, ध्वनि प्रदूषण, फोहोरमैला व्यवस्थापन) पालना गर्नुपर्छ। उद्योगले प्रदूषण नियन्त्रणका लागि आवश्यक प्रविधिहरू जडान गर्नुपर्छ।
अनुमति र अनुगमनका लागि सम्बन्धित वातावरणीय नियामक निकायहरू (जस्तै, वातावरण विभाग) सँग समन्वय गर्नुपर्छ।
श्रम र सुरक्षा सम्बन्धी कानुन:
श्रम ऐन, २०७४: उद्योगमा कार्यरत श्रमिकहरूको हक, अधिकार, सुरक्षा र सेवा सर्त सम्बन्धी व्यवस्था यस ऐनमा उल्लेख छ।
उद्योगले सुरक्षा मापदण्डहरू (कामदारको स्वास्थ्य सुरक्षा, अग्नि सुरक्षा, मेसिनरी सुरक्षा) पालना गर्नुपर्छ।
भवन संहिता र मापदण्ड:
उद्योग भवन निर्माण गर्दा राष्ट्रिय भवन संहिता र स्थानीय तहले तोकेका भवन निर्माण मापदण्डहरू पालना गर्नुपर्छ।