
काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन्।
नेपाल डेरी एशोसिएशनले आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै उनले मलको हाहाकार रहेको र भइरहने पनि बताए।
उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन मल आएको बताए।
बजारमा माग ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्याउनसक्ने स्थिति नरहेको उल्लेख गरे।
‘मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भए पनि हुन्छ। गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो। जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन। बजारमा हाम्रो मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ। एक चौथाई मलले हामीले कसरी किसानलाई समयमा पुर्याउन सक्छौँ? सम्भावनै छैन। तर राज्यको दायित्व भइसकेपछि चिन्ता नगर्नुस्, छ आउँछ भन्नैपर्छ,’ उनले भने।
उधारो दुध वर्षौंदेखि खाइरहेको र भुक्तानी दिन नसकेको भन्दै उनले बताए।
उनले भने, ‘हामीले किसानलाई पैसा तिर्न सकेका छैनौँ। उधारो दुध वर्षौंदेखि खाइरहेका छौँ। त्यो कहिले तिर्ने? समस्या धेरैतिर छ। तर पनि खुशी मानेर सबैका बीचमा उभिनुपर्ने रहेछ। हामीले जुनसुकै पेशा र व्यवसाय गरौँ। कमजोरी नगरौँ। तल्लो तहमा रहेका किसानलाई हामीले कतैबाट पनि धोका नदिऔँ। एउटा भैँसी र एउटा गाई पाल्नका लागि असाध्यै कठिन हुन्छ। तल्लो तहमा रहेका मानिसहरुलाई धोका नदिऔँ।’