देशसञ्चार चौतारीमा भाग-१०२

‘मेरो बिहेमा नारायणगोपालले ककटेल बनाए’

+
-

नेपाली चलचित्रकी प्रथम नायिका को हुन् ?

लोक सेवा आयोगले विद्यार्थीलाई सोधिरहने प्रश्न हो यो। ती प्रथम नायिका धेरैले भुवन चन्द हो भनेर लेख्न बिर्सिए होलान्। तिनै बिर्सिनेहरुलाई सम्झाइदिन प्रथम नायिका भुवन चन्दले ‘देश सञ्चार’ चौतारीको यो श्रृंखलामा हामीमाझ आफ्नो अनुभव सुनाइन्।

‘चाहेर प्रथम नायिका भएकी होइन। कर्ममा विश्वास गर्छु। कर्ममा यही लेख्या रहेछ कि तँ कलाकारै भएर जन्मेस्,’ कुराकानीकै क्रममा उनले भनिन्, ‘सानैदेखि नाच्ने नाटक गर्ने गरिन्थ्यो, त्यसैले फिल्म गर्न जुर्‍यो।’

भुवनको अभिनय र नृत्य शिक्षा घरबाटै सुरु भएको थियो । उनका बुवा भैरवबहादुर थापा उम्दा कलाकार थिए। भन्छिन्, ‘मेरो बुवाको प्रेरणाले नै म कलाकारितामा लागें।’

नाटककार बालकृष्ण समको नाटक ‘अन्धबेग’मा बालकलाकारको रुपमा २०१० सालमा काम गर्दा उनी पाँच वर्षकी थिइन् । चलचित्र ‘आमा’मा नायिकाका रुपमा काम गर्दा भने १५ वर्षकी थिइन्। वि.सं. २०२२ सला असोज ५ मा सार्वजनिक प्रदर्शनमा आएको थियो। उनी कलाकारिताका साथै गीत पनि गाउँथिन् ।

रेडियो नेपालमा उनले गीत पनि गाइन्। नातिकाजीजस्ता संगीतकारसँग उनको उठबस भयो।

कत्थक नाचमा म्याट्रिक र डिप्लोमा हासिल गरेकी भुवनसँग नाचघरमा खेलेका नाटकका थुप्रै किस्साहरु छन्। किनकि उनी नाचघरकी जागिरे नै थिइन् ।

‘त्यो बेलामा हामीलाई नाचघरले महिनाको १५० रूपैयाँ तलव दिन्थ्यो। हामी हरेक ठाउँमा स्टेज कार्यक्रम गर्दै हिँड्थ्यौं,’ भुवनले सुनाइन्।

यही नाचघरमा काम गर्ने सिलसिलमा एकदिन नेपाली चलचित्र बन्नेबारे सुनिन् । बलिउड फिल्मका हिरोइनका केही काम हेरिसकेकी हुर्केकी भुवनका लागि नाच्नगाउनुका साथै भेटघाट गर्ने थलो पनि नाचघर थियो। तत्कालीन राजा महेन्द्र शाहले चलचित्र निर्माण गर्नकै लागि भारतीय चलचित्र निर्देशक हिरासिंह खत्रीलाई नेपालमा झिकाए। हिरासिंह केही प्राविधिकलाई साथमा लिएर नेपाल आए, फिल्म खिच्न।

त्यो बेला सीमित कलाकार थिए। अवसरहरु पनि सीमित थिए। त्यसैले धेरैलाई त आफ्नो कला देखाउन पाए मात्रै पनि ठूलो अवसर ठान्थे। ‘त्यस्तै अवसर खोज्ने हामी पनि थियौं। अनि हामीलाई नायिकाका लागि अडिशन दिन बोलाइयो । दिएँ । त्यो बेला अडिशन दिन म, चैत्यदेवी, बसुन्धरा भुसाललगायत थियौं। पछि सबैलाई केही न केही भूमिकामा राखियो।’

सिनेमा संसारलाई हेर्ने आँखा हो भन्ने भुवन कलाकारिताबाट त्यो बेला बाँच्न गाह्रो भएको अनुभव सुनाउँछिन्, ‘हामीले जागिर खाएर काम गरेका थियौं । जागिर नखाई त कलाकारिता गर्न गाह्रो थियो। अहिले त गाह्रो छ। त्यो बेला नहुने कुरै थिएन।’

उमेरको सात दशकमा पनि चलचित्रको विषयमा नै सोच्ने गर्छिन् उनी। पहिला बनेका चलचित्र र अहिलेका चलचित्रबीच गहिरो तुलना गर्छिन्। अनि निष्कर्ष निकाल्छिन्, ’अहिलेभन्दा त पहिला नै राम्रो चलचित्र बन्थे।’

सिनेमा यात्रामा फिल्म बनाउने शैली मात्रै नभएर हेर्ने आँखा पनि बदलिएको बताउँछिन् उनी। ‘नेपाली फिल्मले ठूलै फड्को मार्‍यो तर हिजोको सद्भाव र अनुशासनजस्तो आजको फिल्ममेकरमा पाउँदिनँ।’

समकालीन नायिकाहरु खुबै मिस गर्छिन् उनी। अहिले अभिनयमा विवधता देख्छिन् । मेकिङमा पनि फड्को मारेको देख्छिन् । पहिला कथा हुन्थ्यो र सिंगो परिवार बसेर हेर्न सकिन्थ्यो। उनी भन्छिन्, ‘अहिलेको फिल्ममा कथा छिटो भनियो। फास्ट भयो। फिल्म हेरेर निस्किएपछि कथा विर्सिनु पर्ने अवस्था भयो।’

