
काठमाडौं- काठमाडौंको इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठले यस वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेकी छन्।
उनको यो प्रेरणादायी मेहेनत र थप अध्ययनको चाहना सञ्चारमाध्यममा सार्वजनिक भएपछि भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले गोमालाई एमबीबीएस तहसम्मको अध्ययन गराउने वचन दिएका छन्।
बिहीबार भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरुङ दम्पतीले गोमालाई एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका थिए।
गुरुङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा कक्षा ११ र १२ सम्मको अध्ययन आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाएका छन्। त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि पनि सहयोग गर्ने वचन दिएका छन्।
चाँगुनारायण नगरपालिका–८, सुडालको एक इँटाभट्टामा बस्दै आएकी गोमाले बिहान–बेलुकी इँटा सुकाउने काममा सघाउँदै आएकी थिइन्। धान रोपाइँमा मेला गएर फर्किँदा नै उनले आफ्नो एसईईको नतिजा सार्वजनिक भएको र ४ जीपीए प्राप्त गरेको खबर पाएकी थिइन्।
गोमाले आफूलाई डाक्टर बन्ने चाहना रहेको बताएकी थिइन्। उनको यो सपना पूरा गर्नका लागि भाटभटेनी समूहका अध्यक्ष तथा व्यवसायी गुरुङले एमबीबीएस तहसम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने प्रतिबद्धतासहित सहयोग गरेका छन्।