आत्महत्या रोक्न सकिन्छ: डा. केशव श्रेष्ठको घटनाबाट सिक्नु जरुरी

आत्महत्या रोक्न सकिन्छ: डा. केशव श्रेष्ठको घटनाबाट सिक्नु जरुरी
+
-

कुनै पनि व्यक्तिको कमजोरी उसको व्यक्तिगत कमजोरी होइन, बरु मानसिक, सामाजिक र संरचनागत अपूर्णताको गहिरो संकेत हो र यो एक गम्भीर मानसिक स्वास्थ्य समस्याको अवस्था हो जसले व्यक्तिको सोच, भावना र निर्णय क्षमतामा प्रत्यक्ष प्रभाव पार्छ। जब व्यक्तिले आफूलाई आशाहीन, असहाय र निरर्थक महसुस गर्न थाल्छ तब व्यक्तिको मनमा आशाको संकेत धमिलो हुँदै जान्छ फलस्वरुप उसले आफ्नो अमूल्य जीवन छाड्ने बाटो रोज्छ। तर, यथार्थमा आत्महत्या रोक्न सकिन्छ – आत्महत्या समस्याको समाधान होइन यो त केवल तत्कालको सामाजिक वा मानसिक संकटको चरम अभिव्यक्ति हो।

यास्तो सोचले व्यक्तिलाई आफ्नै जीवनको अन्त्यतिर धकेल्छ, जहाँ उसले बाँच्नुको अर्थ देख्दैन, आफ्ना निकटम व्यक्तिमा आफ्नो मृत्युले सहजता ल्याउने विश्वास बढ्न थाल्छ, सबैतिर बाट पाउने समर्थनको आशा हराएको महसुस गर्छ र आफ्नो आत्मसम्मान पूरै टुटिसकेको हुन्छ।

आत्महत्या रोकथाम एउटा साझा प्रयासको विषय हो जहाँ सरकार, समुदाय र व्यक्ति सबैको भूमिका अनिवार्य हुन्छ।

डा.केशव श्रेष्ठले आफ्नो फेसबुकमार्फत लेखेका आत्महत्यासम्बन्धी नोटलाई हामीले प्रतिनिधिमूलक घटनाका रूपमा लिन सक्छौँ र हाम्रो समाजका लागि एक सावधानीको घण्टी पनि हो।

मानिसहरू विविध कारणले भित्रभित्रै पीडामा हुन्छन् तर बोल्न सक्दैनन् यसको कारणमा हाम्रो वरपरको पारिवारिक, सामाजिक, साँस्कृतिक र राजनीतिक पक्ष जिम्मेवार छन्।

यसका साथै द्वन्द्व, हिंसा, विपत्ति, जीवनमा आउने कठिन तथा चुनौतीपूर्ण परिवर्तनजस्ता कारण पनि उत्तिकै जिम्मेवार छन्। जस्तै कि डा.केशवले उनको अन्तिम सन्देशमा कार्यस्थानमा सामना गरेको सामाजिक उपेक्षा, निराशा र मानसिक बोझको अभिव्यक्ति दिएका थिए।

एक जना शिक्षित, अनुभवी र सामाजिक योगदान गर्न सक्षम व्यक्तिले आत्महत्याको प्रयास गर्नु भनेको व्यक्तिको मनोवैज्ञानिक प्रतिरक्षा प्रणाली (समस्यासँग सामना गर्न सक्ने शक्ति) कमजोर हुनु हो।

यसलाई हामी शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर भएर लाग्ने गम्भीर रोग लाग्नु र उपचार अभावमा मृत्यु हुनुजस्तै आत्महत्याको सोचाइ आउनु वा आत्महत्याको प्रयास गर्नु र समस्या समयमै प्रभावकारी रूपमा समाधान हुन नसकेमा व्यक्तिले आत्महत्या गर्नु हो भनेर सजिलो भाषामा बुझ्न सक्छौँ। तथापि, व्यक्तिहरूले गर्ने आत्महत्याका कारण धेरै छन् तर दुरुस्त कारण पत्ता लगाउन भने गह्रो छ।

धेरै अध्ययनले आत्महत्या वंशाणुगत गुणसँग समेत सम्बन्धित छ भनी देखाएका छन्। आत्महत्याको इतिहास भएका परिवारका सदस्यमा पनि आत्महत्याको सोचाइ आउने गरेको, समस्याको सामना गर्न नसकेर आत्महत्याका योजना बनाएका र कतिले त ज्यानसमेत गुमाएका तथ्य समाजमा देखिन्छ।

सरकार गम्भीर बनोस् नीतिमा प्राथमिकता देओस् नकि यस्ता समस्यालाई देखेको नदेखै गर्ने, दोष लगाउने र मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नपार्ने संस्कारमा जकडिएको होस्।

डा. केशव श्रेष्ठको जस्तो पीडादायी घटना फेरि दोहोरिन नपरोस् भनेर आजैदेखि हामी सबै गम्भीर बनौँ। आत्महत्या रोक्न सकिन्छ – जतिबेला हामी मौनता तोड्छौँ, सहानुभूतिपूर्वक सुन्छौँ र सहायोगका लागि हातहरू फैलाउँछौँ – तव मात्र आत्महत्या रोक्न सकिन्छ।

हरेक वर्ष विश्वभर ७ लाख २० हजारभन्दा बढी मानिस आत्महत्याका कारण ज्यान गुमाउँछन्। तसर्थ आत्महत्या विश्वभर मृत्युको १०औँ प्रमुख कारणका रुपमा रहेको छ। अझ १५ देखि २९ वर्ष उमेर समूहमा आत्महत्याका कारण मृत्यु हुने तेस्रो प्रमुख कारण हो जसले युवावस्थामा रहेका व्यक्तिको जीवनमाथि गम्भीर संकट उत्पन्न गराइरहेको छ।

