इथ्नोम्युजिकोलोजीमा अमेरिकाको युनिभर्सिटी अफ म्यासाचुसेट्सबाट विद्यावारिधि गरेका डा. लोचन रिजालले देशसञ्चार चौतारीको यसपटकको अंकमा पाँचथरदेखि विराटनगर हुँदै काठमाडौँसम्मको सांगीतिक यात्रा, काठमाडौँ युनिभर्सिटीबाट युनिभर्सिटी अफ म्यासाचुसेट्ससम्मको संगीतको ज्ञानबारे इमान्दार अभिव्यक्ति दिएका छन्। सरल स्वभावका रिजाल इमानदारी नै आफ्नो जीवनको सम्पत्ति भएको र संगीतले आफूलाई त्यो दिएको बताएका छन्।
उनले देशसञ्चार चौतारीका क्रममा भने- ‘एकदुइटा गीत गाएर संसारलाई खुसी दिएर क्षणिक आनन्दको आभासमात्र चाहिँ मेरो लागि कलाकारिता होइन।’
उनले थपे- हामीले दिएको संगीतले कमसेकम एउटा विकासको बाटो देखाउनुपर्छ।
उनका अनुसार नेपालको घरघर, गाउँगाउँ, हरेक मानिस विश्वविद्यालय हुन् तर हामीले त्यो खानीलाई चिन्न सकेका छैनौँ।
नेपाली संगीत र संस्कृतिमा भएका अनुसन्धानका शैलीसँग उनी सन्तुष्ट छैनन्। ‘डाटा लिएर रिसर्च पेपर लेख्नुमात्र रिसर्च होइन,’ उनले भने।
उनका अनुसार नेपालको धर्म, संस्कृति वा विकासको मोडल नेपालीले नै बनाएरमात्र सम्भव छ। त्यस्तै संगीतलाई मेडिकल साइन्स, समाज र थेरापीसँग जोड्न सकिने उनी बताउँछन्। उनले देशसञ्चार चौतारीका क्रममा आफ्नो पुरानो गीत ‘समाज’ पनि अर्बाजोको तालमा गुन्गुनाए।
अमेरिकामा पीएचडीको अध्ययन गर्दागर्दै उनी सोझै कास्कीको गाउँ हानिएका थिए नेपाली बाजा अर्बाजो खोज्न। ‘सारंगी र अर्बाजो एउटै शैलीका बाजा हुन्, खासमा सारंगी फिमेल हो भने अर्बाजो मेल,’ उनले देशसञ्चार चौतारीका क्रममा प्रस्ट्याए।
जीवनको अर्थ नै इमान्दार हुनु हो भन्न मन पराउने रिजाल अहिले काठमाडौँ विश्वविद्यालयमा संगीत पढाउँछन्। ‘म एक्लैले अनुसन्धान यात्रा सुरु गरेको थिएँ, अहिले काठमाडौँ विश्वविद्यालयमा हामीले धेरै उत्पादन गरिसक्यौँ।’
संगीतका अतिरिक्त सांस्कृतिक सम्पदा जोगाउन पनि रुचि राख्ने रिजालले त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरीको मन्दिरको जीर्णोद्धारमा सघाएका छन्। ‘हरेक देशको संस्कृति र संगीत एकआपसमा जोडिएको हुन्छ,’ उनले भने, ‘इथ्नोम्युजिकोलोजीले संगीतको यही पक्षलाई उजागर गर्छ।’
उनले केही वर्ष अगाडिसम्म आफूलाई संगीत गर्न नपाएर, गीत लेख्न नपाएर, गीत गाउन नपाएर सास फेर्न नै गाह्रो हुने गरेको अनुभव पनि सुनाए देशसञ्चार चौतारीका क्रममा। उनले आफूलाई पनि कहिलेकाहिँ भाइरल हुन मन लाग्ने तर भाइरल हुन नसकेको पनि खुलेरै बताए।
नेपालको ज्ञानलाई पुनर्जागृत र उत्थान गर्न सबै मिलेर काम गर्न एकदम जरुरी रहेको पनि उनले देशसञ्चार चौतारीका क्रमा बताए।
‘म संगीतप्रति कृतज्ञ छु, संगीतले मलाई इमानदारी, नैतिकता र विलासिता सिकाएको छु,’ उनले सुनाए।
देशसञ्चार चौतारीको पूरा भाग: