झापा– झापाको कचनकवल गाउँपालिका–६ मा रहेको सर्पदंश उपचार केन्द्र आफ्नो पाँचौँ वर्षमा प्रवेश गरेको छ। प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको परिसरभित्र सञ्चालनमा रहेको यस उपचार केन्द्रले स्थापना भएदेखि हालसम्म ८५६ जनाको जीवन बचाएको दाबी गरिएको छ। तर, यही अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा गाउँपालिकाका उपाध्यक्षले प्राथमिक स्वास्थ्य केन्द्रको समग्र व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन्।
कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्षले आफ्नो मन्तव्यमा प्राथमिक स्वास्थ्य केन्द्रको सञ्चालन र पारदर्शितामाथि प्रश्नचिह्न खडा गर्दै भने, “नियमअनुसार अस्पताल चलिरहेको छ कि छैन? अत्यावश्यक सेवा नागरिकले सहज रूपमा पाइरहेका छन् कि छैनन्?” उनले प्राथमिक स्वास्थ्य केन्द्रप्रति जनस्तरबाट धेरै गुनासा आइरहेको उल्लेख गर्दै थपे, “म अध्यक्षजस्तो बारम्बार आउँदिन, तर आउँदा–जाँदा नागरिकका पीडा सुनिरहेको छु। हामी जनप्रतिनिधिले जनताको करबाट तलब खाइरहेका छौँ भने हामीले पनि हाम्रो जिम्मेवारीको गम्भीर समीक्षा गर्नुपर्छ।”
उपाध्यक्षले एक्सरे मेसिन पालिकाले किन किनेन भनेर मात्र बहाना बनाएर नहुने भन्दै बाँकी व्यवस्थापकीय कमजोरीहरूको जवाफ कसले दिने भनी प्रश्न गरे। “हामी अस्पताल चलाउने अभियानमा छौँ भनिन्छ, तर केन्द्रको आम्दानी–खर्च पालिकामा बुझाउनु पर्दैन त? कार्यपालिकाको बैठकमा पटक–पटक माग गर्दा पनि किन विवरण नआएको?” उनको भनाइ प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन र वित्तीय पारदर्शितामाथि लक्षित थियो। उनले स्पष्ट पारे, “मैले भन्ने भनेको अस्पताल प्रशासन मात्रै होइन, हामी सबै जनप्रतिनिधिको जिम्मेवारी हो। राज्यको पैसाबाट तलब खाँदा हाम्रा कामप्रति इमानदारी हुनु जरुरी छ।”
यसैबीच, प्राथमिक स्वास्थ्य केन्द्रकै मातहतमा सञ्चालनमा रहेको सर्पदंश उपचार केन्द्रले उल्लेखनीय सफलता हासिल गरेको छ। केन्द्रका अनुसार हालसम्म ८५६ जना सर्पदंश पीडितको उपचार गरिएको छ, जसमध्ये ५९ जना विषालु सर्प—कोब्रा र करेट—बाट टोकिएका थिए। बाँकी अविषालु सर्पदंशका बिरामी थिए। उपचार गरिएकामध्ये १०० जना भारत बिहार क्षेत्रका नागरिक समेत रहेका छन्। स्थापनाअघि प्रत्येक वर्ष सर्पदंशबाट ७–८ जनाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको भए पनि उपचार केन्द्रको स्थापनापछि मृत्युदरमा उल्लेखनीय गिरावट आएको छ। वर्षायाममा जोखिममा पर्ने किसान तथा ग्रामीण बासिन्दाका लागि यो केन्द्रले जीवनरक्षकको भूमिका खेलेको बताइएको छ।
वार्षिकोत्सवमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, समुदायका अगुवा र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहँदा पनि उपाध्यक्षको मन्तव्यले प्राथमिक स्वास्थ्य केन्द्रको पारदर्शिता, समन्वय र सेवा विस्तारमाथि सशक्त समीक्षा गर्नुपर्ने अवस्था उजागर गरेको छ। जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कमजोरी बेवास्ता गर्नु भनेको जनताको विश्वास गुमाउनु हो भन्दै उपाध्यक्षले सेवा गुणस्तर र उत्तरदायित्व सुनिश्चित गर्न स्वास्थ्य केन्द्र प्रशासन र पालिका दुवैले आपसी समन्वयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































