रोगी नेता, वृद्ध नेता, नेपाली राजनीति र एमालेभित्रको अमानवीयता

रोगी नेता, वृद्ध नेता, नेपाली राजनीति र एमालेभित्रको अमानवीयता
+
-

यो आलेखमा  एमालेलाई लक्षित तथा केन्द्रित रोगी नेता, राजनीतिमा उमेरको हद र यी दुई विषयसँग गाँसिएको नेपालको राजनीतिक सामाजिक प्रवृत्तिबारे चर्चा गरिएको छ।

रोगी नेता

पुत्रशोकमा परेकी एक जना महिला भगवान गौतम बुद्धसमक्ष एक जना महिला बिलौना गर्दै आइन्। उनले छोरालाई पुनर्जीवित गरिदिन अनुनय–विनय गरिन्। बुद्धले पुनर्जीवित गरिदिन सर्त राख्छन्– कहिल्यै कोही पनि नमरेको घरबाट तोरीको दाना ल्याउनुपर्छ। महिला तोरी खोज्न जान्छिन्। तोरी पाइयो तर मानिस नमरेको घर कतै पाइएन। त्यसपछि ती महिलाले मानव जीवनको अपरिहार्य सत्य बुझ्छिन्।

आजको नेपालमा रोगरहित नेता खोज्ने मानसिकता त्यही तोरीको दाना खोज्ने प्रयासजस्तै हो । कुनै व्यक्तिलाई रोग लागेको छैन भने भविष्यमा रोग लाग्ने निश्चित छ । रोग एक सार्वभौम यथार्थ हो— शरीरमा आएको क्षणिक या दीर्घकालीन अवस्थालाई लिएर कसैको सामाजिक या राजनीतिक योग्यता खारेज गर्नु अज्ञानता मात्र होइन, चरम अमानवीयता पनि हो । राजनीतिक नेतृत्व भनेको बौद्धिक मानसिक विषय हो, शारीरिक विषय होइन।

कुनै पनि रोग नलागेको मानिसलाई मात्र नेता मान्ने या बनाउने हो भने यो धर्तीमा कोही पनि नेता बन्दैन। किनभने रोगविहीन मानिस हुँदै हुँदैन। यदि, कसैलाई कुनै रोग देखिएको छैन भने भविष्यमा रोग लाग्छ नै! यो प्राकृतिक सत्य हो, तथ्य हो।

वर्तमान जीवनशैली, खानपान र वातावरणका कारण मानिस जन्मँदै रोगको घर भएर जन्मन थालेको छ। कोही मानिस शारीरिक र मानसिक दुवै रुपमा अशक्त र अस्वस्थ हुन सक्छ, यस्तो अवस्थामा उसले जिम्मेवारी बहन गर्न सक्दैन। तर, रोग वा बिमार लागेकै आधारमा नेता या कसैलाई गालीगलौज या आलोचना गर्नु किमार्थ मर्यादित होइन।

नेपाली समाजमा दानवीयता बढ्न थालेको देखिन्छ। बिमार लागेका नेतालाई अमानवीय तरिकाले गालीगलौज र आलोचना गर्ने प्रवृत्तिले निरन्तर टाउको उठाइरहेको छ। मानिसलाई रोग लाग्नु शाश्वत सत्य हो, यस्तो विषयमा पनि व्यक्तिको आलोचना गर्नु दानवीय प्रवृत्ति हो।

राजनीतिमा रोगलाई हतियार बनाउने प्रवृत्ति नितान्त असंवेदनशील र नैतिकहीन हो । यसले नेतृत्वको आलोचनालाई विचार र आचरणको बहसबाट हटाएर, शारीरिक अवस्थाको अनावश्यक बखानतर्फ मोडिदिन्छ । यस्तो दानवीय प्रवृत्तिलाई हरेक सचेत नागरिकले विरोध गर्नुपर्छ ।

के एक व्यक्ति राजनीतिमा सक्रिय रहने क्रममा कहिलेकाहीँ उपचार आवश्यक पर्दा उसले आफ्ना सबै अधिकार गुमाउनुपर्छ ? आधुनिक युगमा चिकित्सा विज्ञानले रोगलाई व्यवस्थापन गर्न सक्ने क्षमता राख्छ। राजनीतिक वृत्तमा स्वास्थ्यलाई बहसको विषय बनाउनु भनेको नेताको नीतिगत योगदान वा वैचारिक स्पष्टताको विषयबाट ध्यान अन्यत्र मोड्ने एक रणनीति मात्र हो।

राजनीति शरीरको नभई सोच, दृष्टिकोण र नेतृत्वको विषय हो। हामीलाई चाहिएको छ— सक्रिय सोच, सकारात्मक दृष्टिकोण र जिम्मेवार नेतृत्व, जुन कुनै पनि उमेर समूहमा सम्भव छ। राजनीति यस्तो बगैँचा हो, जहाँ सबै उमेरका फूल फुल्न पाउनुपर्छ— कुनै उमेर विशेषका फूल मात्र होइन।

वृद्ध नेता

नेपाली समाजमा उमेरको एउटा सीमा पार गरेका मानिसलाई ज्येष्ठ नागरिक भनिन्छ। ज्येष्ठ नागरिक ऐन २०६३ अनुसार ६० वर्ष कटेका मानिस ज्येष्ठ नागरिक हुन्। तर, सबै ज्येष्ठ नागरिक वृद्धवृद्धा हुन् भनेर मान्न सकिन्न। नेपाली समाजले त्यसलाई मात्र वृद्धवृद्धा मान्ने गरेको छ जो उमेरको एउटा सीमा कटेर अशक्त बन्छन्।

६० वर्ष कटेका मानिस सडकमा ठमठम हिँडिरहेका अथवा काम गरिरहेका हुन्छन्। उनीहरू ६० कटेजस्ता देखिँदैनन्। त्यस्ता मानिसलाई कानुनले ज्येष्ठ नागरिक माने पनि समाजले वृद्धवृद्धा मान्दैन। कोही मानिस पाँच दशक उमेरमै चाउरी परेर एकदमै वृद्ध या वृद्धा देखिन सक्छन्। समाजले उनीहरूको उमेर सोध्दैन, सीधै वृद्ध या वृद्धा भनिदिन्छ। जबकि कानुनअनुसार ऊ ज्येष्ठ नागरिक हँदैन।

वृद्धवृद्धा, बूढाबूढी र ज्येष्ठ मानिसलाई सम्मान दिने समाज हो नेपाली समाज। तर, समाजमा वृद्धवृद्धाप्रति अपमानजनक व्यवहार र टिप्पणी गर्ने चलन बढ्दो छ। खासगरी राजनीतिक वृत्तमा वृद्धवृद्धालाई अपमानजनक व्यवहार गर्ने, उनीहरूलाई जिम्मेवारी दिनु हुँदैन भन्ने प्रवृत्तिले टाउको उठाइरहेको छ।

नेपाली समाजमा एउटा उखान छ, आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको। यो उखानले पनि के इंगित गर्छ भने नेपाली समाज बूढाबूढी मानिसको अनुभव, ज्ञान र विवेकको कदर गर्छ। तर, हाम्रो यो सुन्दर सामाजिक प्रवृत्तिको खिलाफमा उभिएर बूढाबूढी मानिसलाई जिम्मेवारी दिनु हुँदैन भन्ने खालको दानवीय प्रचारप्रसार व्यापक बनाइँदै गएको छ।

राजनीतिक वृत्तमा बूढा नेताको काम छैन, उनीहरूलाई बिदा दिनुपर्छ भन्ने ढंगको टिप्पणी व्यापक बनेको छ। बूढाबूढी भएकै कारण कसैलाई अवकाश दिने हो र ? यस्तो दानवीय प्रवृत्तिको सुरुआत नेकपा एमालेभित्रबाट भएको थियो। एमालेले ७० वर्ष नाघेकालाई नेतृत्वको जिम्मेवारी नदिने गरी विधान बनायो। एमाले विधानको त्यो प्रावधानलाई दानवीय प्रावधान भन्न सकिन्छ।

