हुम्ला – विद्यालयमा अध्ययनरत बालबालिका दैनिक खोलाको पानीमा पस्ने क्रम बढ्दै गएको छ। हिमाली क्षेत्रमा पनि पछिल्ला केही दिनयता अत्यधिक गर्मी बढ्दै गएपछि विद्यार्थी खोलाको पानीमा पसेर शीतल लिने गर्दै आएका छन्।
सर्केगार्ड गाउँपालिका–४ को हिमज्योति माध्यमिक विद्यालयको कक्षा सातमा अध्ययनरत छात्रा माली छत्यालले गर्मी असाध्यै बढेपछि विद्यार्थीले पढाइ नै छाडेर सर्केगार्ड खोलामा गई शीतल लिने गरेको बताए।
अघिल्ला वर्षमा पनि विद्यार्थी यसरी विद्यालयमा दिउँसो टिफिनको समयमा खोलामा पसेर नुहाउने गर्दै आए पनि यस वर्ष भने बढी नै गर्मी भएकाले सबै विद्यार्थी यसरी शीतल लिन जाने गरेका हुन्।
उनले गर्मी धेरै भएकाले पालैपालो विद्यार्थी कक्षाकोठाबाट निस्केर खोलामा नुहाई आउने गरेका कारण पठनपाठन पनि प्रभावित हुने गरेको बताए।
उक्त विद्यालयका प्रधानाध्यापक जयबहादुर धामीले गर्मी बढेको र शीतल बनाउने उपाय विद्यालयसँग नभएपछि विद्यार्थी खोलामा गएर नुहाइसकेपछि केही शीतल भएको महसुस गर्ने गरेको बताए।
यसरी दैनिक विद्यार्थी र शिक्षक दिउँसो गर्मीका कारण खोलामा नुहाउने गर्छन्। सर्केगार्ड आसपास क्षेत्रमा तापक्रम दैनिक ३२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।
बर्खामा सर्केगार्ड क्षेत्रमा अत्यधिक गर्मी हुने गर्छ। लालीगुराँस मावि लिप्नेका प्रधानाध्यापक कालीबहादुर महताराले पनि गर्मी बढेका कारण विद्यार्थी नजिकैको खोलामा पुगेर नुहाउने काम दैनिक भइरहेको जानकारी दिए।
गर्मी भएका कारण विद्यार्थीलाई नजाऊ भन्न सक्ने अवस्थामा विद्यालय प्रशासन नरहेको भन्दै उनले शीतलता पाउनका लागि खोलामा गएर नुहाउनुको विकल्प विद्यालयसँग नभएको बताए।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































