
काठमाडाैँ – कवि तथा गीतकार युवराज अधिकारीको दाेस्रो पुस्तक ‘युद्ध युद्ध नै हुन्छ’ नामक कविता संग्रह लोकार्पण भएको छ।
राजधानीमा शनिवार एक समारोहबिच संस्कृति पर्यटन तथा नागरिक उड्डायन मन्त्री बद्रीप्रसाद पाण्डे, कवि तुलसी दिवस, कवि विश्वविमोहन श्रेष्ठ, चलचित्र निर्देशक प्रकाश सायामी र कवि अधिकारीले संयुक्त रुपमा लोकार्पण गरेका थिए।
लोकार्पण कार्यक्रममा मन्त्री पाण्डेले कवि अधिकारीको व्यक्तित्व, सत्संग, संगत बारे प्रशंसा गरे र कविताले समाजलाई सही दिशामा लैजान भूमिका खेल्ने बताए। ‘युद्ध गलत छ, घातक छ, विनाशकारी छ। युद्धले कसैलाई जिताउँदैनन्। ठूलो बन्ने होडमा युद्ध हुँदै गएको छ। र समाजको हितमा युद्ध हुँदैन,’ मन्त्री पाण्डेले भने।
सकारात्मक बाटोमा कसरी हिँड्ने भन्ने सन्देश कविता संग्रहले दिएको बताए।
कवि तुलसी दिवसले कवितात्मक आवाज लिएर कवि अधिकारी आएको बताए। युद्ध युद्ध नै हुन्छ भनेर हिम्मत कमैले भन्ने आँट नगरेको समयमा अधिकारीले आँट गरेकोमा खुलेर प्रशंसा गरे कवि दिवसले।
‘सेनासँग बन्दुक छैन। बन्दुकभन्दा शक्तिशाली हतियार शब्द हो र त्यो शब्द कविहरुसँग छ। जो बन्दुक र बमभन्दा कम पड्किँदैन,’ कवि दिवसले भने।
आजको समयमा बलवान् सामार्थ्य र शक्ति लिएर कविहरू देखा परेका बताए दिवसले। भने, ‘शब्दको प्रयोग गरेर युद्ध गर्ने कविहरू नै छन्। मात्र कविताको भाषा अलि कलात्मक हुनुपर्छ।’
कवि युवराज अधिकारीले लोकार्पणका क्रममा जीवन भोगाइका उतारचढावकै अनुभव लेखेको बताए। उनले भने, ‘लेख्दा आफ्नोबारे मात्र लेखिदैन। समाजमा देखेको र भोगकै कुरा लेखेको हुँ। र मेरो जन्मथलो इलामले मलाई लेखनमा प्रेरित गर्यो।’
अधिकारीकानुसार जो जहाँ जन्मिन्छ त्यहि सेरोफेरोको बारेमा लेख्ने गरेका छन् र लेख्नु पनि पर्छ। ‘साहित्य कला जीवन सापेक्ष हुनु पर्छ। सरलता हुनुपर्छ। साहित्यले भुइँ टेकेको हुनुपर्छ। समग्र मानवजीवनलाई समेटेको हुनुपर्छ,’ कवि अधिकारीले भने।
उनको यसअघि ‘मेरा चित्कारहरु’ नामक कविता संग्रह र ‘देउरालीको फूल’ नामक गीति एल्बम प्रकाशित छन्। नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष रहेका अधिकारीले चालिसको दशकदेखि गीत कविता लेख्न थालेका हुन्।
लोकार्पण कार्यक्रममा चलचित्रकर्मी प्रकाश सायामीले २०३६ सालमा खाना खाएको तर मिठो कविता पढ्न ४० वर्षपछि पाएको बताए। उनले भने, ‘कविता स्वरले नै पढनु पर्ने हो तर त्यो बदलियो। त्यसो हुनुहुन्थेन।’
अधिकारीका कवितामा पूर्वको आञ्चलिकता र सरल भएको सायामीले बताए।उनले भने, ‘युद्ध युद्ध नै हुन्छ’कविता लेख्नका लागि नलेखेर विषयका लागि लेखकले लेख्नु भएको छ।’
कविता संग्रहबाट युद्ध युद्ध नै हुन्छ नामक कविता कलाकार क्याप्टन विजय लामाले र अर्को कविता अभिनेता निखिल उप्रेतीले बाचन गरेका थिए।
सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलाएको कार्यक्रममा सांसद अमरेश कुमार सिंह, महेश बस्नेत, पूर्वमुख्य सचिव भोजराज घिमिरे लगायतको उपस्थिति थियो। एपेक नेपालले आयोजनामा भएको कार्यक्रममा शुभकामना कवि राजेन्द्र सलभले दिएका थिए।
किताब इन्डिगो इन्कले प्रकाशन गरेको हो।