
काठमाडौँ – नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा छलफल गरेको छ।
छलफलमा अध्यक्ष चौधरीले विभागले सवारीसाधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञासा राख्दै विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरे।
यसै क्रममा अध्यक्ष चौधरीले उक्त प्रस्तावित निर्देशिकामा भएका बुँदाहरुबारे नाडा र विभागबीच विस्तृत छलफल गरी अघि बढनुपर्ने धारणा राखे।
उक्त छलफलमा उपस्थित भएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरुको विषयमा थप छलफल गरिनुपर्ने आवश्यकता रहेको बताए। निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरुलाई दण्डित गर्नुपर्ने र सही कार्य गर्नेहरुलाई पुरस्कृत गर्नु पर्ने धारणा राखे।
छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले प्रस्तावित निर्देशिका तयार पार्न संयुक्त राष्ट्र र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्नेबारेमा समेत अध्ययन गरिएको बताए।
छलफलको अन्त्यमा महानिर्देशक पोखरेलले यस विषयमा नाडाजस्तो मुख्य सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताउँदै नेपालमा अहिलेसम्म सवारीसाधन आयातसम्बन्धी कुनै स्पष्ट नियम नभएकोले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको बताए।