राजनीतिक नेतृत्वमा हुनुपर्ने पहिलो गुण विवेक हो। दोस्रो ज्ञान र तेस्रो अनुभव हो। ज्ञान, विवेक र अनुभव जसमा बढी छ ऊ नै असल नेता हो। ज्येष्ठ नागरिक या बूढाबूढीमा ज्ञान, विवेक र अनुभव स्वाभाविक रुपमा धेरै हुन्छ। त्यसैले नेपाली समाजमा कुरा सुन्नु बूढाको भन्ने उखान चलेको हो।

एउटै व्यक्तिले धेरै वर्षसम्म या धेरै पटक जिम्मेवारी सम्हालेको हुनाले बूढाबूढी हुँदासम्म नेतृत्वमा बसिरह्यो भनेर आलोचना हुनु एउटा कुरा हो। तर, बूढाबूढी भएपछि या ७० वर्ष कटेपछि नेतृत्वमा बस्न पाइँदैन भनेर निषेध गर्नु ठीक होइन।

नेपालको जनसांख्यिक बनोट, जन्मदर र मृत्युदरका आधारमा के प्रक्षेपण गरिएको छ भने भविष्यमा नेपाल पनि वृद्धवृद्धाको देश बन्नेछ। नेपालले आफ्नो भविष्य हेर्ने हो भने मानिसलाई दीर्घ उमेरसम्म क्रियाशील बनाउनुपर्छ। कुनै पेसा व्यवसायबाट मानिसले अवकाश लिन सक्छ तर सक्रिय जीवनबाट अवकाश लिन सक्दैन र लिन हुँदैन पनि।

राज्य र समाजले के अपेक्षा गर्नुपर्छ भने कुनै पनि मानिस बूढाबूढी भएर मृत्यु हुने अघिल्लो दिनसम्म पनि सक्रिय जीवन बाँच्नुपर्छ। सक्रिय मानिस नै स्वस्थ हुन्छ। यसविपरीत तिमी यति वर्ष पुग्यौ, अब कुनै काम जिम्मेवारी पाउँदैनौ, अब तिम्रो मर्ने बेला भयो भन्नु आपत्तिजनक हो। एमालेले ७० वर्षको उमेर हद लगाउनु भनेको अब तिम्रो मर्ने बेला भयो भन्नुजस्तै हो।

मानिस दुई तरिकाले युवा र तीन तरिकाले बूढाबूढी हुन्छ। युवा हुने पहिलो तरिका उमेरले हो। जो उमेरले युवा छ, ऊ युवा नै हो। युवा हुने दोस्रो तरिका हो, विचार, व्यवहार, चिन्तन र क्रियाशीलता। जो मानिस निरन्तर क्रियाशील हुन्छ, नयाँ–नयाँ कुरा सिकिरहन्छ र जीवनप्रति सकारात्मक र आशावादी हुन्छ, ऊ युवा नै हो। बूढाबूढी हुनेचाहिँ तीन तरिका छ। उमेर पुगेपछि बूढाबूढी हुनु शाश्वत हो। क्रियाशीलता बन्द गरेपछि, म अब बूढाबूढी भएँ भनेर निराश बसेपछि मानिस स्वतः बूढाबूढी बन्छ। तेस्रो तरिका हो, उमेर पुगेपछि अशक्त बन्ने रोग लाग्यो भने।

८० वर्ष हाराहारी पुगेको छ तर ऊ निरन्तर क्रियाशील छ भने ऊ कसरी अयोग्य? उसलाई किन जिम्मेवारी नदिने?