विश्वव्यापी रूपमा आत्महत्याका घटनामध्ये ७३ प्रतिशत घटना निम्न तथा मध्यम आय भएका देशमा हुने गरेका छन् जसले आर्थिक, सामाजिक र सामाजिक र मानसिक स्वास्थ्य सेवाको पहुँचको अभावलाई समेत ऊजागर गर्छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार, विगत ५ वर्षमा आत्महत्याका घटनामा वार्षिक औसत ७.२ प्रतिशतले वृद्धि भएको देखिन्छ जुन २०२१ मा बढेर १४ प्रतिशत पुगेको थियो। यसका साथै निरन्तर रुपमा घटेका विपत्तिका कारण पनि नेपालमा आत्महत्याका घटना बढेको भनेर नेपाल प्रहरीको रिपोर्टले देखाएको छ।

यसर्थ आत्महत्या रोकथामलाई सरकारले एक गम्भीर सार्वजनिक स्वास्थ्य संकटको रुपमा लिनुपर्छ किनभने व्यक्तिले धेरै पटकको आत्महत्याको प्रयासपछि मात्र आत्महत्याद्वारा मृत्युवरण गर्छन् यसको मतलव आत्महत्याको प्रयास गर्ने मानिसले आवश्यक सहयोगका लागि अपिल पनि गरिरहेका हुन्छन्।

तसर्थ आत्महत्याको समस्यालाई नीतिगत तहमा व्यवस्थापन गर्न निम्न कुरा गर्न आवश्यक देखिन्छः–

सर्वप्रथम व्यक्तिलाई भावनात्मक हिसाबले सवल बन्न र चुनौती जीवनका अभिन्न अवसरको रुपमा लिन सकिन्छ भन्ने चेतनाको विकास गर्नुका साथै यस्ता चुनौतीका कारण उत्पन्न मानसिक तथा भावनात्मक कठिनाइ असामान्य परिस्थितिका सामान्य प्रतिक्रिया हुन् भनेर आफन्त वा विज्ञहरूकै साथ वा सेवा लिन सकिन्छ यसका अलावा राज्यले निःशुल्क र सहज मनोसामाजिक मनोविमर्श सेवा उपलब्ध गराउने, मानसिक स्वास्थ्यका लागि वार्षिक बजेटको सुनिश्चित गर्ने, सबै प्रदेशमा संकट व्यवस्थापन केन्द्र स्थापना गर्ने र व्यक्तिलाई बालापनबाटै भावनात्मक तवरले सवल र सक्षम बनाउन विद्यालयमा, स्वास्थ्य चौकी र कार्यलयबाट मनोशिक्षा प्रदान गर्नुका साथै आवश्यक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।

किशोर/किशोरीका लागि जीवनोपयोगी सीप, क्षमता विकासका कार्यक्रममा सहभागी गराउने यससँगै आत्महत्याप्रतिको दृष्टिकोण (दोष र कलंक) लाई परिवर्तन गर्न सुनौँ, बुझौँ र उनीहरूको भावनालाई समर्थन गरौँ र पुनर्एकीकरणको काममा समेत संवेदनशील भएर जुटौँ।

आत्महत्याजस्तो गम्भीर समस्याको व्यवस्थापन होस् वा रोकथामका लागि अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, पत्रकार, प्रहरी अथवा गाउँका अगुवाजस्ता व्यक्तिले भावनात्मक संवेदनशीलता सहितको सीप प्रयोग गरी काम गर्ने वातावरणको सुरुवात होस्, यसरी अग्रपंक्तिमा कार्य गर्ने व्यक्तिलाई सरकारीे अथवा साझेदार निकायबाट संवेदनशीलताका विषयमा काम गर्दा व्यक्तिको मानवअधिकार, गोपनियता, भावनाको कदर र सहानुभूतिपूर्ण व्यवहार प्रयोग गर्ने सीप विकासमा तालिम दिइनुपर्छ। तसर्थ अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई मनोविमर्शका क्रममा प्रयोग हुने सीपजस्तै सक्रिय सुनुवाइ, सहानुभूतिको प्रयोग, गोपनियता, गैरन्यायिक र सही मार्गदर्शन दिन सक्ने क्षमता विकास हुनेगरी तालिम हुनुपर्छ।

तसर्थ आत्महत्या कुनै अचानकको निर्णय होइन, यो गहिरो पीडाको निरन्तर बोझको अन्तिम बिन्दु हो। यदि, हामी साँच्चिकै सुरक्षित समावेशी र मानवीय समाज चाहन्छौँ भने आत्महत्या रोकथामलाई शब्दमा मात्र होइन, व्यवहारमा उतार्नुपर्छ। सरकार, समाज र समुदायका सबै तहका व्यक्तिले समन्वय र सहकार्यका साथ आत्महत्या तथा मानसिक स्वास्थ्य समस्या रोकथाममा सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ।

डा. केशव श्रेष्ठको जस्तो पीडादायी घटना फेरि दोहोरिन नपरोस् भनेर आजैदेखि हामी सबै गम्भीर बनौँ। आत्महत्या रोक्न सकिन्छ – जतिबेला हामी मौनता तोड्छौँ, सहानुभूतिपूर्वक सुन्छौँ र सहायोगका लागि हातहरू फैलाउँछौँ – तव मात्र आत्महत्या रोक्न सकिन्छ।

(भण्डारी मनोविद् हुन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?