
स्वर्गीय मदन भण्डारीको ७४ औँ जयन्तीका अवसर पारेर सक्रिय दलीय राजनीतिमा प्रवेशको मूड बनाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको योजना हाललाई थन्किने सम्भावना बढेको छ।
भोलि शनिबार पार्टी प्रवेशलाई औपचारिकता दिने उनको योजना प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुमोदन नगर्दा हाललाई रोकिएको पार्टी उच्च स्रोत बताउँछ।
सोमबार निर्णायक वार्ताका लागि बालुवाटार पुगेकी भण्डारीका लागि ओलीका केही स्पष्ट सन्देश थिए: एमाले र उनी स्वयम् बिरुद्ध लक्षित केही षड्यन्त्रलाई पराजित गर्न अर्को एउटा अवधिका लागि ओलीले नेतृत्व कसैलाई सुम्पिने छैनन्। तर अनुकूल समय र परिस्थितिमा भण्डारीको भूमिकाबारे उनी सकारात्मक रहनेछन्।
दुईजनाबीच भएको वार्ताबारे कुनै न कुनै रूपमा जानकारी राख्ने एक स्रोतका अनुसार भण्डारीले आफू राष्ट्राध्यक्ष भइसकेको व्यक्ति प्रधानमन्त्री पदका लागि इच्छुक नरहेकी तर ओलीले पार्टी अध्यक्ष छोडी आफ्ना लागि मार्गप्रसस्त गर्दा देश र पार्टी दुवैका लागि हितकर हुने प्रस्ताव भण्डारीले राखेकी थिइन्।
शनिबार मदन भण्डारीको जन्मदिनका अवसर पारेर ओलीको उपस्थिति र अनुमोदनका साथ एमालेमा फर्कने योजना बालुवाटार मतभेदको पृष्ठभूमिमा ओझेलमा परेको अड्कालबाजी पार्टीभित्र हुन थालेको छ।
मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित उक्त कार्यक्रममा ओली प्रमुख अतिथि र भण्डारी विशेष अतिथिका रूपमा आमन्त्रित छन् तर दुवै जना एकैसाथ कतिबेर रहनेछन् भन्नेबारे पनि अब अनुमान हुन थालेको छ।
ओलीले मनोज पाण्डे लिखित स्वयम्का बारेको पुस्तक पनि लोकार्पण गर्ने कार्यक्रम छ।
यसअघि ओलीले आफ्नै शैलीमा ७४ वर्ष भइसकेता पनि नेतृत्व छोड्न आफू तयार नभएको संकेत गरिसकेका छन्।
पूर्वराष्ट्रपति भण्डारी केही दिनअघि १० दिने कार्यक्रममा चीन गएकी थिइन् र स्वदेश फर्केलगत्तै उनी पार्टी राजनीतिमा सक्रिय हुने अनुमान गरिएको थियो। ओलीले त्यसअघि आफैँले घोषणा गरेको ७० वर्षे उमेरहद अस्वीकार गरी नेतृत्वमा रहिआएकोमात्र होइन, लगभग ८० वर्ष पुग्ने बेलासम्म अर्थात अर्को अवधिसम्म कसैलाई नेतृत्व नसुम्पने अडान लिएका छन्।
२०८४ को निर्वाचन उनकै नेतृत्वमा हुने संकेत पनि उनले स्पष्ट रूपमा दिएका छन्।