
गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले ४ संगीतकर्मीलाई नगदसहित सम्मान गरेकाे छ।
स्वर्गीय प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा नगद १ लाख १ रुपैयाँसहित प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट गायिका मीरा राणालाई सम्मानित गरिएको छ। प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मानबाट वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानित गरिएको छ।
त्यस्तै प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२ बाट गायक सुरजकुमार थापालाई नगद ५० हजार रुपैयाँसहित सम्मानित गरियो भने प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत सम्मान सिन्धुपाल्चोकका गायक चन्द्र सिंह घलेलाई नगद २५ हजार रुपैयाँसहित प्रदान गरिएको छ।
सम्मान र पुरस्कार कार्यक्रमकी सभापति, प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानको पत्नी किरण प्रधान, प्रमूख अतिथि चौतारा सांगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा तथा अतिथीहरू सो नगरपालिकाकी उपप्रमूख सिता थापा, गीतकार तथा कवि दिनेश अधिकारी, गायिका तीर्थकुमारी थापालगायतले प्रदान गरेका थिए।
गीतकार तथा दिनेश अधिकारीले प्रेमध्वजको व्यक्तिगत तथा सागितीक जीवनबारे चर्चा गर्दै प्रधान व्यक्तिको रूपमा पनि निकै सरल र असल स्वभावको रहेको बताए। उनले सिन्धुपाल्चोकका विद्यार्थी प्रेमध्वजको बारेमा विद्यावारिधी गर्नुपर्ने चर्चा गर्दै चौताराको कुनै स्थल प्रेमध्वजको नाममा नामाकरण गर्न, प्रेमध्वजको नाममा छात्रवृत्ति र पुरस्कार स्थापना गर्नसमेत स्थानीय सरकारलाई सुझाए।
नगर प्रमूख सापकोटाले प्रेमध्वज राष्ट्रिय विभूतीका साथै सिन्धुका नीधि भएको चर्चा गर्दै उनको नाममा चोक चौतारा निर्माण गर्न वा उनको योगदानको कदर गर्न कन्जुस्याई नगर्ने बताए। कार्यक्रममा गायक सुरजकुमार थापा, चन्द्रसिह घले र रोशन श्रेष्ठले प्रेमध्वजका गीतहरू प्रस्तुत गरेका थिए भने स्थानीय वनदेवी माविका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए।
गायक प्रधानको ४ वर्षअघि २०७८ सालमा निधन भएको थियो। प्रधानको नाममा उनको परिवारले २०७९ सालमा गोल्डेन भ्वाइस प्रेमध्वज स्मृती प्रतिष्ठानको स्थापना गरेको हो। जसले प्रेमध्वजको जन्मजयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा नेपाली सुगम संगीतमा साधनारत संगीतकर्मीलाई सम्मान गर्दै आएको छ।