
झापा- झापामा गत जेठ महिनामा मात्र ५१ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी युनिटहरूबाट खटिएको टोलीले यो सफलता हासिल गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।
पक्राउ पर्नेमा केही महत्त्वपूर्ण व्यक्तिहरू पनि छन्। २०७२ असार १६ गते उच्च अदालत विराटनगर इलाम इजलासबाट जबरजस्ती करणी र चोरी मुद्दामा १० वर्ष कैद फैसला भई फरार रहेका मेचीनगर नगरपालिका–७ का ३२ वर्षीय प्रदीप राई पक्राउ परेका छन्।
त्यसैगरी, २०८० फागुन २९ गते उच्च अदालत पाटनको फैसलाले राजस्व चुहावट मुद्दामा १ वर्ष २ महिना १५ दिन कैद र २ करोड ८४ लाख ५८ हजार ६०५ रुपैयाँ जरिवाना तोकिएका बिर्तामोड नगरपालिका–८ का ३० वर्षीय अमिर ल्वागुन विश्वकर्मा पनि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ४३ पुरुष, ७ महिला र एक तेस्रो लिङ्गी गरी कुल ५१ जना रहेका छन्। उनीहरूलाई आवश्यक कारबाहीका लागि झापा जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
कैद भुक्तान गर्न बाँकी रहेका प्रतिवादीहरूलाई कारागार पठाइएको छ भने, जरिवाना मात्र असुल गर्न बाँकी रहेका प्रतिवादीहरूले जरिवाना दाखिला गरी रिहा भएका छन्।
यस अभियानबाट कुल ३१ वर्ष ५ महिना २६ दिनको कैद र २ करोड ९९ लाख ७८ हजार ५६० रुपैयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ। झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले फरार प्रतिवादी पक्राउ अभियानलाई थप तीव्रता दिइएको बताएका छन्।