नेपाललाई कस्तो नागरिक चाहिएको छ? म बूढाबूढी होइन, युवा सोच, विचार, चिन्तन र व्यवहारको छु, क्रियाशील हुन सक्छु, देश, समाज र परिवारका लागि योगदान गर्न सक्छु भन्ने मानिस चाहिएको छ, त्यस्तो मानिस जतिसुकै उमेरको किन नहोस्।

नेपाली राजनीतिमा रोगव्याधी र उमेर

एमालेले ७० वर्ष कटेपछि जिम्मेवारी नपाउने दानवीय प्रवृत्ति राख्यो भने उता कांग्रेसमा चाहिँ बूढा नेताको काम छैन भन्ने चलन ५० को दशकदेखि नै सुरु भएको हो। अहिले पनि कांग्रेसमा बूढा नेताको काम छैन भन्ने चलन व्यापक छ।

बूढाबूढी उमेरको मानिसले जिम्मेवारी लिएकाले युवाको जिम्मेवारी छेकिएको होइन। जहाँ प्रतिस्पर्धा गरेर जिम्मेवारी लिइन्छ त्यहाँ उमेरको कुरा किन ? जहाँ ज्ञान, अनुभव र विवेक प्रदर्शन गरेर आफ्नो नेतृत्व स्थापित गर्न सकिन्छ त्यहाँ उमेर या रोगव्याधीको कुरा उठाउनु नैतिक होइन। यसको मतलव युवालाई जिम्मेवारी दिन हुँदैन भनिएको होइन। युवालाई जिम्मेवारी दिँदा वृद्धवृद्धाको अवसर खोसिनु हुँदैन, वृद्धवृद्धाले नेतृत्व लिँदा युवाको नेतृत्व विकासमा बाधा पर्नु हुँदैन। सबै उमेरका फूलले राजनीतिको फूलबारीमा फुल्न पाउनुपर्छ।

एमालेभित्रको दानवीयता

७० वर्षे उमेर हद नेपालको संविधानअनुकूल छैन। नेपालीको औसत आयु नै ७० वर्षभन्दा माथि गइसक्यो, एमाले भने ७० वर्ष पुगेकालाई जिम्मेवारी नदिने कुरा गर्छ। कतिपय मानिसले ७० वर्षे उमेर हद अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित ठान्छन्। ओली नेतृत्वमा रहने कि नरहने भन्ने एउटा विषय हो, उमेर हद अर्काे विषय हो। ओली पदमा रहने कि नरहने भन्ने राजनीतिक विषय हो, ७० वर्षे उमेर हद राख्ने कि नराख्ने भन्ने विधि विधान र मानवीयताको विषय हो।

कतिपयले भन्ने गरेका छन् कि चिनियाँ कम्युनिष्ट पार्टीमा ७० वर्षे प्रावधान छ। चिनियाँ कम्युनिष्ट पार्टीले जे प्रावधान राख्यो त्यो अन्तिम सत्य होइन। उनीहरूले त्यस्तो प्रावधान किन राखे उनीहरूकै विषय हो, हामीले चाहिँ राख्नु हुँदैन। यस्तो प्रावधान अमानवीय हो। बरु, चिनियाँ कम्युनिष्ट पार्टीलाई उमेर हदजस्तो अलोकतान्त्रिक प्रावाधन हटाउन सुझाव दिनुपर्छ।

एमालेको विधान अधिवेशनले यो विषयलाई गम्भीरतापूर्वक लिएर सच्याउने काम गर्नुपर्छ।

राजनीति शरीरको नभई सोच, दृष्टिकोण र नेतृत्वको विषय हो। हामीलाई चाहिएको छ— सक्रिय सोच, सकारात्मक दृष्टिकोण र जिम्मेवार नेतृत्व, जुन कुनै पनि उमेर समूहमा सम्भव छ। राजनीति यस्तो बगैँचा हो, जहाँ सबै उमेरका फूल फुल्न पाउनुपर्छ— कुनै उमेर विशेषका फूल मात्र होइन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?