संस्कृतिविद् जगमान गुरुङको दैनिकी अध्ययनका साथै परम्परागत गुरुङ समुदायको रीतिथितिअनुसार पूजाआजा गर्नु हो। हिन्दु धर्म प्रचारक भएकै कारण विश्व हिन्दु महासंघबाट ‘नेपाल ऋषि’ उपाधि पाएका गुरुङले पछिल्लो समय राजसंस्था पुनःस्थापनाको पक्षमा बोल्दै पनि आइरहेका छन्।
कास्की मादी याङ्जाकोटमा जन्मिएका गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति पनि हुन्। उमेरले ७८ बसन्त हिँडेका गुरुङले संस्कृति, इतिहास, अध्ययन अनुसन्धानका साथै राजसंस्था पुनःस्थापनाका बारे देशसञ्चारकर्मीलाई सुनाए।
स्नाकोत्तर गर्दा ‘नेपालको एकीकरणमा गुरुङहरूको भूमिका’ विषयक शोधपत्रले उनलाई चर्चामा ल्याएको थियो। र पारिवारिक विरासतबाट प्राप्त ज्योतिष विद्याप्रतिको रूचिलाई उनले अध्ययनमा बदले र कलकत्ताको विश्व ज्योतिष विद्यापीठबाट ज्योतिषशास्त्रमा विद्यावारिधी गरे। गुरुङले ‘सिनो तिब्बटेन एस्ट्रोलोजिकल सिस्टम एमोङ दि गुरुङ अफ गण्डकी रिजन’मा विद्यावारिधि गरेका हुन्। उनी भन्छन्, ‘बाहुनहरूको संगतमा नपरेको भए सायद म यति पढ्ने थिइनँ। अहिले त गुरुङहरु नै मलाई बाहुन भई हिँड्यो भन्छन्।’
हिन्दु धर्म र संस्कृति अनि इतिहासका बारेमा बोल्दै आएका गुरुङ संस्कृतिको श्लोक खर्ररै भट्याउँछन्। गुरुङ समुदायका यी डाक्टरले खाँटी हिन्दुवादीको प्रवचन दिँदै हिँडिरहेका बेला सिंगो गुरुङ समुदाय बौद्धमार्गीका रुपमा चिनाइरहेको छ। उनी भन्छन्, ‘गुरुङ समुदायबाटै म बहिष्कारमा परेजत्तिकै भएँ।’
आफ्नो थातथलो याङ्जाकोटमा घटस्थापनाको दिनदेखि विजयादशमीसम्म पूजापाठ, कोतपूजा, मौलापूजामा गर्थे र गर्नुपर्ने मत सुनाउँछन्। भन्छन्, ‘मैले जेठाबालाई गुरु मानेर झारफूक सिकेँ। अनि विस्तारै तन्त्रमन्त्र विद्या र ज्योतिषशास्त्रतिर रुचि बढ्यो। अहिले त म घन्टौँ पूजा गर्छु।’
लमजुङका राजा यशोब्रह्म शाहका पालादेखि गुरुङहरूमा हिन्दुविधिले दुर्गापूजा गरेर दसैँ मान्ने र गुरुङहरूलाई नमासिने चोखो मतवाली जात र क्षेत्री–ठकुरीसरह खुँडा हान्ने जातमा दराइदिएको बताए।
नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहलाई सघाउने १८ जनामध्ये एक गुरुङ खलकका सन्ततिका रूपमा चिनिने गुरुङ यतिखेर ‘पृथ्वीपथ’को कुरा बेसी गर्दै आइरहेका छन्। गुरुङले पृथ्वीपथको आवश्यकताका बारेमा स्पष्ट पार्दै २०८२ जेठ १५ गते गणतन्त्र अन्त्य हुने बताएका थिए। ‘गणतन्त्र दिवसमा नै राजा ल्याउन सकिन्थ्यो। हामीले बनाएको ग्राण्ड डिजाइन अनुसार चल्नु पर्थ्याे। राजाको पनि रंगढंग चाहिन्छ। जँघार तर्ने तिघ्रा कमाउने गर्नु हुँदैनथ्यो। हाम्रो राजाको इच्छा नभएको होइन, छ। राजा ११ गते इलाम गएर बस्नुभयो। १३ गते आह्वान गर्नुपर्ने थियो। चियाबारीमा पुगेर आनन्दले बस्ने अनि यहाँ राजा आउँछन्?’
राजाका प्रतिनिधि ‘मीर उमरा’का रूपमा २०३२ सालभन्दा अगाडि लमजुङमा पर्ने तथा ताङतिङ, घ्याम्राङ, याङ्जाकोट, भाचोक, नागिधार र पाख्रीकोट याङ्जाकोटको हर्ताकर्ता उनकै बाउबाजे थिए। त्यसैले पनि उनलाई राजसंस्थाप्रति औधी श्रद्धा र विश्वास छ। तर यो समय राजावादीहरूको आ-आफ्नै स्वार्थमा राजसंस्था फर्काउने कोसिस भए पनि स्वयं राजा गद्दी अभिषेकमा कति तयार छन् त भन्ने बहस पनि चलिरहेको छ। राजालाई बलजफ्ती ल्याउन खोजिएको त होइन? भन्ने प्रश्न पनि जनमानसमा छ।
‘राजसंस्था स्थापनाका लागि गरिएको आन्दोलनमा २५ हजारभन्दा बढी जनता सडकमा उत्रिएका थिए। तर अहिले तुहिएर ५ हजारमा झर्याे। यस्तो हुने हो त?,’ उनले भने।
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक भएर पनि काम गरेका गुरुङ हृदयेन्द्रलाई राजा मान्ने पक्षमा छैनन्। उनका अनुसार राजा ज्ञानेन्द्रकै गद्दी अभिषेक हुनुपर्छ। ‘श्री ५ ज्ञानेन्द्र अब तेस्रो पटक राजा हुनुहुन्छ। गद्दी आरोहण गरी श्रीपेच नपहिरेसम्म उहाँको भौतिक देह अवसान हुँदैन। र मुमा बडामहारानी रत्नको पनि भौतिक देह अवसान हुँदैन,’ उनले भने।
के आधारले यसो भनिएको भन्ने जिज्ञासामा गुरुङले ज्योतिषशास्त्रका आधारमा भने। २०४७ सालको संविधानलाई टेक्ने र सात दल आयो भने आयो आएन भने पनि बहुदलीय प्रजातन्त्र स्थापना गरी राजतन्त्र सदासदाका लागि निरन्तरता दिने कुरा पनि सम्झिए गुरुङले। गणतन्त्रले पहिचानको मुद्दा चर्काएर अहिले सद्भाव र एकता खलबलाएको बताउँछन् गुरुङ।

भर्खरै
लोकप्रिय






































































































































































































