
काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पनि कुरा सुनिदिन आग्रह गरे पनि ओली नसुनेरै बाहिरिएका छन्।
आज काठमाडौँमा मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘जबजका तीन दशक’ विषयक अन्तर्क्रिया कार्यक्रमबाट विद्याको कुरा नसुनेर ओली बाहिरिएका हुन्।
ओली आज साँझ ६ बजे स्पेन भ्रमणका लागि जाँदै छन्। सोही कारण विद्याको कुरा सुन्न नसकेको ओलीले बताए। ‘मलाई धेरै हतार भएकाले म बीचमै बोल्न समय मागेको हो’, उनले भने।
ओलीले विद्या राम्रै बोल्ने थाहा भएकाले पनि आफूले उनको कुरा सुन्नु नपर्ने बताए।
‘सम्माननीय पूर्वराष्ट्रपतिज्युले मेरा पनि कुरा सुन्नुहोस् न भन्नुहुन्थ्यो। तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदै छ। आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएको हो। त्यसोभएर मलाई थाहा छ के बोल्नुहुन्छ भनेर। त्यसैले मैले सुनेर बस्नु पर्दैन,’ उनले भने।