
विराटनगर– प्रहरीको हवाला दिँदै अशक्त र सर्वसाधारणसँग रकम असुल्दै आएका एक जना व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, नक्कली प्रहरी बनेर विभिन्न गतिविधि गर्दै आएका विराटनगर–१२ का २५ वर्षीय धनकुमार थारुलाई पक्राउ गरिएको हो।
कार्यालयकी प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कोपिला चुडाँलले विराटनगरको रानी सडकखण्डबाट थारुलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जानकारी दिए। प्रहरी प्रवक्ता चुडाँलका अनुसार, थारुले आफू प्रहरी भएको भन्दै भारतको जोगबनीबाट घरायसी सरसामान खरिद गरी फर्किएका सर्वसाधारणलाई धम्क्याउँदै रकम असुल्ने गरेको सुरुवाती अनुसन्धानबाट खुलेको छ।
प्रहरीको हवाला दिँदै सर्वसाधारणदेखि अपाङ्गता भएका व्यक्तिहरूलाई डर-त्रास देखाएर रकम असुल्ने बानी परेका थारुलाई पक्राउ गरी ‘अभद्र व्यवहार’ मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।