
हुम्ला – सिमकोट हिल्सा खण्डको हालको सडकको बिकल्पका रुपमा निर्माण कार्य सुरु भएको तुम्कोट रङ्गीफुङ हुँदै कोङगुम्वाबाट हिल्साम्मको सडकको निर्माण कार्य रोकिएको छ। कडा चट्टानी क्षेत्रमा सडक निर्माण गर्नुपर्ने र तर हालसम्म बिष्फोटक पदार्थको ब्यवस्था हुन नसकेको कारण काम अगाडी बढ्न नसकेको हो।
पन्द्र दिनदेखि तुम्कोट रङ्गीफुङ हुदै कोङगुम्वाबाट हिल्सासम्मको सडकको निर्माण कार्य रोकिएको निर्माण कम्पनी साङ्गे निर्माण सेवाका प्रतिनिधि छेपाल लामाले बताए। आर्थिक वर्षको अन्त्यतिर आएपनि बिष्फोटक पदार्थको ब्यवस्था हुन नसक्दा काम रोक्नु र विनीयोजित बजेट फिर्ता पठाउनुको बिकल्प निर्माण कम्पनीसंग नभएको हो। बिष्फोटक पदार्थको सिफारिसका लागि जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोली सडक निर्माणस्थलमा एक महिना अगाडी पुगेर बिष्फोटक पदार्थ आवश्यक पर्ने सिफारिस गरेको थियो।
सो बिष्फोटक पदार्थका लागि गृहमन्त्रालयबाट सिफारिस भई सकेको र अहिले नेपाली सेनामा पुगेर रोकिएको उहाँले बताउनुभयो। बल्ल हुम्लाबाट बिष्फोटक पदार्थको फाईल हुम्लाबाट जुम्ला गएको र जुम्लाबाट सुर्खेत हुँदै काठमाडौं पुगेपछि अनुमति आउने जानकारी आएकोले काम गर्न कठिन भएको होे। चार हजार ६७० मिटर उचाईको नारा लेकको सडकको वैकल्पिक मार्गको रुपमा यो सडकको निर्माण कार्य सुरु गरिएको हो।
कडा चट्टानी क्षेत्र भएको कारण विष्फोटका लागि चार सय वटा होल खोप्ने कार्य भए पनि हालसम्म विष्फोटक पदार्थको ब्यवस्था हुन नसक्दा निर्माण कार्य रोकिएको हो। मित्र राष्ट्र चीनको सिमाना जोड्ने सिमकोट हिल्सा सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन र दुरी समेत छोटो पार्न नाम्खा गाउँपालिका– ५ को तुम्कोटबाट हिल्सासम्म वैकल्पिक मार्ग निर्माण गर्न लागिएको हो।
०८२ साल बैशाख ८ गते यो सडकको निर्माणका लागि नाम्खा गाउँपालिकाले निर्माण कम्पनीसं सम्झौता गरेको थियो। यसका लागि यो आर्थिक वर्षमा असी लाख बजेटको ब्यवस्था गरिएको छ। अर्कोतर्फ लिमीको तीलको तैजुङबाट हिल्सातर्फ पनि सडक निर्माण हिल्सा सिमकोट सडक योजनाले निर्माण सुरु गरेको छ। यो सडक निर्माणलाई अब वर्षेनी निरन्तरता योजनाले जनाएको छ। योजनाले यो वर्ष दुई करोड पन्द लाख लागतमा सडकको निर्माण सुरु गरेको छ। नारा लेकमा हिमपात जम्ने भएको कारण पाँँचदेखि छ महिना सडक हिउँदे याममा बन्द हुने गर्छ।
हिल्सा सिमकोट सडक योजनाले वर्षेनी हिउँ फाल्नका लागि बजेट खर्च गर्दै आएको छ। त्यसैगरि हिमपहिरोको कारण सडक पनि भत्किदै आएको छ। यसलाई वर्षेनी मर्मत गर्नु परि रहेको छ। हाल निर्माण सुरु भएको सडकको उचाई तीन हजार १५० मिटर उचाई रहेको छ। यो खण्डको सडक निर्माण भए सधै हिउँ नजम्ने र बाह्र महिना सडक सुचारु हुने नाम्खा गाउपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो। अर्काे कुरा तुम्कोट नारा हिल्सा सडक ३७ किलो मिटर लम्बाई रहेको छ भने यता तुम्कोट रङ्गीफुबाट हिल्सासम्म जम्मा २७ किलो मिटर लम्बाई रहेको छ। यस हिसावले साढे दश किलो मिटर सडक पनि छोटो हुनेछ।