
झापा- झापाको भद्रपुर नगरपालिका-५ स्थित भन्सार चोकबाट लागुऔषध ब्राउन सुगरसहित एक कार र दुई कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार दिउँसो करिब १:३० बजे, गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी निरीक्षक विजय चौहान र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएका प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ७७९३ नम्बरको नेटा कम्पनीको निलो रङ्गको कारलाई रोकेर चेकजाँच गर्दा लागूऔषध फेला परेको हो।
कारका चालक काठमाडौँ महानगरपालिका-२६ बस्ने २४ वर्षीय निवेश कुँवरले आफू बस्ने सिटमुनि कालो प्लाष्टिकमा लुकाई छिपाई ल्याएको लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ।
बरामद गरिएको ब्राउन सुगर प्लाष्टिकसहित ५१ ग्राम ९९० मिलिग्राम र प्लाष्टिकबाहेक ४७ ग्राम ६९० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न निवेश कुँवर र लमजुङको कोलासोतार गाउँपालिका-७ बस्ने २२ वर्षीया नोजिना राना मगरलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धानका लागि जिल्ला अदालत झापामा उपस्थित गराई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूरमा अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको छ।