राजा महेन्द्रको प्रिय नायिका थिइन् भुवन। आफूलाई प्रशंसा गरेको उनले स्मरण गरिन्, ‘हाम्री भुवन पनि भारतीय नायिका भन्दा कम छैन भनेर राजा महेन्द्रले भनेको कुरा मेरो निर्देशकले कलकत्तामा भनेका थिए। त्यो मेरो लागि ठूलो उपलब्धी थियो।’

राजदरबारमा पनि नाच्न पुग्ने गर्दा एकदिन रानीलाई साधारण पहिरनमा देखेको किस्सा सुनाइन्, ‘जब रानीलाई देखें अनि लाग्यो उहाँहरु पनि आममान्छेजस्तो लाग्यो। रानीहरु त अर्कै पहिरन लगाउँछन् सजिएर बस्छन् भन्ने मनमा जुन भ्रम थियो त्यो हट्यो।

रेडियो नेपालमा गीत गाउँदासमेत परिवार तथा समाजले नसहने उमेर चलचित्रमा छमछमी नाच्न पुगेकी भुवनले ‘आमा’ पछि ‘हिजो आज भोलि’, ‘मनको बाँध’, ‘सिन्दुर’, ‘जीवन रेखा’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरिन्।

एक बारको जीवनमा उनले फिल्म ‘साइनो’ निर्माण गरिन्। साइनो चलचित्रले भनेजस्तो व्यापार त गरेन तर उनको चित्त दुखाइ पनि कसैसँग छैन। ‘मेरो कर्ममा जे लेख्या छ त्यही हुने हो। अब फिल्म चल्न लेखेको रहेनछ चलेन,’ उनले भनिन्।

‘आमा’ खेल्दा उनले पारिश्रमिक पाएकी थिइनन्। बिना पारिश्रमिक किन कसरी फिल्म खेलाउन सकेका होलान् भन्ने जिज्ञासामा उनले भनिन्, ‘म जागिरे थिएँ। हामीलाई काज बिदा दिनु भयो। सरकारको फिल्म भएकाले फिल्म खेल्न जानु पनि जागिर खानु जस्तो थियो।’

बीसको दशकमा नेपाली कलाकारितामा क्षेत्रमा लाग्न गाह्रो थियो। विशेष त महिलालाई गाह्रो थियो। तर भुवनका लागि बुवा नै कलाकार भएकाले केही सहज भयो। उनी भन्छिन्, ‘त्यो बेला कलालाई हेर्ने समाजको दृष्टिकोण राम्रो थिएन। मानिसहरू नायिकाले नौटंकी गरेर पैसा कमाएको, अरूलाई मनोरञ्जन दिलाएर कमाएको पैसाले परिवार पालेको जस्ता कुरा गर्दै नाक खुम्च्याउँथे। तर, हामी लड्यौं। त्यही संघर्ष र लडाइँले नै आफूलाई अहिलेको अवस्थामा पुर्‍याएको भन्ने लाग्छ ।’

राष्ट्रिय नाचघरको जागिरले उनलाई कला देखाइरहेन प्लेटफर्म र जागिर मात्रै दिएन, संयोगले श्रीमान माइकल चन्द पनि त्यहीँ भेटेकी थिइन् । रेडियोमा अंग्रेजी समाचार पढ्ने हरिषबाट माइकल चन्द बने उनी। विवाह गरेपछि भुवनको दिन सहज हुँदै गएको बताउँछिन् उनी। भन्छिन्, ‘मेरो श्रीमानले कला बुझ्नु हुन्थेन भने मेरो कलालाई साथ दिनु हुन्थेन भने सायद म यो क्षेत्रलाई निरन्तरता दिन सक्दिनँथें होला।’

नाचघरको महाप्रबन्धक भएर जब नारायण गोपाल पुगे अनि भुवनले आफूलाई थप सिक्न पाएको र नारायण गोपालले कलाकारलाई गरेको सम्मानको स्मरण पनि गरिन्। विमानस्थलमा कोही पाहुना आउँदा स्वागत गर्न कलाकार जानु पर्ने मान्यतालाई तोड्ने हिम्मत गरिन् उनले। ‘त्यो बेला महिला कलाकारलाई निकै हेप्थे। अहिले त सम्मान छ,’ उनले भनिन्।

अहिले पनि उनलाई चलचित्रमा अभिनयका लागि बोलाउँछन् । तीन छोरी विदेश भएका र श्रीमान श्रीमती मात्रै घरमा भएकाले उपत्याका बाहिर सुटिङमा जाँदिनन्। भन्छिन्, ‘अहिले बुढाबुढी मात्रै छौं। त्यसैले बाहिर सुटिङ जाँदिनँ ।’

नेपाली सिनेमा ६ दशकको यात्रामा छ । यो यात्रामा बलिउडको राम्रै प्रभाव परे पनि अहिले आएर फिल्म बजारले कलाकारलाई हौसाएको छ । मेकरहरु फिल्म बनाउन लालायित छन्। उहिलेको सिनेमा र अहिलेका सिनेमाको अन्तर पनि ठूलै देख्छिन्। र, भुवनलाई आजको समयमा फिल्म खेलेर बाँच्न सकिने बताउँछन् । ‘हाम्रो पालामा विना पैसा फिल्म खेल्न पाए हुन्थ्यो भन्नेहरुको भीड थियो । तर अहिले त एउटै कलाकारले पचास लाखसम्म लिन्छन्। सेवा सुविधा राम्रो दिन्छन् । राम्रो कला र मेहनती मान्छेले यो क्षेत्रभन्दा पर सोच्नु पर्दैन’, उनले भनिन् ।

पूरा भिडियो:

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’